विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले विश्वकर्मालाई बाटो म्याद बाहेक पत्र पाएको २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन गृह मन्त्रालयलाई आदेश दिएको हो ।
३ भदौमा वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चले विश्वकर्मालाई कुनै कानूनी कारबाही चलाएको भए सोको सक्कल फाइलसहित उपस्थित गराउन भनेको छ ।
चन्दा असुली गरेको आरोपमा २२ साउनमा प्रकाउ परेका विश्वकर्मालाई १ भदौमा सर्वोच्चले थुनामुक्त गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका थिए ।
विश्वकर्माका छोरा नरेन्द्रबहादुर विश्वकर्माले दायर गरको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै १ भदौमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको इजलासले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
तर, उनलाईलाई काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेमा क्रसर उद्योगमा आगजनी गरि क्षति पु¥याएको आरोपमा पुनः पक्राउ गरेको थियो ।
३ भदौमै काभ्रे जिल्ला अदालतले विश्वकर्मालाई तीनदिन हिरासतमा राख्दै अनुसन्धान गर्ने अनुमति दिएको थियो ।