व्यक्तित्वसोमवार, भाद्र ४, २०७५

भरतशमशेर राणाः ‘हन्ड्रेड पर्सेन्ट’ विद्रोही

शेखर खरेल

शासक परिवारमा जन्मिएका भरतशमशेर कुलीनतन्त्र र शासक विरुद्ध सधैं जाइलागे । धर्मनिन्दक उनी जीवनका अन्तिम दिनहरूमा सन्तुष्ट देखिन्थे ।

भरतशमशेर राणा ।

३० साउन, झरीले रुझेको बिहान । आफ्ना दिवंगत जेठा दाजु भरतशमशेर राणालाई स्मरण गरिरहेका थिए उनका कान्छा भाइ सागरशमशेर । भारतको कोलकातामा २६ साउन बिहान अस्ताएका भरतबारे कुरा गरिरहँदा अक्सफोर्ड युनिभर्सिटीका पहिलो नेपाली ग्य्राजुयट सागर अंग्रेज कवि सामुयल टेलर कलरिट्जको ‘दि राइम अफ एन्सियन्ट मरिनर’ का नाविक झैं प्रतीत हुन्थे । भरतशमशेरसँगै उनले आफ्ना अन्य तीन दिवंगत दाजुहरू; जगदीश, आदित्य र जयप्रकाशका किस्सा पनि सुनाइरहे ।

गद्दीनसीन श्री ३ महाराज चन्द्रशमशेरका पनाति भरतशमशेरले ९० वर्षअघि सिंहदरबारमा पहिलो पटक आँखा खोल्दा राजप्रासाद उत्सवमय बनेको थियो । चन्द्रशमशेरका नाति, बबरशमशेरका छोरा मृगेन्द्रशमशेरकी पहिलो छोरीपछि जन्मिएका थिए भरत ।

शिक्षा विभागको डाइरेक्टर समेत भएका मेधावी मृगेन्द्रका दुई छोराहरू भरत र जगदीश सिंहदरबारमा जन्मेका थिए भने बाँकी तीन छोरा आदित्य, जयप्रकाश र सागरको जन्म बबरशमशेरको दरबार बबरमहलमा भएको थियो ।

भरत जस्तै पहिले गोर्खा परिषद् र त्यसपछि नेपाली कांग्रेसको राजनीति गरेका यशस्वी साहित्यकार जगदीशको पोहोर देहावसान भयो । अवकाशप्राप्त प्रधान सेनापति गौरवशमशेरका पिता आदित्य नेपाली सेनाको उच्च तहसम्म पुगेका थिए । पाँच भाइहरूमध्येका जयप्रकाश भने अलि ‘लो प्रोफाइल’ मै रहे ।

आजन्म विद्रोही भरतशमशेरको निद्राकै अवस्थामा भएको शान्त मृत्यु आफैंमा एउटा विपर्यास (प्याराडक्स) थियो । हुन त धेरैका निम्ति भरत आफैंमा विपर्यास हुन् । शासक परिवारमा जन्मेका उनी कुलीनतन्त्र र शासक विरुद्ध सधैं जाइलागे । हिन्दू कुलमा जन्मेका भरत धर्मनिन्दक नै थिए । बाल्यकालदेखि उनमा गडेको धर्मप्रतिको वैरभाव मृत्युपर्यन्त ‘हन्ड्रेड पर्सेन्ट’ थियो । अभिजात्य औपचारिकता उनलाई बिझाउँथ्यो ।

भरतले बाल्यकाल विताएको बबरमहलस्थित भीमसेनको ढुङ्गे मूर्तिमा राणा खलकका सबै अक्षता–पाती चढाउँथे । तर, भरत भने भीमसेनलाई धनुकाण प्रहार गर्दै लल्कार्थे । सागरशमशेर सम्झन्छन्, “तँ भीमसेन होस् भने म पनि अर्जुन हुँ भन्दै भीमसेन मानिएको ठूलो ढुंगामा धनुकाण नै हान्ने ।”

हुन त मृगेन्द्रशमशेरका लगभग सबै छोराहरू अंग्रेजीमा भनिने ‘नन्–कन्फर्मिष्ट’ अर्थात् परम्पराभञ्जक हुन् । तर, भरत आफ्ना चार भाइहरू भन्दा उमेरले मात्र नभएर विद्रोहले पनि जेठा थिए । ईश्वरनिन्दक उनले परिवारलाई आफ्नो काजकिरिया नगर्न र शव अस्पताललाई हस्तान्तरण गर्न अह्राएका थिए ।

‘के ईश्वर मान्नेहरू सबै मूर्ख हुन् त ?’ ६ वर्षअघि असारको एक साँझ मैले भरतशमशेरलाई उनको कोलकाता बालीगञ्जस्थित निवासमा भेट्दा सोधेको थिएँ । “मूख्र्याइँ त होइन, त्यो अज्ञानता हो ।” उनले हाजिरीजवाफ शैलीमा भने, “अज्ञानताको अर्को नाम नै भगवान हो । हेर्नुस् चन्द्रमामा नगएसम्म त्यो भगवान थियो । मान्छेले टेकेपछि केही रहेन ।”

