हेटौंडा: ग्यास सिलिन्डर विस्फोट हुँदा ७० घाइते
रासस
आज करिब २ः३० बजे हेटौँडा उपमहानगरपालिका–५ मा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भई ७० जना घाइते भएका छन् ।
हेटौंडाको जिल्ला नापी कार्यालय रहेको भवनमुनि होटेलमा रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा कार्यालयको कर्मचारी र अन्यसहित ७० जना घाइते भएका हुन् ।
घाइतेमध्ये २५ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र एक जना गम्भीर घाइतेलाई चितवनस्थित भरतपुर अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
त्यस्तै अन्यको हेटौंडाका चुरेहिल अस्पताल र हातजोर्नी अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नापी कार्यालयका प्रमुख अजयकुमार रावतसहित १० जना कर्मचारीलाई चोटपटक लागेको छ ।
आगो नियन्त्रण गर्ने प्रयास भइरहेको भएपनि के कति क्षति भएको छ भन्ने विवरण आउन बाँकी रहेको मकवानपुर जिल्ला प्रशासन कार्यालयका कामु प्रजिअ हरिप्रसाद पन्तले जानकारी दिए ।