कला/साहित्यबुधवार, भाद्र १३, २०७५

आमिर खानको 'ठग्स अफ हिन्दुस्तान' को भव्य रिलिजका लागि यशराज फिल्म्सको तयारी

हिमालखबर

बलिउड अभिनेता आमिर खान अभिनीत फिल्म 'ठग्स अफ हिन्दुस्तान' लाई निर्माता यशराज फिल्म्सले भव्य रुपमा रिलिज गर्ने तयारी थालेको छ ।

आमिरका साथै अमिताभ बच्चन, फातिमा सना शेख, केटरिना कैफ, रोनित रोय जस्ता कलाकार रहेको यो फिल्म यशराज ब्यानरको महँगो फिल्ममध्येको एक हो । विजय कृष्ण आचार्य निर्देशित फिल्ममा विदेशी प्राविधिक प्रयोग गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार यशराज ब्यानरले फिल्म निर्माणमा रकम खर्चिए अनुसार रिलिज पनि भव्य रुपमा गर्न चाहेको छ । बलिउडका व्यापार विज्ञ गिरीश जौहरको ट्विट अनुसार ‘ठग्स अफ हिन्दुस्तान'लाई विश्वव्यापी रुपमा भव्य रुपमा रिलिज गर्ने सबै तयारी लगभग पूरा भएको छ ।

आउँदो ७ नोभेम्बरमा प्रदर्शनमा ल्याउने प्रारम्भिक मिति तय गरिएको फिल्म हिन्दीसहित तमिल र तेलुगु भाषामा रिलिज गर्ने तयारी छ । यशराज फिल्म्सले फिल्म थ्रीडी र आइम्याक्स प्रविधिमा पनि रिलिज गर्ने जनाइएको छ ।

वाईआरएफको डिस्ट्रिब्यूसन नेटवर्कले 'ठग्स अफ हिन्दोस्तान' लाई विश्वका अहिलेसम्मकै धेरै स्क्रिनमा लगाउने भएको छ । 'बाहुबली २' विश्वका ९ हजार स्क्रिनमा रिलिज भएको थियो । यस्तै,  'दंगल' शुरुमा ५३०० स्क्रिन र पछि चीनमा ९ हजार स्क्रिनमा रिलिज भएको थियो । अब 'ठग्स अफ हिन्दुस्तान' पहिले रिलिज भएका फिल्म भन्दा दोब्बर स्क्रिनमा रिलिज गर्ने तयारी छ । - एजेन्सी

प्रतिकृया दिनुहोस