बालगोपाल महर्जन राष्ट्रिय फूटबल टोलीका कार्यवाहक प्रशिक्षक
अखिले नेपाल फूटबल सङ्घ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ।
एन्फाको आज बसेको आपत्कालिन बैठकले नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिइएको प्रवक्ता किरण राईले जानकारी दिए।
यही १९ भदौ देखि हुने साफ च्याम्पियनसीप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षण गराउनुपर्ने भएकाले महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको उनले जानकारी दिए ।
पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आएका कोजीलाई अध्यागमन विभागले केही समयअघि २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो । अठारौँ एशियन गेम्समा सहभागी हुन इण्डोनेसिया गएका उनी त्यहीँबाटै जापान गएका छन्।
साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले १९ भदौमा साफको शुरुआत पाकिस्तानविरुद्ध खेलेर गर्नेछ। नेपालले दोस्रो खेल भुटानसँग २१ भदौमा र तेस्रो खेल बङ्गलादेशसँग २३ भदौमा खेल्नेछ। समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन्।
– रासस