रिपोर्टबिहिवार, भाद्र १४, २०७५

सिंहदरबार वैद्यखानाः आफैं रुग्ण

कल्पना भट्टराई

आम मानिसको विश्वास र बजारमा माग भए पनि आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी उद्योगको उत्पादन प्रक्रिया आधुनिक छैन, उत्पादन पनि न्यून छ ।

सिंहदरबार वैद्यखानामा विरामी जाँच्दै कविराज । तस्वीरः बिक्रम राई

२० वर्षसम्म एलोपेथिक उपचार गर्दा पनि ग्यास्ट्रिकको समस्या निको नभएपछि भक्तपुरका ओमकार श्रेष्ठ (५५) ले काठमाडौंको अनामनगरस्थित सिंहदरबार वैद्यखानाको औषधि प्रयोग गर्न थालेका छन् ।

फलोअपका लागि एक साताअघि वैद्यखानाको औषधि बिक्री केन्द्र आएका श्रेष्ठले त्यसको दुई साताअघि केन्द्रका कविराज आदित्य ठाकुरले आफूलाई थप उपचार गर्न शंखमूलस्थित ‘जानकी आयुर्वेद क्लिनिक’ मा बोलाएको गुनासो गरे । श्रेष्ठ भन्छन्, “वैद्यखानाको औषधि राम्रो हुन्छ भन्ने सुनेर आएको थिएँ, अझ राम्रो औषधि छ भनेर आफ्नै क्लिनिकमा बोलाए ।” 

अनामनगरस्थित ‘सत्यसाई आयुर्वेद’ का सञ्चालक राजन गौतम पनि आफ्नो पसलमा आउने प्रायः ग्राहकले वैद्यखानाकै उत्पादन खोज्ने बताउँछन् । “पाइल्स, दम, ग्यास्ट्रिक, अल्सर, युरिकएसिड, मधुमेह, सेतोपानी बग्ने, चाया–पोतो, यौनरोग लगायतका बिरामीले वैद्यखानाकै औषधि खोज्छन्”, उनी भन्छन् ।

वैद्यखानाले, बाजिकर, अविपत्तिकर चूर्ण, मिनियाँ लगायत धेरै माग हुने औषधि बजारमा नपठाएको उनको गुनासो छ । त्यस्तै, अनामनगरमै रहेको ध्रुवतारा आयुर्वेदका सञ्चालक विश्वराज घिमिरे पनि आफूकहाँ आउने अधिकांश बिरामीले वैद्यखानाको औषधिप्रति विश्वास गर्ने बताउँछन् ।

बजारमा माग बढिरहे पनि वैद्यखानाको औषधि उत्पादनमा भने कमी आएको छ । वैद्यखाना बिक्री केन्द्रकी कर्मचारी भगवती अधिकारी दैनिक औसत ५० बिरामी केन्द्रमा उपचारका लागि आउने बताउँछिन् । उनी भन्छिन्, “युरिकएसिड, दम, सुगर, प्रेसर, ग्यास्ट्रिक, कब्जियत, पायल्स, यौनरोग लगायतका बिरामी उपचारका लागि आउने गर्छन् ।” यीमध्ये एलोपेथिक उपचारबाट निको हुन नसकेका बिरामी धेरै हुने उनको भनाइ छ ।

घट्दो उत्पादन
वैद्यखानाबाट आर्थिक वर्ष २०६६/६७ देखि २०६९/७० सम्म १५० थरी आयुर्वेदिक औषधि उत्पादन हुन्थे । वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलका अनुसार, अहिले ११० थरीका औषधि मात्र उत्पादन हुन्छन् । आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ को अवधिमा त ४० प्रकारका औषधि मात्रै उत्पादन भए ।

२०७३/७४ मा रु.५ करोड बिक्री लक्ष्य रहेकोमा रु.३ करोड ४३ लाख ३२ हजार बराबरको औषधि बिक्री गरिएको थियो । जसमध्ये आयुर्वेद विभागले मात्रै रु.१ करोड बराबरको ३४ प्रकारका औषधि खरीद गरेको थियो ।

समितिका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मी च्यवनप्राश, शिलाजित, अविपत्तिकर चूर्ण, लिभकेयर सिरप, एब्डोजाइम सिरप लगायत बढी माग हुने औषधि वैद्यखानाबाट नियमित उत्पादन हुँदै आएको बताउँछन् । वैद्यखानाले उत्पादन गर्ने कुल औषधिमध्ये १२ प्रकारका औषधिले मात्रै बजारमा १७ प्रतिशत हिस्सा ओगटेको उनको भनाइ छ ।

आधुनिक उपकरणको अभाव
लामो इतिहास बोकेको वैद्यखानामा औषधि उत्पादन गर्ने प्रायः उपकरण पनि पुराना छन् । हाल वैद्यखानाले पर्याप्त औषधि उत्पादन गरिरहेको छैन, उत्पादित औषधि पनि अन्तर्राष्ट्रिय मापदण्ड ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी)’ अनुसार छैनन् । जीएमपी प्रमाणपत्र प्राप्त गर्न औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपकरण र प्रक्रिया अनुसार उत्पादन गर्नुपर्ने हुन्छ ।

