रिपोर्टमंगलवार, भाद्र १२, २०७५

अर्को वर्ष आफ्नै स्याटेलाइट !

विनय बञ्जारा

स्याटेलाइट प्रक्षेपणपछि मौसम र प्रकोपको सूचना लिनेदेखि पूर्वाधार योजना र भौगोलिक अध्ययनका लागि समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

अमेरिकाको फ्लोरिडास्थित जोन एफ केनेडी स्पेस सेन्टरको ‘लञ्चिङ प्याड’ ।

बीचमा कुनै व्यवधान नआए नेपालले अर्को वर्ष आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउनेछ । नेपालले सानो आकारको (नानो) स्याटेलाइट प्रक्षेपण गर्ने तयारी गरेको छ । स्याटेलाइट प्रक्षेपणका लागि अमेरिकाको फ्लोरिडास्थित अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाको जोन एफ केनेडी स्पेस सेन्टरको ‘लञ्चिङ प्याड’ बुक समेत भइसकेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालका अनुसार, १९ अगस्ट २०१९ (२ भदौ २०७६) का लागि लञ्चिङ प्याड बुक गरिएको हो । यदि मौसम वा अन्य कारणले त्यहाँबाट प्रक्षेपण असम्भव भए जापानको दक्षिणी टापु क्युशुको तानेगाशिमास्थित जापानी अन्तरिक्ष अध्ययन संस्था ज्याक्साको योशिनोबु लञ्च कम्प्लेक्स पनि विकल्पका रूपमा बुक गरिएको छ । 

डा. ढकाल मंगोलियामा भदौ ३ र ४ गते सम्पन्न ‘बर्ड नेटवर्क’ भनिने आफ्नै स्याटेलाइट नभएका केही मुलुकहरूको साझा सञ्जालको बैठकमा सहभागी भएर आएयता उत्साहित छन् । १५ मुलुक सहभागी रहेको उक्त सञ्जालबाट नेपालसँगै जापान र श्रीलंकाले संयुक्त रूपमा ‘नानो स्याटेलाइट’ प्रक्षेपण गर्न लागेका हुन् ।

कम तौलका स्याटेलाइट निर्माणमा प्रगति गरेको जापानले ‘लिडिङ कन्ट्री’ का रूपमा नेपाल र श्रीलंकाका वैज्ञानिकलाई स्याटेलाइट बनाउन सिकाउने र परीक्षण पनि गर्ने गरी काम गरिरहेको छ । यसका लागि अहिले तीन वटै देशका वैज्ञानिकहरू जापानको क्युशु इन्ष्टिच्यूट अफ टेक्नोलोजीमा स्याटेलाइट निर्माणमा व्यस्त छन् ।

जापानले संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेक–ग्लोबलको ‘बेसिक स्पेस टेक्नोलोजी इनिसियटिभ’ सँग मिलेर सञ्चालन गरेको ‘यूएन/जापान नानो स्याटेलाइट सिम्पोसियम’ परियोजनाले साना मुलुकलाई न्यून लागतमा अन्तरिक्ष अध्ययन र स्याटेलाइट प्रविधि सिकाउँदै आएको छ । सोही परियोजना अन्तर्गत नेपालले पनि सहयोग पाएको हो ।

तीन देशका छुट्टाछुट्टै स्याटेलाइट एकसाथ अन्तरिक्षमा पठाउने योजना रहेको डा. ढकाल बताउँछन् । “पृथ्वीबाट एउटै ‘पेलोड’ मा पठाइन्छ, आकाशमा पुगेपछि २० सेकेण्डको अन्तरालमा तीन वटा बेग्लाबेग्लै स्याटेलाइट क्युब छाडिनेछ”, उनले भने ।

श्रीलंकाले आफ्नो पहिलो स्याटेलाइटको नाम ‘रावण १’ राखेको छ । नेपालले भने नाम राख्न छलफल भइरहेको उनले बताए । प्रक्षेपण गरिने तीन स्याटेलाइटको कुल तौल १० किलो हुने र त्यसमध्ये नेपालको ‘क्युब’ को तौल भने १.३३ किलो मात्र हुनेछ ।

क्षमता बढ्दै गएपछि धेरै सूचना दिनसक्ने ठूला स्याटेलाइट बनाउने डा. ढकाल बताउँछन् । “स्याटेलाइट अन्तरिक्षमा पठाएपछि हाम्रो पनि आफ्नै स्याटेलाइट छ भन्ने हुन्छ” ढकाल भन्छन्, “यसले हाम्रा इञ्जिनियरहरूको क्षमता विकास हुन्छ र भोलिका दिनमा कमर्शियल स्याटेलाइट बनाउन सकिन्छ ।”

उनका अनुसार अहिले प्रक्षेपण गर्न लागिएको सानो आकारको स्याटेलाइटले टेलिभिजन प्रसारण जस्तो ‘कमर्शियल’ काम गर्न सक्दैन, मौसम सम्बन्धी सूचनाहरू प्राप्त गर्न यो बढी उपयोगी हुन्छ ।

ठूला स्याटेलाइटको तुलनामा पृथ्वीदेखि नजिक हुने भएकाले यसले आगलागी, बाढीपहिरो तथा हिमनदी फुट्ने जस्ता ठूला प्रकोपका घटनाबारे जानकारी दिन सक्छ । “मौसमी सूचना र प्रकोपका साथै शहरी योजना निर्माण गर्न होस् या भूगोल र यस सम्बन्धी सूचना पाउन पनि यसले मद्दत गर्छ”, ढकाल भन्छन् ।

अहिले बनाउन लागेको स्याटेलाइटका लागि नास्टले रु.१ करोड ८० लाख जापान पठाइसकेको छ । जापान र श्रीलंकाले पनि त्यति नै रकम लगानी गर्दैछन् ।

डा. ढकालका अनुसार, अर्को वर्षदेखि भने नेपालमै स्याटेलाइट निर्माण गर्ने योजना छ । “यसका लागि ‘ग्राउण्ड स्टेशन’ बनाउन नास्टले रु.२० लाख बजेट छुट्याएर काम थालिसकेको छ” उनी भन्छन्, “विश्वविद्यालयहरूसँग मिलेर विद्यार्थीलाई पनि अनुसन्धान केन्द्रमा पहुँच दिने र उनीहरू मार्फत नै हरेक वर्ष नेपाललाई चाहिने स्याटेलाइट बनाएर प्रक्षेपण गर्ने योजनामा छौं ।”

त्यसो त, प्रक्षेपण गरिएका सबै स्याटेलाइटले काम गर्दैनन् । वैज्ञानिकहरूका अनुसार १०० वटा स्याटेलाइट प्रक्षेपण गर्दा आधाजति त छिट्टै नष्ट वा काम नलाग्ने हुन्छन् ।

त्यसै पनि एउटा स्याटेलाइटको आयु सामान्यतया ५ देखि ७ वर्ष मात्र हुन्छ । “सानो आकारका नानो स्याटेलाइटहरू हामीले बनायौं भने कम लागतमै धेरै स्याटेलाइट प्रक्षेपण गर्न सकिन्छ । त्यसबाट प्राप्त हुने तस्वीर बेचेर हामीले आम्दानी गर्न सक्छौं”, ढकाल भन्छन् । यसबाट नेपाललाई अन्तरिक्ष अध्ययनको सुनौलो मौका पनि दिने उनको ठम्याइ छ ।

पछिल्ला ६ दशकमा पृथ्वीबाट ८००० जति स्याटेलाइट आकाशमा पठाइएको छ । ‘युनियन अफ कन्सन्र्ड साइन्टिस्ट’ को तथ्यांक अनुसार हाल अन्तरिक्षमा १८८६ स्याटेलाइट सञ्चालनमा छन् । हालसम्म भारत, पाकिस्तान, बंगलादेश र भूटानसहित ८७ मुलुकले स्याटेलाइट प्रक्षेपण गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस