रिपोर्टआइतवार, भाद्र १०, २०७५

पंक्षीः संकटापन्न सूची बढ्दो

मुकेश पोखरेल

जलवायु परिवर्तनसँगै चराको वासस्थान र आहारमा परेको प्रभावले संकटमा पर्ने चराका प्रजाति बढ्दै गइरहेका छन् ।

घाउके हावासील । । तस्वीरहरुः राजेन्द्र गुरुङ

चराविद् डा. हेमसागर बरालले सन् १९९० को हिउँदमा हेटौंडाभन्दा दक्षिणतर्फ राप्ती नदी क्षेत्रमा दुई दर्जन तिलहरी चरा देखेका थिए । सन् ९० को दशकसम्म त्रिशूली, राप्ती, गण्डकी, बूढीगण्डकी, भोटेकोशी लगायत नदीमा तिलहरी चरा छ्यापछ्याप्ती भेटिन्थ्यो । बराल भन्छन्, “त्यतिबेला बथानमा भेटिने यो चरा अचेल देखिनै छाडेको छ ।”

डा. बरालका अनुसार, संकटापन्न प्रजातिभित्र पर्ने तिलहरी चरा उदाहरण मात्र हो, ३०–४० वर्षअघि उल्लेख्य देखिने अन्य चराहरूको संख्या पनि अचेल घटेको छ । काफल पाक्यो, पानीहाँस, उत्कोशी फ्याफ्याले आदि चराहरूको संख्या निरन्तर घट्दै गइरहेको छ ।

काफल पाक्यो चरा ।

सन् १९९६ मा नारायणी नदीको पुलदेखि ८ किलोमिटर दक्षिणतर्फ उत्कोशी फ्याफ्याले चराका एक दर्जन जति गुँड देखिएको थियो । अहिले त्यस क्षेत्रमा उक्त चरा देख्नै पाइँदैन ।

सन् १९८६ सम्म हिउँदमा कोशी ब्यारेज पानीहाँसले ढाकिएको हुन्थ्यो । तिब्बत र रूसको साइबेरियाबाट आउने पानीहाँस ५० हजारसम्म रेकर्ड गरिएकोमा अहिले पूरै कोशी टप्पु क्षेत्र घुम्दा पनि १० हजार जति पानीहाँस देख्न सकिंदैन । सन् २०१६ मा गरिएको अध्ययन अनुसार, नेपालका १६८ प्रजातिका चरा संकटापन्नको सूचीमा छन् । नेपाल पक्षी संरक्षण संघका अध्यक्ष राजेन्द्र गुरुङ चरा लोप हुने क्रम हरेक वर्ष बढिरहेको बताउँछन् ।

जलवायुको प्रभाव
चराविद्हरूका अनुसार, चराको संख्या घट्दै जानुको प्रमुख कारण जलवायुले वासस्थान तथा आहारमा पारेको प्रभाव हो । रसुवाको लाङटाङ खोलाको क्यान्जिङ, कालीगण्डकीको टुकुचे, सोलुखुम्बुको पाङबोचे, गौरीशंकरको बेदिङ क्षेत्रको हिमनदी किनारमा गुँड बनाउने तिलहरी चरालाई पछिल्लो समय अप्रत्याशित रूपमा हिउँ पग्लिएर नदीको सतह बढ्ने हुँदा वासस्थानको समस्या भएको छ ।

लालचुच्चे ठेउवा ।

“पहिलेको आधारमा नदीमा हुने पानीको सतह घटबढको अनुमान गरेर तिलहरी चराले गुँड लगाउँछ । पछिल्लो समय उसले गरेको अनुमान नै मेल खाँदैन” डा. बराल भन्छन्, “तापक्रम बढेर अप्रत्याशित हिउँ पग्लिंदा तिलहरीको वासस्थानमै संकट आयो र यसको संख्या घट्दैछ ।”

तापक्रम वृद्धिसँगै हिमनदी पग्लिने र हिमतालको आकार बढ्दै गइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धिको दर वार्षिक ०.०८ डिग्री सेल्सियस छ ।

त्यस्तै, नेपालको वार्षिक तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस छ । पछिल्लो ३० वर्षमा नेपालको तापक्रम १.६ डिग्री सेल्सियसले बढेको छ । जसका कारण हिमतालको संख्या र क्षेत्र बढ्ने क्रम पनि जारी छ । त्रिभुवन विश्वविद्यालय, भूगोल विभागका प्रमुख डा. नरेन्द्र खनालका अनुसार सन् १९७७ मा कोशी बेसिन अन्तर्गत ११६० हिमताल रहेकोमा जलवायु परिवर्तनका कारण सन् २०१० सम्म २१६८ हिमताल बने ।

सन् १९७७ मा हिमतालहरूको कुल क्षेत्रफल ९४.४४ वर्ग किमि रहेकोमा २०१० सम्म बढेर १२७.६८ वर्ग किमि पुग्यो । तिब्बती क्षेत्रमा पनि यही रफ्तारमा हिमतालको वृद्धि र विस्तार भइरहेको छ ।

नेपाल पक्षी संरक्षक संघका अध्यक्ष गुरुङका अनुसार नेपालमा रैथाने र आगन्तुक गरी दुई प्रकारका चरा पाइन्छन् । जाडो छल्न तिब्बत र रूसको साइबेरियासम्मबाट नेपालको तराईमा आइरहने चराहरूको संख्या पछिल्लो समय घट्दो छ । जलवायु परिवर्तनका कारण नेपालको तराईको जति तापक्रम उतै पाइने भएपछि आगन्तुक चराको संख्यामा कमी आएको डा. बरालको अनुमान छ ।

तिलहरी चरा ।

चराको मुख्य आहार कीरा–फट्याङ्ग्रा वनस्पतिमा फूल खेल्ने तथा फल्ने समयमा बढी देखिन्छन् । जलवायु परिवर्तनका कारण वनस्पतिमा फूल खेल्ने तथा फल्ने समयमा पनि परिवर्तन आएको छ । बचेरा कोरल्ने बेला पर्याप्त आहार नहुँदा पनि काफल पाक्यो, ठेउवा, उत्कोशी फ्याफ्याले, चिबे लगायत चराहरूको संख्या घट्दै गएको डा. बरालको भनाइ छ ।

अर्कोतिर, जलवायु परिवर्तनका कारण तराईका चरा पहाडमा र पहाडका चरा हिमालतिर देखिन थालेका छन् । पक्षी संरक्षण संघले गरेको अध्ययनमा दुई साताअघि काठमाडौंको रानीवनमा लालचुच्चे ठेउवा नामको चरा देखियो । तराई क्षेत्रमै वासस्थान बनाएर बस्ने नीलपुच्छ«े मुरली चराले काठमाडौं उपत्यकालाई वासस्थान बनाएको छ । यो चरा समूहगत रूपमै गोदावरी क्षेत्रमा पाइएको संघको भनाइ छ ।

तथ्यांक अभाव
जलवायु परिवर्तनले चराहरूको वासस्थानमा परेको असर सम्बन्धी विस्तृत अध्ययन हामीकहाँ अहिलेसम्म भएको छैन । चराविद् बरालको भनाइमा नेपालमा चराको रेकर्ड राख्न थालेको ३०–३५ वर्ष मात्रै भएकाले कुन चरा कति संख्याले घटे वा बढे भन्न सकिंदैन ।

पहिले केही विदेशीले नेपालमा चराको अध्ययन गरे पनि कति संख्यामा चरा पाइएका थिए, त्यसको रेकर्ड उपलब्ध छैन । सन् १७७० मा डब्लू जे क्रिकले नेपालमै पहिलो पटक चरा गणना गरेका थिए ।

नादुन हाँस ।

त्यसैगरी, सन् १८२० देखि १८४६ सम्म ब्रायन हड्सनले २६ वर्ष लगाएर नेपालमा ६०० प्रजातिका चरा पत्ता लगाएका थिए । त्यस्तै, सन् १९३७ मा एफएमवेली र सन् १९४९ मा रिप्ले जस्ता विदेशी नागरिकले नेपालमा चराको अध्ययन गरेका थिए ।

डा. बरालका अनुसार, वासस्थान तथा आहारको अवस्थालाई अध्ययन गर्दा पाइएका तथ्यले तापक्रम वृद्धिका कारण चराको संख्यामा उल्लेख्य कमी आएको भन्न सकिन्छ । थप तथ्यहरूका लागि विस्तृत अध्ययनको खाँचो रहेको उनको भनाइ छ ।

अन्य देशमा भएका अध्ययनहरूले भने जलवायु परिवर्तनका कारण चराहरूमा प्रभाव परेको पाइएको छ । ‘नेचर क्यानडा’ का अनुसार जलवायु परिवर्तनले चराको व्यवहार, आनुवंशिकताका साथै बसाइँसराइ, बच्चा कोरल्ने समयमा समेत परिवर्तन आएको छ ।

दक्षिण अमेरिकामा गरिएको अध्ययन अनुसार, हरेक १० वर्षमा चराले ६ दिनअघि नै फूल पार्न थालेको छ । १० वर्षको तुलनामा ‘कमन मुरे’ नामको चराले २४ दिनअघि नै बच्चा कोरल्न थालेको पाइयो । त्यसैगरी सामान्य तापक्रम वृद्धि हुँदा पनि चराहरूले ६ दिनअघि गुँड बनाउन शुरू गरेको ‘नेचर क्यानडा’ को रिपोर्ट छ ।

६३ वर्षको अध्ययनले ९७ प्रजातिका चरामध्ये २७ प्रजातिका चराको बसाइँसराइको मितिमा परिवर्तन आएको पाइएको छ । यस्तो उदाहरण नेपालमा पनि पाइन्छ । नेपालमा हिउँदताका आएर गत चैतमै फर्किनुपर्ने खोडखोडे हाँस अहिले पनि जगदीशपुर तालमा पाइन्छन् ।

प्रतिकृया दिनुहोस