टिप्पणीशनिवार, भाद्र ९, २०७५

नार्च्याङको अचार

हिमालखबर

कमल मादेन

म्याग्दीको नार्च्याङ लेक गाउँमा चल्तीमा रहेको औषधीय गुणयुक्त वनस्पतिको अचारको प्रवर्द्धन हुन आवश्यक छ ।

तस्वीरहरु: कमल मादेन 

बेनी–जोमसोम सडकखण्डको तातोपानीबाट उत्तरपूर्व डेढ–दुई घन्टा हिंडेपछि म्याग्दी जिल्लाको नाच्र्याङ लेक गाउँ पुगिन्छ । पूर्व र उत्तरबाट गाउँलाई घेरेको जंगल हिमालसम्मै फैलिएको छ ।

यहाँ नाच्र्याङ लेकको चर्चा गर्नुको कारण यो हिमाली गाउँमा पाइने वनस्पति र कन्दमूलको अचार हो । यो गाउँमा वनस्पति र कन्दमूलको तरकारी र अचार खाने–खुवाउने चलन अद्यापि बाक्लै रहेछ । यसले स्थानीय बासिन्दा र वनको अन्योन्याश्रित सम्बन्ध पनि दर्शाउँछ । 

हिमाली दृश्यावलोकनका निम्ति पनि उपयुक्त नाच्र्याङ लेकको माथिल्लो कुइनेटोबाट उत्तरपश्चिममा धौलागिरि, उत्तरमा नीलगिरि र उत्तरपूर्वमा अन्नपूर्ण प्रथम नजिकै उभिएको देखिन्छ । तर गाउँमा पर्यटक भने विरलै पुग्दा रहेछन् ।

अन्नपूर्ण गाउँपालिकामा पर्ने लेक गाउँको सामाजिक बनावट पनि गजबको छ । गाउँमा एक–दुई घर विश्वकर्मा र दर्जीबाहेक सबै पुन मगरको बसोबास छ । नाच्र्याङको बोलीवचन बुझ्न हम्मे पर्छ । हाउभाउ नदेखिने हुँदा फोनमा त झनै बुझिन्न । उनीहरू भात र तिहुनलाई जोडेर ‘भातिन खायौं’ भन्छन् । चुलोमा आगो राम्रै बल्ने/बलेको छ भनेर सोध्न ‘चुला जाती छ ?’ भन्नुपर्ने रहेछ ।

सिस्नोका परिकार मनपराउनेहरू नाच्र्याङ पुगे भने गजबले तृप्त बनेर फर्कने छन् । त्यस्तै, नेपाली मदिराका पारखीहरू चुत्रो लगायतका विशुद्ध जंगली फलबाट तयार पारिएको रक्सीले झुम्म हुन पाउँछन् । अचार सौखिनहरूका लागि नाच्र्याङका घर–घरमा वनस्पतिका थरीथरी अचार उपलब्ध छन् ।

एक खालको अमिलो अचार, एक किसिमको वनस्पतिको बोक्रालाई त्यसैको पातमा पोको पारेर तोरीको तेलमा केही महीना डुबाएर तयार पारिंदो रहेछ । गएको महीना गाउँलेको वृत्तान्त टिपेर वन पस्दा हुमखोला नजिक (करीब २९०० मिटर) को भिरालोमा यो वनस्पति प्रशस्तै भेटियो । गाउँलेले जेठ–असारमा त्यसका पात र बोक्रा संकलन गर्दा रहेछन् ।

एक–डेढ मिटरसम्म अग्लो यो वनस्पतिको पात मानेको जत्रै, त्यही आकारको हुने रहेछ । हामीले भेट्दा फूल फुलेको थियो । रूपरङबाट यो फापर परिवारको वनस्पति हो भनेर ठम्याउन समय लागेन । यो फापर परिवार अन्तर्गत ‘रियम’ प्रजातिको वनस्पति रहेछ । यो प्रजातिको वनस्पतिको फूल सानो र अक्सर गुलाब जस्तो रातो हुन्छ । कतै हरियो र सेतो पनि पाइन्छ ।

पूर्वी नेपालको हिमाली क्षेत्रमा यसको एक प्रजाति पाखनभेद पाइन्छ । यो औषधिजन्य वनस्पति हो । भनेपछि नाच्र्याङका घर–घरमा खान पाइने वनस्पतिको अचारमा पनि औषधीय गुण हुने नै भयो । 

ताछेको बोक्रालाई तरकारी झै टुक्र्याएर अचार तयार पार्ने दुइटा विधि रहेछन् । केही महीनापछिसम्म खाने भए तोरीको तेलमा डुबाएर राख्ने र ताजै खाने हो भने तरकारी जसरी पकाइँदो रहेछ । त्यसरी पकाउँदा कर्कलोको तरकारी जस्तो केहीबेरमै लतक्क हुन्छ । स्वाद, रूख टमाटरको भन्दा तिक्खर अमिलो । नाच्र्याङ लेकवासीले स्वादका कारण त्यसलाई जंगली टमाटर पनि भन्दा रहेछन् ।

स्थानीय सहयोगीले यो वनस्पति दुई–तीन खालको हुन्छ भने पनि हामीले सबै भेटेनौं । नेपालमा ‘रियम’ जातिको ७ प्रजाति पाइने तथ्यांक छ । नेपालका विभिन्न समुदायले खाने र औषधिको प्रयोग गर्ने वनस्पतिबारे बृहत् अध्ययन–अनुसन्धान गरेका नारायणप्रसाद मानन्धरको पुस्तक प्लान्टस् एण्ड पिपुल अफ नेपाल (सन् २००२) मा ‘रियम एकुमिनाटम्’, ‘रियम अष्ट्राले’ र ‘रियम नोबाइल्’ का डाँठ अचारका रूपमा प्रयोग गरिने उल्लेख छ । 

म्याग्दीको ‘रियम’ प्रजाति भने उल्लिखित तीन प्रजाति भन्दा पृथक् छ । नाच्र्याङवासीको भनाइबाट म्याग्दीको हिमाली भेगमा प्रशस्तै ‘रियम’ पाइने बुझिन्छ । यसमा के कस्ता पौष्टिक तत्वहरू पाइन्छन्, परीक्षण आवश्यक छ ।

यसलाई विशेष प्रकारको अग्र्यानिक अचार भनेर प्रचार–प्रसार गर्न सक्दा मानिसको स्वास्थ्यसँगै पर्यटन प्रवद्र्धन पनि हुन्छ । पहिलो पहल म्याग्दीकै स्थानीय तह र पर्यटन व्यवसायीहरूले थाल्न सक्छन् । त्यसमा प्रदेश सरकार जोडियो भने ‘सुनमा सुगन्ध’ होला ।

प्रतिकृया दिनुहोस