टिप्पणीशुक्रवार, भाद्र १५, २०७५

रोष्कोइया बाइलोजी

हिमालखबर

कमल मादेन

सुनाखरी फूल जस्तै देखिने रोष्कोइया वनस्पतिका कतिपय प्रजाति नेपालमा मात्र पाइने तथ्य विभिन्न अनुसन्धानले देखाएका छन् ।

रोष्कोइया नेपालेन्सिस् र रोष्कोइया अल्पिना । तस्वीरः कमल मादेन

सुनाखरी फूल– रूख, ढुङ्गा तथा जमीनमा पलाउँछ । तीमध्ये जमीनमा उम्रने सुनाखरीलाई टेरेष्ट्रिय अर्किड्स भन्ने गरिन्छ । यसको जरामा अक्सर गानो हुन्छ । फूल नफुलेको अवस्थामा भुईंमा उम्रेको कुनै वनस्पति सुनाखरी हो कि होइन भन्ने कुरा सामान्यतः जमीनमुनि हुने गानो र पातको प्रकृतिका आधारमा पहिचान गर्न सकिन्छ ।

सुनाखरीकै जस्तो पात, काण्ड तथा फूल देखिने अर्को वनस्पति पनि हुन्छ । यसबाट त्यो वनस्पति सुनाखरी नै हो कि भन्ने भान हुन्छ । त्यो जाति हो, अदुवा परिवार अन्तर्गतको ‘रोष्कोइया’ । यो वनस्पति उच्च पहाडी तथा हिमाली क्षेत्रमा मात्र पाइन्छ ।

यसको नामकरण बेलायतका जेम्स इडवार्ड स्मिथले सन् १८०६ मा उनका इतिहासकार मित्र विलियम रोष्कोइ (सन् १७५३–१८३१) को नाममा गरेका हुन् । ‘रोष्कोइया’ जाति अन्तर्गत जम्मा २२ प्रजाति सूचीकृत छन् ।

झाक्कलझुक्कल
अन्नपूर्ण प्रथमको आधार शिविरतर्फ जान म्याग्दीको नाच्र्याङ गाउँपालिकाबाट नयाँ बाटो खुलेको छ । गएको जेठमा यो पंक्तिकार उक्त बाटोमा जाँदा दोस्रो दिनको साँझ एउटा ओडारमा बास बसियो । बिहान ओडारसँगै जोडिएको ढुंगामा करीब १२ फिट जति उँचाइमा हल्का कलेजी रङको सुनाखरी देखियो । सहयोगी मानबहादुर पुन दाइले मुश्किलले चढेर त्यो बिरुवा ल्याउनुभयो ।

पहिले पूरै वनस्पतिको फोटो खिचियो । त्यसपछि १०५ एम.एम.को म्याक्रो लेन्सले प्रजनन् अंगतर्फ फोकस गर्दा त्यो त सुनाखरी होइन, ‘रोष्कोइया’ जातिको कुनै एक प्रजाति भन्ने बुझियो । काठमाडौं पुगेपछि थाहा भयो, त्यो ‘रोष्कोइया अल्पिना’ रहेछ ।

अन्नपूर्ण प्रथम जाने बाटोमै अर्को दिन भिरालो चट्टानी पाखोमा सेतो सुनाखरी देखियो । फोटो खिच्दा त्यो पनि सुनाखरी नभई ‘रोष्कोइया’ भएको थाहा भयो । केही हप्तापछि मित्र डा. बाबुराम पौडेलबाट त्यो वनस्पति नेपालमा मात्र पाइने एक रैथाने ‘रोष्कोइया नेपालेन्सिस्’ भन्ने जानियो ।

परागसेचन गराउने कीरा । तस्वीरः बाबुराम पौडेल

त्यो थाहा पाउन सकिएको भए प्रशस्तै तस्वीर लिइन्थ्यो । धन्न नमूना भने ल्याइयो । जे होस्, त्यो यात्राबाट नेपालको वनस्पति अनुसन्धानमा म्याग्दी जिल्लामा ‘रोष्कोइया नेपालेन्सिस्’ रहेको नयाँ तथ्य थपियो ।

यसको नमूना सर्वप्रथम सन् १९५२ मा जुम्लाबाट ओ. पोलुनिन, डब्लु.आर. साइक्स र एल.एच.जे. विलियम्सले संकलन गरेका थिए । त्यसपछि सन् १९५४ मा मुस्ताङको लेतेबाट जे.डी.ए. स्टेन्टन, डब्लु.आर. साइक्स र एल.एच.जे. विलियम्सले संकलन गरेको जानकारी केशवराज राजभण्डारी र सञ्जीवकुमार राई लिखित ‘अ ह्यान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भोलुम वान (सन् २०१७) शीर्षक पुस्तकमा छ । हालैका वर्षमा नेपाली अनुसन्धानकर्ताले उक्त वनस्पति हुम्लाबाट पनि संकलन गरेको बताइन्छ ।

सुनाखरीमा अन्य वनस्पतिको जस्तो भाले प्रजनन् अंग पुंकेशर र पोथी प्रजनन् अंग स्त्रीकेशर बेग्लै नभई एउटै संरचनामा हुन्छ । ‘रोष्कोइया’ जातिको फूल झलक्क हेर्दा सुनाखरी जस्तो देखिए पनि नियालेर हेरे मात्रै फरक छुट्याउन सकिन्छ ।

यसमा पुंकेशरको छुट्टै भाग हुन्छ । पुष्पपत्रको लामो ट्यूब हुन्छ । त्यस्तो सुनाखरीमा विरलै हुन्छ । फूलमा पुष्परस अर्थात् मह जस्तो गुलियो पदार्थ हुन्छ । त्यही गुलियो पदार्थका कारण लामो सुँड (प्रोबोसिड मथ) भएको कीराबाट परागसेचन हुन्छ ।

वनस्पति हिमाली, परागसेचनमा अफ्रिकी कीट
नेपालमा ‘रोष्कोइया’ जातिका जम्मा सात प्रजाति भेटिएका छन् । तीमध्ये ‘रोष्कोइया गणेशेन्सिस्’, ‘रोष्कोइया नेपालेन्सिस्’ र ‘रोष्कोइया टुम्जेन्सिस्’ नेपालका रैथाने प्रजाति हुन् ।

पोखरास्थित पृथ्वीनारायण क्याम्पसका प्रा.डा. बाबुराम पौडेलले चाइनिज एकेडेमी अफ साइन्सेस्बाट सन् २०१५ मा ‘रोष्कोइया’ जातिको एक अनुसन्धानमा विद्यावारिधि गरेका छन् । उनले नेपालको हिमाली क्षेत्रमा पाइने ‘रोष्कोइया’ जातिको फूलमा कसरी परागसेचन हुन्छ भन्ने शोध गरेका थिए ।

पौडेलले ‘रोष्कोइया अल्पिना’, ‘रोष्कोइया औरीकुलाटा’, ‘रोष्कोइया क्यापिटाटा’, ‘रोष्कोइया टुम्जेन्सिस्’ र ‘रोष्कोइया पुर्परिया’ को प्रजनन् चरित्र र परागसेचन बाइलोजीबारे अध्ययन गरेका छन् । शोधपत्र पढ्दा नेपालमा पाइने ‘रोष्कोइया’ प्रजातिहरू कुन कुन कीराबाट परागसेचन हुँदोरहेछ भन्ने थाहा पाइन्छ ।

पौडेलको अनुसन्धानमा प्रजाति विशेषको कीरा कुन समयमा फूलमा आउँछ भन्ने कुरा बडो चाखलाग्दो छ । कीराहरू बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म र अँध्यारोमा रातको ८ बजेदेखि १२ बजेसम्म अवलोकन गरिएको वृत्तान्त शोधपत्रमा उल्लेख छ । यसका साथै पौडेलले अनेकौं आयाममा अनुसन्धान गरेको विवरण शोधपत्रमा छ ।

शोधपत्र पढ्दा जन्तु र वनस्पतिको विचित्रको सम्बन्ध देखिन्छ । ‘रोष्कोइया’ एशियामा मात्र पाइने र हिमालयमै उत्पत्ति भएको वनस्पति मानिन्छ । तर, यो समूहको वनस्पतिको परागसेचन भने अफ्रिकी महादेशमा उत्पत्ति भएको लामो सुँड भएका कीराहरूबाट बढी हुन्छ । ‘रोष्कोइया’ को फूलमा पुष्पपत्रको ट्यूब लामो हुने भएकाले छोटो सुँड भएका कीराबाट परागसेचन विरलै मात्रामा होला ।

‘रोष्कोइया’ र लामो सुँड भएको कीराको सम्बन्ध कुन अवस्थाबाट शुरू भयो होला ? अफ्रिका महादेशबाट उक्त कीरा एशियाको हिमाली भूभागमा कहिले आइपुगे होलान् ? यस्ता अनेकौं प्रश्न अझै अनुत्तरित छन् । पौडेलले ‘रोष्कोइया’ मा गरेको जस्तै नेपालका अन्य महत्वपूर्ण वनस्पति विशेषतः रैथाने प्रजातिमा अध्ययनको खाँचो छ ।

पौडेलले एक रैथाने प्रजाति ‘रोष्कोइया टुम्जेन्सिस्’ मा परागसेचन प्रक्रिया कस्तो हुन्छ भन्ने अध्ययन दामन, सिमभञ्ज्याङ, टिष्टुङमा गरे । नेपालको रैथाने प्रजातिको वनस्पतिमा यसअघि शायदै यसरी अध्ययन भएको छ । पौडेलजीलाई साधुवाद !

प्रतिकृया दिनुहोस