त्यसबेला भएको लामो कुराकानीमा मैले उनको जीवनका विपर्यास कोट्याएको थिएँ । बीपी कोइरालालाई भौतिक रूपमा निमिट्यान्न पार्न खोज्ने मान्छे, कसरी बीपी अनुयायी ? आफूले सुनेको कुराबारे जान्न चाहन्थें म ।

उनी चोरी औंला तेस्र्याउँदै कड्किए, “यो कुरा ‘हन्ड्रेड पर्सेन्ट’ झूट हो ।” शायद, ‘हन्ड्रेड पर्सेन्ट’ उनको थेगो थियो । “मान्छेहरूले त्यसै इतिहास लेखे । त्यो त्रिपुरेश्वर काण्ड भएको बिहान मलाई पक्राउ गरेर पुलिस अड्डामा राखिएको थियो । दिउँसो मलाई भेट्न गोर्खा दलका मान्छेहरू आए । धेरैलाई कांग्रेससँग रिस रहेछ ।

हाम्रो नेतालाई पक्रिने भनेर मलाई हिरासत तोडेर निकाले र कांग्रेस विरुद्ध ‘मूर्दावाद’ को नारा लगाए ।” उनी सुनाउँदै थिए, “मलाई काँधमा उचालेका थिए, कता लग्दैछन् भन्नेसम्म थाहा थिएन । बीपीलाई मार्ने मेरो कुनै ‘इन्टेन्सन’ थिएन । त्यस घटनापछि भने मलाई जेलमा नेल ठोकेर राखे । पछि बीपी आफैं भेट्न आए । बीपी गृहमन्त्रीबाट हट्नु अगावै मलाई छाडियो । यदि मैले बीपीलाई मार्न खोजेको भए किन छाडिन्थ्यो ?”

२०१५ सालको पहिलो संसदीय निर्वाचनमा धादिङबाट निर्वाचित भरत प्रमुख प्रतिपक्ष गोर्खा परिषदको संसदीय दलको नेता भए । “उहाँ भिड्ने स्वभावको मान्छे, ज्यादै निडर” सागर सम्झन्छन्, “घोडा चढेर चुनाव प्रचारमा हिंड्नुहुन्थ्यो ।

उता कांग्रेसीहरूले ढुङ्गा प्रहार गरिरहेका हुन्थे । दाजु कांग्रेसीले हानेका ढुङ्गा क्रिकेटका फिल्डरले झैं च्याप्प समातेर उतै प्रहार गर्ने । उहाँको जुझारूपन गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला) सँग ठ्याक्कै मिल्ने । हूलमूलबाट भाग्ने होइन, बरू भुमरीभित्रै पस्न कस्सिने ।”

२०१५ सालको निर्वाचन, बीपी र भरत दुवैका निम्ति ‘टर्निङ प्वोइन्ट’ थियो । “नेपालमा संसदीय प्रणालीले आफ्नो बाटो लिंदैथियो । बीपी प्रधानमन्त्री थिए, म विपक्षी दलको नेता” भरतशमशेरले भनेका थिए, “मैले त्यो बेला दिल्ली आएर संसदीय व्यवस्था कसरी चल्दोरहेछ भनेर नियालें । प्रशस्तै पुस्तकहरू पढें ।”

संसदीय अभ्यासकै दौरान बीपी र भरतबीचको अविश्वास हट्दैथियो । बीपी सार्वजनिक कार्यक्रमहरूमा विपक्षी दलका नेताको उपस्थिति खोज्थे, संसदीय मामिलाहरूमा विपक्षी दलसँग सल्लाह लिन्थे । दुईतिहाइको उन्मादमा प्रमुख प्रतिपक्षीको अस्तित्व नदेख्ने र ‘हरूवा’ भन्दै खिसिटिउरी गर्ने काम बीपी–भरत सम्बन्धमा कहिल्यै भएन ।

“बीपी सबैलाई मुग्ध पार्ने अनि कुनै पनि मुद्दामा तर्कपूर्ण कुरा गर्ने” सागर भन्छन्, “यसै कारण दाइ बीपीसँग नजिकिएको हुनुपर्छ ।” हुन पनि केही ईष्र्या र मनोमालिन्यमा राजाको उक्साहट थपिएपछि कांग्रेसभित्रकै कतिपय सांसदहरूले बीपीलाई अप्ठेरो पार्न खोजिरहेका थिए ।

त्यसबेला संसदीय दलको बैठकमै बीपीले “तपाईंहरू मलाई अप्ठेरोमा पार्नुहुन्छ भने म पनि भरतलाई लिएर सरकार बनाउँछु” भनेको इतिहासकार डा. राजेश गौतमले नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस पुस्तकमा उल्लेख गरेका छन् ।

यद्यपि सरकार बनाउन बीपीलाई भरतशमशेरको समर्थन चाहिने अवस्था नै आएन । त्यसअघि नै राजा महेन्द्रले ‘कु’ गरे । बीपी अपदस्थ भएपछि राजालाई रिझाएर भरतले त्यो स्थान लिन पनि सक्दथे । तर, उनी प्रजातन्त्रकै पक्षमा उभिए । बीपी गिरफ्तार भएकै दिन, १ पुस २०१७ मा गिरफ्तार भएका उनी राजालाई ‘सहयोग’ गर्ने शर्तमा १६ चैतमा रिहा गरिए ।

इतिहासकार गौतमका अनुसार राजा महेन्द्र चीन र मंगोलियाको भ्रमणमा गएको बेला, ३ असोज २०१८ मा भरत ‘प्रजातन्त्र र संसदीय व्यवस्थाको पुनस्र्थापना तथा राजनीतिक अधिकारका लागि राजाका विरुद्ध संघर्ष’ गर्ने उद्देश्य लिएर भारततर्फ गए । र, १४ पुस २०१८ मा प्रवासबाटै गोर्खा परिषद् नेपाली कांग्रेसमा विलय भएको घोषणा गरे ।

प्रवासमा रहँदा नेपाली कांग्रेसको सशस्त्र संघर्षलाई नैतिक र आर्थिक रूपले सघाएका भरतशमशेर २०३६ को जनमत संग्रह घोषणापछि नेपाल फर्किए । त्यसयता काठमाडौं र कोलकाता ओहोरदोहोर गरिरहने उनी २०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापनापछि राजनीतिमा केही सक्रिय देखिएका थिए ।

तर त्यसको एकाध वर्षमै सधैंका लागि कोलकाता फर्किए । नेपाली कांग्रेससँग एक्कासी नाता किन तोडेछन् त उनले ? कोलकाता भेटमा उनी कड्किएका थिए, “के त्यो (कांग्रेस) केटी हो र मैले त्यहीसँग बिहे गरेर बस्नुपर्ने ?” अनि बिस्तारै खुल्दै गए, “मलाई यहीं ठीक छ । नेपालमा ‘न्यारो माइन्डेड’ मानिसहरू ज्यादा छन् । तिनीहरूले घेरिराख्छन् । यहाँ क्वालिफाइड मान्छेहरू धेरै छन् ।”

भरतले इङ्गित गरेका कोलकाताका क्वालिफाइड मान्छेहरूमध्येका एक थिए, ओस्कार विजेता चलचित्र निर्देशक सत्यजित रे । कोलकाताको एकान्तवासमा उनले चलचित्र निर्माण, पटकथा लेखन तथा सम्पादनमा समेत आफूलाई व्यस्त राखे । उनले रेका मात्रै चार चलचित्रमा लगानी गरे । जसमध्ये सन् १९७१ मा प्रदर्शित ‘सीमाबद्ध’ ले राष्ट्रिय पुरस्कार नै हात पा¥यो । भरत भन्थे, “ग्ल्यामर आफ्टर पोलिटिक्स इज फिल्म ।”

यथार्थमा राजनीतिपछि उनको जीवनको ‘ग्ल्यामर’ सिनेमा मात्र भएन । अनगिन्ती सुन्दरीहरूले भरतको जीवनमा रङ भरिदिए । पहिलो पत्नी तर्फबाट एक छोरा र दुई छोरी भएपछि उनले निकटकै नातेदारकी श्रीमतीलाई ‘आफ्नी’ बनाएर कोलकाता लगे । दोस्री पत्नी तर्फबाट भरतका दुई छोराहरू छन् । यौनका मामिलामा उदार उनी भन्थे, “सेक्सको कुरामा किन नाक खुम्च्याउनुपर्ने ! यो एकदमै चाहिने कुरा हो । सेक्स चाहिएको छ भने गरे हुन्छ, किन यो वा त्यो सीमाहरू तोक्नु ?”

जीवनका अन्तिम दिनहरूमा भरत सन्तुष्ट देखिन्थे । देश गणतान्त्रिक र धर्मनिरपेक्ष भएकोमा उनी खुशी थिए । मुटुको बाइपास र घाँटीको क्यान्सरको शल्यक्रिया पछि पनि उनको जोशमा कमी आएको थिएन । पात्रोको गिन्तीले ९० वसन्त विताएका भरतशमशेरले आफ्नो जीवन ‘हन्ड्रेड पर्सेन्ट’ नै बाँचे । ‘हन्ड्रेड पर्सेन्ट’ विद्रोही रहे ।

प्रतिकृया दिनुहोस