थप समाचारबुधवार, भाद्र १३, २०७५

गाडीको ट्यांकीमा लुकाएर ब्राउनसुगर तस्करी

कमल रिमाल

सुनसरीको कोशी गाउँपालिका–४ मा १२ भदौ बेलुका प्रहरीले कारको पेट्रोल ट्यांकीमा लुकाइएको ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ ।

बा ११ च ४३४६ नम्बरको कारको पेट्रोल ट्याङकीभित्र लुकाई राखेको अवस्थामा ११ दशमलव ३ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीले कारमा सवार धरान उपमहानगरपालिका १५ का सुजन राई, श्याम रसाईली, खगेन्द्र श्रेष्ठ र धरान ९ का प्रविण ताम्राकारलाई पक्राउ गरेको छ ।

यस्तै अर्को घटनामा प्रहरीले इटहरी उपमहानगरपालिका–८ गैसारबाट कविर आलमलाई २.१ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । आलमका साथबाट १६ थान मनोद्दिपक औषधि समेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी विराटनगर महानगरपालिका १७ स्थित मटेरुबाट १२ भदौ सांझ ६८ एम्पुल लागूऔषध टिडिजेसिक सहित को २७ प ८५२४ नम्बरको मोटरसाइकलमा सवार विराटनगर ५ का भोला कामत पक्राउ परेका छन् । सोही ठाउंमा पक्राउ परेका धरान १८ का किसन राईका साथबाट २० एम्पुल लुपिजेसिक, २२ एम्पुल एभिल र २६ एम्पुल डाईजेल्याब बरामद भएको प्रहरीले बताएको छ ।

यस्तै झापाको कचनकवल गाउंपालिका ७ बाट बुधबार २६ पिस लागूऔषध नाईट्रोसन ट्याब्लेट सहित स्थानीय अभिशेक राई पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई हिरासतमा राखेर कारवाही थालिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस