बरालको 'झ्यालबाट'
लीलानटेश्वर बरालले डराएर आफ्नो स्पष्टवादिता छाडेनन्। यो 'झ्यालबाट' ले नेपालमा नयाँ युग ल्याएको संकेत हो।
साप्ताहिक 'गोरखापत्र' मा यदाकदा केही कथा छापिन्थे अनुवाद भएका। मौलिक नेपाली कथाहरू प्रकाशित हुन भने 'शारदा' मासिक नै जन्मनुपर्यो १९९२ सालमा। अनि दार्जीलिङका 'सूधपा' मध्येका 'सू' अर्थात् सूर्यविक्रम ज्ञवालीले नेपाली कथाहरू जम्मा पारेर एउटा किताब तयार पारे। त्यहींकै नेपाली साहित्य सम्मेलनले त्यो प्रकाशित गरुर्यो १९९५ सालमा। यसरी पहिलो नेपाली कथासंग्रह 'कथा कुसुम' प्रकाशमा आयो चार जना लेखकका आठ ओटा कथाहरू बोकेर।
त्यसैबाट प्रेरणा लिएर दार्जीलिङमै शिक्षा पाएका एमएका विद्यार्थी लीलानटेश्वर बराल (ईश्वर बराल) ले ठूलो आँट गरेर नेपाली कथाहरूको अनुसन्धान र विश्लेषणयुक्त पुस्तक लेखे 'झयालबाट'। त्यसलाई २००६ सालमा बनारसका नरेन्द्र रेग्मीले आफ्नै प्रेसमा छापिदिए।
रेग्मीले त्यो किताब–जन्मको कथा रोचक पाराले लेखेका छन्– त्यो लेख्ने र प्रकाशन गर्ने योजना 'ख्यालख्यालमै' बन्यो भन्दै। हुनसक्छ, योजना ठट्टैठट्टामा बन्यो होला तर त्यसको प्रतिफल भने अत्यन्त गहकिलो भयो। नेपाली साहित्यमा एउटा नयाँ परम्पराकै थालनी गरुर्यो त्यस प्रकाशनले। कथा विधालाई नै एउटा उच्चता प्रदान गरुर्यो 'झयालबाट' ले।
त्यस किताबको प्रकाशनले ईश्वर बराललाई विद्यार्थीको तहबाट उचालेर एकाएक नेपाली साहित्यको वरिष्ठ समालोचक तथा इतिहासकारको थान्कामा पुर्याइदियो। त्यसपछि बरालजीले पछाडि फर्कनै परेन, उनी उत्तरोत्तर उच्चतातिर अग्रसर हुँदै गएर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपतिको पदसम्म सुशोभित गर्नपुगे।
उनका कलमबाट लेख, निबन्ध र पुस्तकहरू पनि झ्रेका झ्र्यै भए। उनले लेखेका सबै कुरा मुद्रित भने भएनन्, हुनसकेका छैनन्। उनका राम्रा अक्षरमा लेखिएका कागजपत्र र कापीहरूमा तयार पारिएका ग्रन्थहरू एक डङ्गुर छन् तर तिनको सम्पादन गर्ने तथा प्रकाशन गरिदिने कोही छैनन् अरे। कत्रो दुर्भाग्य नेपाली साहित्यको!
ती लेखोटहरू जहाँ भए पनि सुरक्षित हुनुपरुर्यो। पछि कुनै बहादुर निक्लेला तिनको प्रकाशनको व्यवस्था गर्ने। उनका मुद्रित कृतिहरू भने (लिखित र सम्पादित गरी) मदन पुरस्कार पुस्तकालय (मपुपु) मा जम्मा १७ ओटा देखिन्छन्। अरू भए ती मपुपुमा आइपुगेका छैनन्।
यो स्तम्भ पुस्तकमै सीमित रहनुपर्ने हो तापनि माथि अलिकति डा. बरालको त्यस अमर कृति 'झयालबाट' को बखान गर्दा त्यस्ता कीर्तिशाली प्रतिभाको निधनपछि बेवारिसे जस्तो भएको, उनले छाडेर गएका र अलपत्र परेका उनका अरू साहित्यिक सम्पत्तिका बारेमा पनि अलि चिन्तित भइयो। त्यो पनि एउटा राष्ट्रिय चिन्ताको विषय नै हो जस्तो लाग्यो। अब हामी हाम्रो मुख्य सरोकार 'झयालबाट' तिर नै फर्कूं।
ईश्वर बराल त्यस बखत सके २५ वर्ष पनि पुगेका थिएनन्। त्यसै बेला पनि समालोचना क्षेत्रमा उनले देखाएको परिपक्वता आश्चर्यलाग्दो छ। त्यसअघि कुनै नेपाली विद्वानले त्यति गहिरोसँग कुनै अर्को नेपाली लेखकको मनोवैज्ञानिक विश्लेषण गरेको देखिएको छैन।
हामी धेरैतिर आँखा नडुलाई शमशेर दाजुभाइ– पुष्कर र बालकृष्णबारे बरालले लेखेका एउटा सानो अंश पढिहेरूँ। पुष्करशमशेरबारे उनको आखिरी विश्लेषण छ– '...पुष्करशमशेरका कथामा सरसताको अभाव छैन, तर त्यहाँ कथामा चाहिने रस छैन। सरसता छ समस्या–प्रदर्शनको र समाधानको। किनकि उहाँ कवि–हृदय हुनुहुन्न, त्यसैले भावना छ तर भावुकता छैन।
भाषामा आलङ्कारिकता भारी छ, अनिन्द्य सुन्दरी गहनाले थिचिएकी जस्ती, तर कलात्मक छरितोपन छैन। कथामा वकालत छ, मुद्दा–फैसला छ, आलोचनात्मक दृष्टिकोण छ। सबभन्दा कथामा नेपाली ढङ्ग छ, शुद्ध नेपाली रूप जुन पुष्करशमशेरको खुलस्त व्यक्तित्व हो।'
ईश्वर बरालले गरेको बालकृष्ण–विश्लेषणको पनि अलिकता रसास्वादन गरिहेरौं। त्यसै पुस्तकमा बराल लेख्छन्– '..उहाँको सहानुभूति नेपाली समाजका ती भूमिसात् प्रतिनिधिप्रति हुन्छ जतापट्टि साधारण समाज अन्यमनष्क भावले आँखा चिम्लिन्छ उहाँले तिनलाई आदर्श रूपमा उभ्याउने प्रयास निकै गर्नुभएको छ। बालकृष्णको शुद्ध कलाकारको निष्पक्षीय भावधारा हो जीवनपट्टि उहाँको रोमान्टिक दृष्टिकोण हो। त्यसैले उहाँलाई राष्ट्रिय साहित्यकार बनाउँछ।'
'झयालबाट' बारे बोल्दा त्यसका सम्पादकको उमेरको कुरा हामीले माथि उठाइसक्यौं। उनले 'गधेपच्चीसी' पनि पार गरेका छैनन्। अर्को एउटा कुरो पनि नबिर्सिऊँ–नेपालमा राणाशासन समाप्त भएको छैन, प्रजातन्त्र पसेको छैन अझ्ै। त्यस्तो बेलामा गरेका हुन् बरालले यी टिप्पणी।
यी विश्लेषणहरूमा बरालको विश्वसाहित्यमा रहेको गहन ज्ञान देखिन्छ। साथै उनको जेहेनमा बसेको निर्भीकता पनि परिलक्षित हुन्छ। समाजवादप्रति राणाशासन कति असहिष्णु छ भन्ने जान्दाजान्दै पनि बरालले बालकृष्णको समाजवादी 'रुझान' को प्रशंसा गर्न छाडेनन्।
उनको त्यस टिप्पणीले नेपालमा बालकृष्ण मात्र होइन, स्वयम् उनी पनि राणाहरूको कोपभाजनमा पर्न सक्थे। तर लीलानटेश्वर बरालले डराएर आफ्नो स्पष्टवादिता छाडेनन्। यो पनि 'झयालबाट' ले नेपालमा नयाँ युग ल्याएको सङ्केत हो। त्यसै हुँदा नै परेको होला यो किताब हाम्रो 'पुस्तक सम्पदा' मा!