कला/साहित्यबिहिवार, भाद्र १४, २०७५

'डा. गुलाटी'ले प्रियंका चोपडासँग काम गर्ने

हिमालखबर

कहिले गुत्थी त कहिले डा. मशहूर गुलाटी बनेर टेलिभिजनका दर्शकको मनमा विशेष छाप पारेका भारतीय कमेडियन सुनील ग्रोवरको व्यस्तता पछिल्लो समय ठूलो पर्दामा बढेको छ ।

उनी सलमान खानको फिल्म 'भारत' मा महत्त्वपूर्ण भूमिकामा देखिनेछन् । त्यसअघि उनी अभिनीत 'पटाखा' रिलिज हुनेछ, जसको निर्देशन विशाल भारद्वाजले गरेका छन् ।

बलिउडमा सुनीलको माग बढ्दो क्रममा छ । एक अन्तर्वार्तामा उनले बताए अनुसार अभिनेत्री प्रियंका चोपडासँग उनी काम गर्नेछन् । उनले ठट्यौली पारामा भनेका छन्, "प्रियंका चोपडा मसँग काम गर्न इच्छुक छिन् ।"

खासमा फिल्म 'पटाखा' को संगीत सार्वजनिक गर्ने क्रममा निर्देशक विशाल भारद्वाजलाई फेरि प्रियंकासँग काम गर्ने योजना छ कि भनेर सोधिंदा सुनीलले आफ्नो कुरा राखेका थिए ।

उनले भने,  "प्रियंका मसँग काम गर्न चाहन्छिन् । हामी एकसाथ काम गर्दै छौं । आशा छ, हामी अर्को वर्षसम्ममा फिल्मको सुटिङ शुरु गर्नेछौं ।"

फिल्म 'पटाखा' बारे विशालले भने, "हामीले ३० दिनमा फिल्मको सुटिङ सक्यौं । शुरुमा फिल्मको नाम 'चुरिया' राखिएको थियो, तर सबैले यसलाई 'चुडिया' भनिरहेका छन् । यसैले हामीले फिल्मको नाम 'पटाखा' राख्यौं ।

फिल्ममा भारत-पाकिस्तानलाई दुई बहिनीको रुपमा देखाइएको छ, जो कुनै कारण विना नै आपसमा झगडा गरिरहन्छन् ।"

'पटाखा' मा सुनीलका साथै सान्या मल्होत्रा, राधिका मदान,  सानन्द वर्मा र विजय राज मुख्य भूमिकामा देखिनेछन् । फिल्म २८ सेप्टेम्बरमा रिलिज हुनेछ ।

४१ वर्षीय सुनीलले चर्चित कमेडियन कपिल शर्माको टिममा रहेर कलर्स टिभीमा 'कमेडी नाइट्स विथ कपिल' र सोनीमा 'द कपिल शर्मा शो'मा काम गरेका थिए ।

जसले उनलाई 'गुत्थी' र 'डा. गुलाटी'को चरित्रले चर्चित बनायो ।  तर, आन्तरिक विवादका कारण बीचैमा टिम छाडेपछि उनी आफ्नो अभिनय यात्रा छुट्टै अघि बढाइरहेका छन् । - एजेन्सी

प्रतिकृया दिनुहोस