कला/साहित्यबिहिबार, ७ भाद्र , २०७५

यादव खरेलका सांस्कृतिक सृजना मदन पुरस्कार पुस्तकालयमा

मस्त केसी

चलचित्र निर्देशक एवं गीतकार यादव खरेलले आफ्ना सम्पूर्ण साहित्यिक र सांस्कृतिक सृजना संरक्षणका लागि मदन पुरस्कार पुस्तकालयलाई हस्तान्तरण गरेका छन् ।

तस्वीरहरु: माेनिका देउपाला

आज मदन पुरस्कार पुस्तकालयमा आयोजित समारोहमा खरेलले आफ्नो निर्माण/निर्देशनमा बनेका चलचित्र, लेखेका गीत एवं किताब हस्तान्तरण गरेका हुन् ।

२०१८ सालदेखि हालसम्म खरेलको सृजनामा तयार भएका गीत, चलचित्र एवं किताब अब मदन पुरस्कार पुस्तकालयमा हेर्न, पढ्न तथा अध्ययन एवं अनुसन्धान गर्न सकिनेछ ।

समारोहमा स्रष्टा खरेलले ‘समयलाई समाउने प्रयत्न’का लागि आफ्ना सृजना मदन पुरस्कारमा हस्तान्तरण गरिएको बताएका छन् ।

हस्तान्तरण समारोहमा बोल्दै उनले भने, “इतिहास संरक्षण होस्, अध्येताले अध्ययन, अनुसन्धान गर्न पाउन् र आम जनताले पनि चलचित्र हेर्न, पुस्तक पढ्न, गीत सुन्न र इतिहासलाई बुझ्न पाउन् भन्नको लागि सृजना हस्तान्तरण गरेको छु ।”

पुरानो प्रविधिमा तयार पारिएका चलचित्र र गीत आधुनिक प्रविधिमा रुपान्तरण गरेर संरक्षण गर्नु र भावी पुस्तालाई हस्तान्तरण गर्नु कठिन भएपनि यसको लागि मदन पुरस्कार सक्षम र भरपर्दो माध्यम भएको खरेलले विश्वास व्यक्त गरेका छन् ।

संस्कृतिसँग सम्बन्धित सरकारी संस्थानहरुले संरक्षणमा चासो नदिएको भन्दै खरेलले वि.सं २०२० को दशकमा रेडियो नेपालमा रेकर्ड गरिएका आफ्ना धेरै गीत/संगीत नष्ट भएको पनि जानकारी गराए ।

चलचित्र वा गीत/संगीत समाज र देशको भएकोले यसको संरक्षण अत्यावश्यक रहेको खरेलले बताए । उनले भने, “साहित्यिक र सांस्कृतिक सृजनाले इतिहास बोल्छ । त्यसैले यसको संरक्षण अपरिहार्य छ ।”

समारोहमा किताबको मात्रै नभएर गीत, संगीत चलचित्र लगायतका सांस्कृतिक सृजनाको संरक्षणको लागि छुट्टै संग्रहालय आवश्यक रहेको बारेमा पनि चर्चा गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस