टिप्पणीशनिवार, भाद्र ९, २०७५

चाहियो सांस्कृतिक अन्तरक्रिया

वसन्त महर्जन

काठमाडौं उपत्यकालाई सांस्कृतिक कृत्रिमताले लठ्याउँदै लैजानु गम्भीर खतराको संकेत हो ।

वसन्तपुर दरबार स्क्वायर । हिमाल आर्काइभबाट

काठमाडौं उपत्यकाको प्रमुख पहिचान भनेकै यहाँ विकसित ऐतिहासिक–सांस्कृतिक सम्पदा हुन् । विश्व सम्पदा सूचीमा रहेका सात ऐतिहासिक–सांस्कृतिक स्थलका अतिरिक्त यहाँ हजारौं अन्य मूर्त तथा अमूर्त सम्पदा छन् ।

तिनले उपत्यकाको दुईहजार वर्षअघिदेखि अहिलेसम्मको इतिहासको निरन्तरता देखाउँछन् । यसको अन्तर्यमा छिरेर संरक्षणका दृष्टिले हेर्दा भने यी सम्पदा अनेकौं किसिमले जोखिमपूर्ण अवस्थामा रहेको पाइन्छ । 

सम्पदा संरक्षणका अभियन्ताहरू काठमाडौंमा सम्पदा संरक्षणको सचेतता र जागरुकता अपर्याप्त भएको महसूस गर्दछन् । विद्यालय तथा विश्वविद्यालयमा इतिहास एवं संस्कृति विषयक पाठ्यसामग्री पढाउँदा पनि ज्यादाजसो आदर्शवादी वा परीक्षामुखी हुन प्रेरित गरिन्छ ।

विकास निर्माणको नाममा ऐतिहासिक–सांस्कृतिक सम्पदामाथि क्षति पुग्ने गरी गरिने कामले निर्णायक तहमा कहीं न कहीं विश्वविद्यालयका तिनै उत्पादनको संलग्नता हुने गरेबाट यो कुराको पुष्टि हुन्छ ।

नेपालको शैक्षिक क्षेत्रमा धर्म, दर्शन, संस्कृति, इतिहास तथा पुरातत्व जस्ता विषयले ज्यादै कम महत्व पाएको वा लोकप्रिय नभएको यसतर्फ विद्यार्थी संख्या र यस क्षेत्रले पाउने गरेको बजेटको आकारले नै देखाउँछ । अन्य विषय पढाइने शैक्षिक केन्द्रहरूमा यी कुराहरूलाई समावेश नै गरिन्न । विदेशमा अध्ययन गरेर आएकाहरूले पनि यसतर्फ ध्यान दिंदैनन् ।

परिणाम, ऐतिहासिक–सांस्कृतिक महत्वका गाउँबस्ती तथा नगरहरूमा गरिने निर्माण कार्यले सम्पदा निमिट्यान्न पार्ने वा क्षत–विक्षत पारेर छाड्ने प्रवृत्ति बढेको पाइन्छ ।

नेपाली कुनै न कुनै सांस्कृतिक चाडपर्वसँग सम्बन्धित हुन्छन् नै । आफ्नो समुदायको सांस्कृतिक चाडबाडमा सहभागी हुँदैमा आफूलाई समग्र नेपाली संस्कृतिको जानकार ठान्नु नेपाली समाजलाई बुझ्दै नबुझ्नु हो ।

पंचायतकालभर दशैंलाई सबै नेपालीको साझ चाड भनेर प्रचार गरियो । प्रजातन्त्र पुनस्र्थापनापछि पनि धेरथोर यो प्रवृत्तिले निरन्तरता पाएकै हो, तर खाँटी हिन्दूका रूपमा रहेका खोकनावासी (ललितपुर जिल्लाको प्राचीन गाउँ) यो चाड मनाउँदैनन् । यो तथ्यले त्यो दाबीको खोक्रोपन देखाउँछ ।

सुदूरपश्चिम नेपालका कतिपय हिन्दू जनजीवन पनि दशैं नभएर गौरा पर्वलाई मुख्य चाडको रूपमा मनाउँछन् । त्यस्तै, नेवार समाजमा तिहारका बेला ‘म्हपूजा’ गरिने एउटा तथ्य हो, तर सबै नेवारले त्यसै गर्छन् भन्ने मान्यता राख्नु नेवार समाजलाई नबुझ्नु हो ।

