फ्याक्टस र सेजनबीच स्व.सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप सम्झौता
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्चबीच ‘स्व. सञ्जजय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीप’ सम्झौता भएको छ ।
आज काठमाडौंमा भएको कार्यक्रमकाबीच सेजन अध्यक्ष पुष्पराज आचार्य र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्चका महाप्रबन्धक मनिष झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवद्र्धन गर्न सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौता गरिएको जनाइएको छ ।
फेलोसिपका लागि शुरुआतमा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ, भने प्रत्येक वर्ष फेलोसिप रकम १० प्रतिशत वृद्धि गरिने सम्झौतामा उल्लेख गरिएको छ ।
महाप्रबन्धक झाले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने गरेको चासोलाई कदर गर्दै फेलोसिप दिन शुरु गरिएको बताए । “तथ्यमा आधारित पत्रकारितालाई प्रवद्र्धन गर्न हरेक वर्ष सेजन सदस्यमध्ये एक जनालाई सेजन स्थापना दिवसको अवसर पारेर दिइने छ,” झाले भने ।
फेलोसिप छनोटका लागि सेजनका पूर्व अध्यक्ष, फ्याक्टसका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।