ब्लगशनिवार, भाद्र ९, २०७५

दरबारको गोप्य चिठी खोल्दा

भैरव रिसाल

सचिव बाहेकका सरकारी कर्मचारीले मोटरको सुविधा नपाउने जमानामा रेडियो नेपालका डाइरेक्टरलाई साइकल नै राहत बनिदियो ।

पञ्चायतकालको शुरूआत ताका सुरेन्द्रराज शर्मा सूचना विभाग र रेडियो नेपालका डाइरेक्टर थिए । अड्डा छुट्ने बेला नारायणहिटी दरबारबाट राजाका प्रेस सचिव रेणुलाल सिंहले फोन गरेछन्, “तपाईं तुरुन्त दरबार आइहाल्नोस् त !” उनी साइकल लिएर दौडिहाले ।

त्यो समयमा सरकारी निकायका डाइरेक्टर साइकलमा गुड्थे । मोटरको सुविधा विशिष्ट श्रेणीका अधिकृतले मात्र पाउँथे । दरबारमा रेणुलालले सुरेन्द्रराजलाई गोप्य छाप लागेको बन्द खाम दिंदै भनेछन्, “यो भोलि बिहान रेडियो गएपछि मात्र खोल्नू, रेडियोमा खबर भन्नु पाँच मिनेट अघि मात्रै ।” अड्डा छुटिसकेकाले सुरेन्द्रराज सरासर कुपण्डोलस्थित घर गए । गोप्य चिठी आफ्नै कोठाको बाकसमा राखे ।

गोप्य चिठी खोल्दा आपत् !

सुरेन्द्रराज शर्मा ।

चिठी भोलि खोल्नू भनिए पनि सुरेन्द्रराजलाई खस्खस् लागिरह्यो, के होला चिठीमा ? सुत्न खोज्दा पनि आँखा झिमिक्कै भएनछन् । श्रीमती निदाएपछि बिरालाको चालले उठेर सुरेन्द्रराजले बाकसबाट चिठी झिकेछन् । खोलूँ कि नखोलूँ भन्ने दोमन भएछ ।

एक मनले भन्छ रे, खोलेर हेर्, आखिर भोलि तैंले नै खोल्ने त हो । अर्को मनले दरबारको चिठी हो, रात रहे अग्राख पलाउँछ भन्ने सोच आएपछि यस्तै दोधारमा एक बजेछ । जे त होला भनी चिठी खोलेर हेर्दा त नयाँ मन्त्रिमण्डल गठनको कुरा रहेछ । खस्खस् मेटिएपछि उनी निदाए ।

भोलिपल्ट बिहान ६ बजे नै राजाका प्रेस सचिव रेणुलालको फोन आएछ, “हिजोको चिठी लिएर तुरुन्तै आउनोस् । त्यसमा थपघट गर्नुपर्ने भो ।” सुरेन्द्रराजका खुट्टा लुग्लुग् कामेछन्, नखोल्नू भनेको चिठी खोलिसकेका थिए । अब के गर्ने ? आखिर विद्यार्थी नेता अनि सूचना विभाग र रेडियो नेपालका डाइरेक्टर न परे । बुद्धि लगाउँदै भनेछन्, “साइकल पञ्चर भएको छ । कुपण्डोलदेखि लैनचौरसम्म हिंडेर आई सात बजेको समाचारमा पढ्न भ्याइएला र ?”

रेणुलालले पनि समयबारे विचार गर्दै सुरेन्द्रराजलाई अह्राएछन्, “लौ त्यसो भए तुरुन्त रेडियो नेपाल जानोस् र पुग्नासाथ फोन गर्नू । अनि मिलाउँला ।”

बठ्याइँ प्रयोग
यति कुरा सकिनासाथ सुरेन्द्रराजले तल ओर्लेर साइकलको हावा खुस्काएछन् । किनभने त्यसबेला गुप्तचर पद्धति बलियो थियो । साइकल पञ्चर नभएको खबर दरबारमा पुगे झन् खतरा ! त्यो दिन उनी हिंडेरै रेडियो नेपाल गएछन् र लगत्तै रेणुलाललाई फोन गरेछन् ।

रेणुलालले हिजोको चिठी गोप्य रूपमा खोल्न भनेछन् । चिठी राति नै खोलिसके पनि सुरेन्द्रराजले नाटकीयता प्रयोग गर्दै खाम खोलेछन् । राजाका प्रेस सचिवले मन्त्रीमा राखिएका दुई जनाको नाम कटाउन लगाई नयाँ दुई जनाको नाम थप्न लगाएछन् । रेडियो नेपालको सात बजेको बुलेटिनमा नयाँ मन्त्रिमण्डल गठन भएको समाचार प्रसारण भयो । यसरी सुरेन्द्रराजको जागिर पनि जोगियो ।

त्यो जमाना, सचिव बाहेकले सरकारी मोटरको सुविधा नपाउने बेला । यदि रेडियो नेपालका डाइरेक्टरले मोटर सुविधा पाउने भएका भए राजदरबारको गोप्य चिठी खोलेको पोल खुल्थ्यो र सुरेन्द्रराजको जागिर जान सक्थ्यो ।

यो सबै कुरा सुरेन्द्रराजले मलाई २०२५ सालतिर सुनाएका थिए । उनले भनेका थिए, “मोटर सुविधा पाएको भए र ट्याक्सी पाइने जमाना भएको भए मेरो के हालत हुन्थ्यो होला ? साइकल पञ्चर भएको छ भन्ने बठ्याइँ पनि पत्रकार भएकैले आएको हो ।”

निश्चित समयसीमा तोकिएको गोप्य चिठी पढ्ने हुटहुटीले झण्डै डाइरेक्टरको जागिरै चेट् भएको । गोप्य भनेको अन्ततः गोप्य नै हो । त्यसको मर्यादा पालन भएन भने खतरा आउन सक्छ भन्ने पाठ उक्त घटनाले सिकायो भन्दैथिए सुरेन्द्रराज ।

प्रतिकृया दिनुहोस