समितिका प्रबन्ध निर्देशक खरेल आधुनिक उपकरण नहुँदा र झञ्झटिलो सरकारी प्रक्रियाका कारण वैद्यखानाले जीएमपी अनुसार पर्याप्त औषधि उत्पादन गर्न नसकेको दाबी गर्छन् । समितिले आफ्नो औषधिको विज्ञापन गर्न नपाउने र टेन्डरबाट लिइने कच्चा पदार्थ गुणस्तरीय नहुँदा पनि बजार विस्तारमा समस्या भएको खरेलको दाबी छ ।

उनका अनुसार चालू आवको अन्त्यसम्म जीएमपी अनुसार चार प्रकारका औषधि उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको छ । यो वर्ष जीएमपी मापदण्डको उपकरणका लागि रु.१ करोड ७० लाख विनियोजन गरिएको र सबै उत्पादनलाई जीएमपी मापदण्डमा लैजान रु.२५ करोड खर्च र पाँच वर्ष समय लाग्ने उनी बताउँछन् ।

अन्तर्राष्ट्रियस्तरको ल्याब र प्रमाणीकरणको व्यवस्था नहुँदा वैद्यखानाको उत्पादन बजारमा प्रतिस्पर्धी बन्न नसकेको उत्पादन अधिकृत डा. हरिदेव यादव बताउँछन् । ठूलो परिमाणमा औषधि उत्पादन गर्न सरकारले पर्याप्त बजेट दिनुपर्ने उनको भनाइ छ ।

राजनीतिक नियुक्तिको प्रभाव
सिंहदरबार वैद्यखाना विकास समितिमा जुन पार्टीका नेताले स्वास्थ्य मन्त्रालय पाए, उही पार्टी निकट व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउने प्रचलन छ । २०६६ मा संशोधित सिंहदरबार वैद्यखाना विकास समिति गठन आदेशमा समितिको अध्यक्ष र प्रबन्ध निर्देशक नेपाल सरकारले मनोनीत गरेका व्यक्ति हुने उल्लेख छ ।

प्रबन्ध निर्देशक भएर आउनेले आफू र पार्टी अनुकूलका कर्मचारी नियुक्त गर्ने गरेकाले वैद्यखानाको प्रगतिमा बाधा पुगेको छ । पदाधिकारीदेखि कर्मचारीसम्मको नियुक्तिमा राजनीति हावी भएकाले एक कर्मचारीले अर्को कर्मचारीलाई नटेर्ने र कच्चा पदार्थ खरीद गर्ने टेन्डर प्रक्रियालाई आफ्नो अनुकूल प्रभावित तुल्याउने अवस्था रहेको कर्मचारीहरू नै बताउँछन् ।

वैद्यखानाबाट बिरामीलाई निःशुल्क परामर्श दिइन्छ र औषधि बिक्री गरिन्छ । पछिल्लो १४ वर्षदेखि कविराज आदित्य ठाकुरले वैद्यखानामा आउने बिरामीलाई काउन्सिलिङ गरी औषधि सिफारिश गरिरहेका छन् ।

बिरामी जाँच्नका लागि डा. हरिदेव यादव, लालबाबु शाह, विनोद शाहलाई पनि खटाइएको छ, तर उनीहरू बिरामीको पहुँचमा छैनन् । प्रबन्ध निर्देशक खरेल रोगको प्रकृति गम्भीर भए मात्रै डाक्टरले बिरामी जाँच्ने बताउँछन् । ती डाक्टरहरू समितिका उत्पादनको गुणस्तर, प्रयोगशाला र प्रशासन लगायत शाखामा व्यस्त रहने भएकाले बिरामी जाँच्न नपाएको खरेलको तर्क छ । बिरामी जाँच्ने डाक्टरको लिस्टमा प्रबन्ध निर्देशक खरेलको नाम पनि छ ।

के हो वैद्यखाना ?
राजा प्रताप मल्ल (वि.सं. १६९८–१७३१) को पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रूपमा स्थापना भएको थियो– आजको सिंहदरबार वैद्यखाना । राणा प्रधानमन्त्री जंगबहादुरको पालामा थापाथली सारिएको यो वैद्यखानालाई पछि जुद्धशमशेरले सिंहदरबारमा सारेपछि ‘सिंहदरबार वैद्यखाना’ भनियो ।

जुद्धशमशेरको पालामा राजदरबार, प्रधानमन्त्री तथा उनीहरूका नातागोता वा आसेपासेले मात्रै वैद्यखानाको औषधि प्रयोग गर्थे । मुलुकमा प्रजातन्त्र आइसकेपछि २००९ सालदेखि भने वैद्यखानाको औषधि सर्वसाधारणले पनि प्रयोग गर्न पाए । २०५२ सालदेखि सरकारले यसलाई विकास समितिमा परिणत गरेको छ ।

वैद्यखानाको औषधि कारखाना सिंहदरबारस्थित विकास समितिको कार्यालय परिसरभित्रै छ । औषधि उत्पादनका लागि कच्चा पदार्थ टेन्डर प्रक्रियाबाट खरीद गरिन्छ ।

अहिले १९ ठाउँमा (स्टकिस्ट) थोक बिक्रेता र एक खुद्रा बिक्री काउन्टरबाट वैद्यखानाको उत्पादन बिक्री–वितरण हुँदै आएको छ । आयुर्वेद विभागले वैद्यखानाको औषधि किनेर नेपाल भरका ३११ स्थानीय तहमा सञ्चालित ३९१ वटा जिल्ला आयुर्वेद औषधालय र स्वास्थ्य केन्द्रहरूमा पठाउँछ ।

प्रतिकृया दिनुहोस