राउटेलाई मदिरा बिक्री गर्न नपाइने, राउटे बस्तीमा जान गाउँपालिकाको स्वीकृति अनिवार्य
दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई मदिरा बिक्री गर्न नपाइने निर्णय गरेको छ ।
गाउँपालिकाले लोपोन्मुख राउटे समुदायले मदिराको अत्याधिक प्रयोग गर्न थालेको भन्दै नियन्त्रणका लागि उक्त निर्णय गरेको हो ।
राउटेलाई मदिरा बिक्री गरेको भेटिए पहिलोपटक दुई हजार र दोस्रो पटक सोही व्यापारिले बिक्री गरेको पाए दोब्बर जरिवाना गर्ने गाउँपालिकाले कार्यवधि पास गरेको छ ।
गाउँपालिकाले व्यापारीहरुमा रोउटे समुदायलाई कुनै पनि प्रकारको मदिरा बिक्री नगर्न आग्रह समेत गरेको छ ।
राउटे समुदायलाई आफ्नै घरमा मदिरा उत्पादन गर्न र त्यसको उपभोग गर्न भने छुट दिइएको गाउँपालिकाका नायब सुब्बा कर्ण थापाले जानकारी दिए ।
त्यस्तै, गाउँपालिकाले कुनै पनि संघसंस्था राउटे बस्तीमा जानुपूर्व अनुमति लिनैपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
राउटेहरुलाई सहयोग गर्ने नाममा भएका विकृति अन्त्य र राउटेको संस्कृति संरक्षणका लागि एकद्धार नीति अपनाइएको गाउँपालिका अध्यक्ष खेम वलीले जानकारी दिए ।
लक्ष्मी भण्डारी, सुर्खेत