एशिया कप छनोट: नेपाल र युएइबीचको खेल जारी
एशिया कप छनोट अन्तर्गत् मलेसियाको क्वालालाम्पुरमा अहिले नेपाल र युनाइटेड अरब इमिरेट्स (युएइ) बीचको खेल जारी छ। यो खेल नेपालको आधिकारिक तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि हो ।
नेपालले टस जिटेर फिल्डिङ रोजेपछि व्याटिङ गरिरहेको युएइले ४१ ओभरको खेल सकिँदा ६ विकेट गुमाउँदै १९४ रन जोडेको छ। उत्कृष्ट शुरुवात गरेको युएइले १३ औं ओभरमा ७० रन जोड्दा पहिलो विकेट गुमाएको थियो ।
४५ रन जोडेका अस्फाक अहमदलाई एलबीडब्लु धरापमा पार्दै बसन्त रेग्मीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । त्यसपछि सन्दीप लामिछानेले नेपाललाई खेलमा फर्काउने प्रयास गरे ।
सन्दीपले ८ ओभरमा एक मेडनसहित २२ रन खर्चेर २ तथा रेग्मीले ७ ओभरमा ३० रन दिएर २ विकेट लिएका छन् । केही महंगो सावित भएका सोमपाल कामीले ८ ओभरमा ४८ रन खर्चेर १ विकेट लिएका छन् ।
युएइका तर्फबाट सर्वाधिक ६५ रन बनाएका चिराग सुरीलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरे । क्रिजमा अहिले अब्दुल शकुर र अदनान मुफ्ती खेलिरहेका छन् ।