टिप्पणीआइतवार, भाद्र १०, २०७५

चाणक्य सम्झाउने इमरान

शेखर खरेल

खास ‘डेलिभरी’ र ‘स्टेटक्राफ्ट’ प्रतीक्षाकै विषय रहे पनि मितव्ययिता केन्द्रित पाकिस्तानी प्रम इमरान खानको कदम नेपाली राजनीतिका लागि सिकाइको स्रोत बन्न सक्छ ।

चाणक्य स्वयं सम्राट बन्न चाहेनन् र शिष्य चन्द्रगुप्तलाई सम्राटका रूपमा स्थापित गरे । त्यसैले चाणक्यलाई ‘किङ्ग मेकर’ भनिन्छ । उनले प्रथम मौर्य सम्राट चन्द्रगुप्त तथा उनका छोरा एवं उत्तराधिकारी बिन्दुसारलाई राजकाजका निम्ति अभिभावकत्व प्रदान गर्दै मार्गदर्शन गराइरहे ।

चाणक्यले आफ्ना निम्ति रोजेको पद ‘महामन्त्री’ को थियो । तर, उनले उक्त पदसँग जोडिने सुविधा उपभोग गरेनन् । मौर्य साम्राज्यको राजधानी पाटलीपुत्र (अहिलेको पटना) को एउटा सानो झुपडीमा बस्थे, चाणक्य । “महामन्त्री जस्तो मान्छे दरबारमा नबसेर किन झ्ुपडीमा ?” बारम्बार सोधिने प्रश्नको उत्तर उनी यसरी दिन्थे, “जुन देशका मन्त्री दरबारमा बस्छन्, त्यस देशका जनता झ्ुपडीमा बस्नुपर्ने हुन्छ, र जुन देशका मन्त्री झुपडीमा बस्छन् त्यस देशका जनता महलमा बस्न सक्ने हुन्छन् ।”

चाणक्यको जवाफ सार्वजनिक ओहोदामा बस्नेहरूले अवलम्बन गर्नुपर्ने सदाचार र मितव्ययी जीवनशैलीसँग सम्बन्धित छ । राजतन्त्र वा कुलीनतन्त्रमा विरासतमा मिल्ने सत्तामा सदाचार र मितव्ययिता अपेक्षित नहुन सक्छ । किनकि, चाँदीको चम्चा मुखमा लिएर जन्मनेले विलासको जीवन रोज्नु अन्यथा होइन । तर, जब जनतामाझबाटै छनोट भएर सत्तामा पुग्ने व्यक्ति महलको जीवन रोज्छ भने चाणक्यले भने झै त्यस देशका नागरिकले झुपडीको बास बस्नुपर्ने हुन्छ ।

राजनीति, कूटनीति र अर्थनीतिका त्रिवेणी चाणक्यले शिक्षा–दीक्षा लिएको प्राचीन विश्वविद्यालय तक्षशिला रहेकै मुलुक पाकिस्तानबाट हालै चाणक्य सम्झउने एउटा खबर संप्रेषित भएको छ । पूर्व क्रिकेटर तथा तहरिक–ए–इन्साफ पार्टीबाट पाकिस्तानको प्रधानमन्त्रीका रूपमा सत्तारोहण गरेका इमरान खानले महलको साटो ‘झुपडी’ को बास रोजेका छन् ।

भव्य प्रधानमन्त्री निवासलाई तिलाञ्जली दिंदै वजिर–ए–आलम इमरान सामान्य तीन शयनकक्ष सहितको सैनिक सचिवालयको घरमा सरेका छन् । प्रधानमन्त्री निवासका ५२४ सहयोगीमध्ये उनले दुई जना मात्र लिएका छन् ।

यसैगरी प्रधानमन्त्रीका प्रयोग निम्ति छुट्याइएका ३३ बुलेटप्रुफ सहित ८० लक्जरी गाडी र एक हेलिकोप्टर लिलामी गरी त्यसबाट प्राप्त रकम राज्यकोषमा जम्मा गर्दै बालबालिकाको शिक्षा निम्ति खर्चिने उद्घोष पनि गरेका छन् ।

नेपालको समृद्धि तुलनात्मक रूपमा पाकिस्तानको भन्दा कम चुनौतीपूर्ण रहे तापनि प्रस्थानविन्दु भने उही मान्न सकिन्छ, सार्वजनिक जीवनमा सदाचार र मितव्ययिता।