एउटै समुदायभित्र पनि विविधता रहनु नेपाली संस्कृतिको विशेषता हो । आफ्नै सांस्कृतिक विशेषता नबुझने वा आत्मसात् गर्न नसक्नेबाट अन्य समुदायको संस्कृति तथा सम्पदाको भलो होला भनेर विश्वास गर्न सकिन्न ।

यो प्रवृत्तिले पनि हाम्रा सांस्कृतिक सम्पदाहरूलाई बढी जोखिममा पारेको प्रतीत हुन्छ । सांस्कृतिक सम्पदा जाति, भाषा, धर्म लगायत थुप्रै पक्षसँग सम्बन्धित हुन्छन् । यो कारणले गर्दा संस्कृतिलाई आफ्नो प्रभुत्व बढाउने साधनका रूपमा लिने जोरजुलुम गरेको पनि पाइन्छ ।

यसक्रममा कतिपयलाई ‘अर्काको संस्कृति’ भनेर मास्न खोजिन्छ । अर्काको संस्कृतिप्रति उदासीन रहनेहरूबाट पनि केही हदसम्म संस्कृति मास्ने काम भइरहेको हुन्छ । यसका साथै पूर्वाग्रह, इष्र्या र द्वेषले पनि नकारात्मक प्रभाव पार्छ ।

देशहरूका आ–आफ्नै विशेषता रहेका हुन्छन् र त्यही अनुरूप चल्दा सजिलो हुन्छ । नेपालको विशेषता भन्नु सांस्कृतिक विविधता हो । यसलाई हार्दिकताका साथ आत्मसात् गर्नु एक नेपालीले अर्को नेपालीलाई चिन्नु हो । यो भावनात्मक कुरा भएको हुँदा आत्मीयता बढ्छ र रमाइलो पनि हुन्छ । काठमाडौंको सभ्यता र संस्कृति यस्तै फरक सभ्यता र संस्कृतिको सम्मिश्रण हो ।

‘एसिमिलेशन’ भनिने यो प्रक्रियामा आगन्तुकले ल्याएको राम्रो संस्कृति स्थानीय संस्कृतिमा मिसिने र स्थानीय संस्कृति आगन्तुकले ग्रहण गर्ने काम हुन्छ । यसरी सभ्यताको विकास हुन्छ । नेवार सभ्यता–संस्कृतिलाई मध्यनजर गरेर काठमाडौं उपत्यकालाई ‘मेल्टिङ पट’ पनि भन्ने गरिन्छ । तर अचेल यो ‘मेल्टिङ’ प्रक्रिया बन्द भइसकेको छ ।

अहिले सम्पदालाई पर्यटन उद्योगसँग सम्बन्धित गरेर बुझ्ने/बुझाउने घातक प्रवृत्ति हावी भएको छ, जसले कृत्रिमतालाई पनि विस्तार गर्छ । यो प्रवृत्तिले संस्कृतिलाई सम्बन्धित समुदायको जनजीवनबाट टाढा पार्दै लैजान्छ । यो अवस्थामा अन्य समुदायको बुझाइ झनै फरक पर्दै जानु स्वाभाविक हुन्छ ।

स–साना क्रियाकलापमा नै संस्कृतिको अस्तित्व निहित रहेको हुन्छ । सांस्कृतिक ज्ञानको अभावमा त्यो नबुझेर गरिने अनेक नकारात्मक टिप्पणीले सांस्कृतिक मूल्यमान्यतामा ह्रास आउँछ ।

जनस्तरबाट निर्मित सांस्कृतिक सम्पदाहरू जनजीवनमा बिरानो बन्दै जानु धेरै घातक कुरा हो । काठमाडौं उपत्यकालाई यो समस्याले लठ्याउँदै लगेको छ । सम्पदाप्रति आफ्नोपन र समर्पणभाव हराउँदै जानु सांस्कृतिक अभियन्ताहरूका लागि थप चुनौती हो । यसका लागि सांस्कृतिक अन्तरक्रिया र शैक्षिक सुधार अत्यावश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस