समाचारसोमवार, भाद्र ४, २०७५

पूर्व राजदूत केशवराज झा हत्या प्रकरणः को हुन् झा ?

रामेश्वर बोहरा

४ भदौमा हत्या गरिएका काठमाडौंका रैथाने तिरहुतिया, पूर्वराजदूत झा बेग्लै उचाइ हासिल गरेका कुटनीतिज्ञ थिए ।

फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झा ४ भदौ बिहान राजधानीको बबरमहलस्थित आफ्नै निवासमा मृत भेटिए । ३ भदौ साँझ खाना खाएर सुतेका उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मुलुकको परराष्ट्र सेवामा लामो समय काम गरेर बेग्लै छवि बनाएका ८० वर्षीय झाको हत्या कसले र किन गर्‍यो भन्नेबारे यो समाचार लेख्दासम्म प्रहरीसमेत अनभिज्ञ छ ।

काठमाडौंको नरदेवीमा सगोल परिवारमा बस्दै आएका झा पछि बबरमहल सरेका थिए । बबरमहलस्थित निवासमा उनीसँग श्रीमती ज्ञानु झा र सहयोगी सानु तामाङ बस्थे । तर, उनको हत्या हुँदा श्रीमती र सहयोगी कसैले थाहा पाएनन् ।

पूर्वराजदूत झाका एक छोरा र एक छोरी छन् । कलकत्ताबाट एमबीबीएस उतीर्ण गरेका छोरा डा. किरणराज झाले त्यसपछि आयरल्याण्डमा पढेका थिए । अहिले उनी आयरल्याण्डमै बस्छन् । छोरी डा. राजश्री झा स्त्री रोग विशेषज्ञ हुन् । अहिले उनी संयुक्त राष्ट्रसंघ अन्तर्गत इस्ट टिमोरमा कार्यरत छिन् ।

बयोवृद्ध कुटनीतिज्ञ झाको हत्याको भित्री पाटो खुल्न बाँकी रहे पनि देशले अनुभवी कुटनीतिज्ञ गुमाएको छ ।

क्षमतावान कुटनीतिज्ञ
सयौं वर्ष पहिलेदेखि काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका मैथिली (तिरहुतिया) परिवारका हुन्, पूर्वराजदूत झा ।

करिब ७०० वर्षअघि सिम्रौनगढको पतनसँगै काठमाडौं खाल्डोमा पसेका तिरहुतिया (मैथिल) हरूको उपत्यकामा यति लामो सहवासको परिणाम उनीहरुको भेषभुषा, रहन–सहन र लवज सबै काठमाडौंका रैथाने जस्तै बनेको छ । झा पनि यसमा अपवाद थिएनन् । पूर्वराजदूत झाको बोलीचाली, भेषभुषामा सम्पूर्ण रुपमा काठमाडौंको रैथानेपन थियो ।

तिरहुतिया ब्राह्मणहरूले काठमाडौं उपत्यका र समग्रमा मुलुकको धार्मिक, शैक्षिक, सांस्कृतिक क्षेत्रमा ठूलो योगदान गरेका छन् । तिनैमध्येका एक उदाहरण हुन्, स्व. झा ।

उनी २४ मार्च १९९३ देखि ३१ डिसेम्बर १९९७ सम्म फ्रान्सस्थित नेपाली राजदूत थिए । ३० वर्षसम्म मुलुकको परराष्ट्र सेवामा कार्यरत रहँदा उनले प्राप्त गरेको उच्चतम मुकाम पनि त्यही थियो ।

राजदूत बनेपछि उनी सहसचिबकै रुपमा परराष्ट्र सेवाबाट निवृत्त भए । तर, औपचारिक परिचय पूर्वराजदूतको मात्र भए पनि कुटनीतिक वृत्तमा झाले आफ्नो बेग्लै उचाइ बनाएका थिए ।

परराष्ट्र मन्त्रालयका पूर्व शिष्टाचार महापाल गोपालबहादुर थापा भन्छन्, “परराष्ट्र सेवामा उहाँ साँच्चिकै क्षमतावान कुटनीतिज्ञ हुनु हुन्थ्यो ।”
नेपालको राजदूतका रुपमा पेरिस जानुभन्दा अघि झा परराष्ट्र मन्त्रालयको शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) थिए । शिष्टाचार महापालका रुपमा उनको सक्रियता र बहन गरेको भूमिकालाई परराष्ट्र मन्त्रालयमा अहिले पनि स्मरण गरिन्छ ।

राजदूत बन्नु अघि झा अमेरिका र जर्मनीस्थित नेपाली नियोगमा पनि कार्यरत थिए ।

पेरिसमा राजूदत रहँदा झाकै पहलमा नेपाल युनेस्कोको बोर्ड सदस्यमा निर्वाचित भएको थियो ।

“आज विश्वशक्ति फ्रान्ससँग हाम्रो सम्बन्ध ओझेलमा परेको छ, नेपाल फ्रान्सको चासोमा पर्न पनि छाडिसकेको छ, नेपालमा रहेको फ्रान्सेली राजदूतावास त बन्द नै भो”, पूर्व परराष्ट्र सचिब मदन भट्टराई भन्छन्, “तर, उहाँले विश्व शक्ति फ्रान्ससँगको सम्बन्ध अघि बढाउन निकै सक्रिय भूमिका खेल्नु भो । त्यसको नतीजा त्यसबेला नेपालबाट फ्रान्समा भएका उच्चस्तरीय भ्रमणहरुले देखाइसकेका छन् ।”

हुनपनि, युरोपेली मुलुकहरुमा राष्ट्र प्रमुखको भ्रमण गराउन निकै कठिन रहेका बेला झा फ्रान्समा राजदूत रहँदा तत्कालीन राजा वीरेन्द्रले फ्रान्सको राजकीय भ्रमण गरे, सन् १९९४ मा ।

सन् १९९५ मा तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माधवकुमार नेपालले र सोही वर्ष प्रधानमन्त्री मनमोहन अधिकारीले पनि डेनमार्कबाट फर्कने क्रममा फ्रान्सको औपचारिक भ्रमण गरेका थिए ।

उनले अघि बढाएको द्विपक्षीय सम्बन्धकै निरन्तरतास्वरुप सन् २००१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि फ्रान्सको भ्रमण गरेका थिए ।

परराष्ट्र मन्त्रालयमा रहँदा यूरोप र अमेरिका डेस्क हेरेका झ अमेरिका तथा युरोपेली मुलुकका कुटनीतिज्ञमाझ चर्चित थिए ।

तर, निजामती सेवाको ३० बर्षे सेवा अवधिको प्रावधानका कारण उनी परराष्ट्र सचिब बन्न पाएनन् ।

त्यसबेला निजामती सेवामा अवकाशका लागि तीस बर्षे सेवा अवधि र ५८ बर्षे उमेरहद दुवै प्रावधान थिए । पछि गएर ३० वर्षे सेवा अवधिको प्रावधान खारेज भयो र उमेरहद मात्र कायम रह्यो ।

“तीस वर्षे सेवा अवधिले उहाँलाई चाँडै अवकाशमा पु¥यायो”, पूर्व परराष्ट्रसचिब भट्टराई भन्छन्, “पछि गएर ३० बर्षे सेवा अवधिको प्रावधान पनि खारेज भयो । त्यसबेला सेवा अवधिका कारण अनिवार्य अवकाश हुनुनपरेको भए उहाँ परराष्ट्र सचिबका प्रबल दाबेदार हुनु हुन्थ्यो ।”

अवकाशपछि झाले लामो समयदेखि पूर्व राजदूतहरुको संगठनको नेतृत्व गर्दै आएका थिए । गत वर्ष मात्र उनले नेतृत्व हस्तान्तरण गरेका थिए ।

कुटनीतिज्ञहरु सामान्यतया जनसम्पर्कबाट टाढै रहन खोज्छन् । सञ्चार माध्यमसँग नखुल्ने र धेरै कुरामा बोल्न नचाहने उनीहरुको स्वभाव हुन्छ । तर, झा यसमा अपवाद थिए । उनी जोकोहीलाई चिन्थे, उनलाई पनि जोकोहीले चिन्थे । सञ्चारजगतसँग उनको सुमधुर सम्बन्ध थियो ।

“देशको हितमा कुटनीतिलाई प्रयोग गर्ने उहाँको बेग्लै खुबी थियो”, पूर्व परराष्ट्रसचिब भट्टराई भन्छन्, “कुटनीतिमा यति लामो समय काम गरेको र यत्तिको सक्रिय मान्छे पाउन गाह्रो छ ।”

 

प्रतिकृया दिनुहोस