त्यसो त राजनीतिमा वंश परम्परा र भ्रष्टाचारलाई चुनौती दिंदै क्रिकेटको क्रिजबाट राजनीतिको मैदानमा हामफालेका खानको खास ‘डेलिभरी’ वा ‘स्टेटक्राफ्ट’ प्रतीक्षाकै विषय छ । तर, क्रिकेटका अलराउण्डर उनले राजनीतिमा पनि आशलाग्दो इनिङ शुरू गरेको देखिएको छ ।

पाकिस्तानबाट भौगोलिक हिसाबले उति दूरीमा नरहेको र आर्थिक रूपमा जीवनयापनका दृष्टिले लगभग उस्तै हैसियतमा रहेको दक्षिणएशियाको अर्को मुलुक नेपालमा राजनीतिक जीवनमा सदाचार र मितव्ययिता दुर्लभ बन्दै गएको छ । पाकिस्तान झै नेपालको राजनीति भ्रष्टाचारबाट प्रदूषित छ ।

धन्न, धार्मिक अतिवाद र आतङ्कवादले शिर नउठाइसकेकाले नेपाल राजनीतिक र सामाजिक रूपले पाकिस्तान भन्दा शान्त छ । त्यसैले पनि तुलनात्मक रूपमा नेपालको समृद्धि पाकिस्तानको भन्दा कम चुनौतीपूर्ण रहे तापनि प्रस्थानविन्दु भने उही मान्न सकिन्छ, सार्वजनिक जीवनमा सदाचार र मितव्ययिता ।

नेपाली राजनीतिमा सदाचार र मितव्ययिताको आज खडेरी परे पनि यी सद्गुण विगतमा नदेखिएका होइनन् । बीपी कोइराला, सुवर्णशमशेर, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई आदिले सत्तालाई दुराचार र भ्रष्टाचारले कलङ्कित गरेनन् । प्रथम निर्वाचित प्रधानमन्त्री बीपीले आफ्नो तलब र सुविधामा कटौती गरे ।

कुलीन खलकका सुवर्णशमशेरले आर्थिक मितव्ययिता तथा पारदर्शितालाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाए । मनमोहन अधिकारी सामान्य जीवनयापनमै रमाए । छाता, सुराही र ट्याङ्का लिएर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका कृष्णप्रसाद भट्टराई तिनै सामान सहित बाहिरिए । तर, तिनै नेताहरूलाई आफ्नो आदर्श बताउने वर्तमान नेतृत्वपंक्तिले यी नेताहरूको फोटो पार्टी कार्यालय र मन्त्रालयमा झ्ुण्ड्याउने काम मात्र गरे ।

भ्रष्टाचार र भद्दा जीवनशैलीका कारण आज नेपालमा मात्र नभई पूरै दक्षिणएशियामा राजनीतिज्ञहरू दुराचारका पर्याय झ्ैं बनेका छन् । सन् ८० को दशकसम्म राजनीति गर्नेहरू निष्ठा र सदाचारका प्रतिमूर्ति झै थिए । जीवनका सबै सुखसयललाई तिलाञ्जली दिंदै उनीहरू राजनीतिमा होमिएका कारण राजनीति त्याग र निष्ठाको पर्याय थियो ।

यी सद्गुण सन् ९० को दशकको उर्लंदो उपभोक्तावादसँगै स्खलित हुन थाल्यो । एउटा रोचक उदाहरण लिऊँ, सन् ८० को दशकसम्म चलचित्रमा डाँका, जमीनदार वा धनाढ्यलाई खलपात्रका रूपमा प्रस्तुत गरिन्थ्यो । तर, हिजोआजका प्रत्येक दोस्रो चलचित्रका खलपात्र नेता, सांसद वा मन्त्री देखिन्छन् । सार्वजनिक जीवनमा नेताहरूको आर्थिक हैसियत उकालो लागे पनि उनीहरूप्रतिको आस्था वा सम्मान तीव्र गतिमा ओरालो लाग्दैछ ।

अक्सफोर्ड युनिभर्सिटीका पूर्व विद्यार्थी इमरानले अक्सफोर्ड युनियनद्वारा आयोजित ‘नेतृत्व’ विषयक प्रवचनमा नेताका लागि तीन गुण जरूरी हुने बताएका थिए । यूट्युबमा समेत उपलब्ध भिडियोमा ती तीन गुण; परिकल्पना, भयबाट मुक्ति र सत्यनिष्ठा रहेको खानले बताएका छन् । “तपाईं त्यस्ता व्यक्ति उपर आस्था राख्न सक्नुहुन्न, जसमा सत्यनिष्ठा रहँदैन” उनले जोड दिएका छन्, “जोसँग यो गुण हुन्छ, मानिस उसैका अनुयायी बन्छन् ।”

प्रतिकृया दिनुहोस