टिप्पणीसोमवार, भाद्र ४, २०७५

इथियोपियाली समृद्धिः विकासको महत्वाकांक्षी उडान

विज्ञानबाबु रेग्मी

कुनै समय अभाव र भोकमरीको विम्ब बनेको इथियोपियाले ऊर्जा र सडक विकासमा प्राथमिकता दिंदै अर्थतन्त्रमा उदाहरणीय फड्को मारेको छ ।

सन् २०१५ मा अफ्रिकी मुलुक इथियोपियाको राजधानी अदिस अबाबामा सम्बोधन गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भनेका थिए, “इथियोपिया भन्नेबित्तिकै विश्वका धेरै मानिसले अझै पनि खडेरी र भोकमरी सम्झन्छन् । यहाँको प्रगतिको कथा उनीहरूमाझ पुग्नै बाँकी छ ।”

हुन पनि लामो समय युद्ध, अस्थिरता र विपन्नताबाट गुज्रेको सब–सहारान मुलुक इथियोपिया धेरैका लागि अभाव र भोकमरीको विम्ब बनेको पाइन्छ । तर, यो भूपरिवेष्ठित मुलुकले गत १५ वर्षमा तय गरेको विकासको बाटोले त्यो विम्बलाई खारेज गरिदिएको छ । जुन नेपाल जस्तो विकासोन्मुख अर्थतन्त्र भएको मुलुकका लागि अनुकरणीय हो ।

आर्थिक फड्को
सन् २००३ को आर्थिक मन्दीमा इथियोपियाको आर्थिक वृद्धिदर थलिएर माइनस २.१५ मा झरेको थियो । तर, अर्को वर्षमै ११.७५ प्रतिशतको उच्च आर्थिक वृद्धिदर हासिल भयो । यो वृद्धिदर अपवाद बनेन, विकासको नयाँ अध्याय बन्यो । सन् २००४ यता सात वर्षमैै दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरेपछि इथियोपिया विश्व खबरमा आउन थाल्यो ।

विश्व ब्यांकको तथ्यांक अनुसार, सन् २००४ देखि सन् २०१४ सम्म कुल गार्हस्थ्य उत्पादनमा इथियोपियाको आर्थिक वृद्धिदर औसतमा १०.९ प्रतिशत थियो । अहिले पनि इथियोपिया तीव्र गतिमा आर्थिक वृद्धि भइरहेका मुलुकहरूको सूचीमा पर्छ । १५ वर्ष (सन् २००३–२०१८) को अवधिमा इथियोपियाको कुल गार्हस्थ्य उत्पादन रु.८.६ खर्बबाट रु.८६ खर्ब पुगेको छ, सन् २०२० मा रु.१०० खर्ब नाघ्ने आकलन गरिएको छ ।

देसेलेग्नकाे कार्यकालमा निर्माण शुरु भएको विश्वको सातौं ठूलो जलविद्युत् आयोजना ‘इथियोपियन रेनासाँ ड्याम’ । तस्वीरः Bawza newspaper

यसै कालखण्डमा युगाण्डा, केन्या, तान्जानिया लगायतका अन्य सब–सहारान मुलुक पनि आर्थिक विकासको बाटो निर्माणतिर अग्रसर भए । नेपालको कुल गार्हस्थ्य उत्पादन पनि सन् २००३ देखि सन् २०१८ सम्म चौगुणाले बढेर रु.६.३ खर्बबाट रु.२५ खर्ब पुगेको छ । यद्यपि यो उपलब्धि इथियोपियासँग तुलना गर्न लायक छैन ।

महत्वाकांक्षी पूर्वाधार विकास
इथियोपियाको पूर्वाधार विकासमा पूर्वप्रधानमन्त्री हेइलेमरिअम देसलेग्नको योगदान विशेष छ । उनले आफ्नो कार्यकालमा विकासको चिनियाँ मोडलबाट प्रभावित भएर पूर्वाधार चुस्त पार्ने सरकारी योजना अगाडि बढाए । सन् २०११ अप्रिलदेखि शुरू भएको नाइल नदीमाथिको ‘द ग्राण्ड इथियोपियन रेनासाँ ड्याम’ सर्वाधिक चर्चामा आएको विद्युत् परियोजना हो । ६.५ गिगावाट क्षमताको उक्त आयोजना अफ्रिकाको सबैभन्दा ठूलो र विश्वकै सातौं ठूलो जलविद्युत् आयोजना बन्नेछ ।

कुल १,८७४ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस ड्याममा पानी भर्नै १०/१५ वर्ष लाग्ने आकलन गरिएको छ । यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइन मार्फत गाउँगाउँसम्म पुर्‍याउने र त्यसपछि पनि क्षमताले साथ दिएमा इजिप्ट, सुडान र डिजबटीमा निर्यात गर्ने इथियोपियाली सरकारको योजना छ ।

बृहत् क्षेत्रफलमा फैलिएको रिजभ्र्वाएरले मत्स्य उत्पादनको सम्भावना बोकेको छ । प्रारम्भिक सरकारी अध्ययनले वार्षिक करीब सात हजार टन माछा निर्यात गर्न सकिने अनुमान गरेको छ । परियोजनाको अद्भुत भौतिक निर्माण अवलोकन गर्न आउने पर्यटकले पनि अर्थतन्त्रलाई सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

कुल लागत रु.४.८ खर्ब रहेको उक्त योजनामा रु.१.८ खर्ब चीनले उपकरण मार्फत सहयोग गर्नेछ भने बाँकी तीन खर्ब इथियोपियाली सरकारले नै लगानी गर्नेछ । यसले नेपाल जस्तो अल्पविकसित मुलुकलाई विकासमा महत्वाकांक्षी सरकारी लगानीको सशक्त सन्देश दिएको छ ।

ऊर्जासँगै यातायातमा पनि इथियोपियाले द्रुत विकास गर्दैछ । सन् १९९० मा जम्मा १९ हजार किलोमिटर सडक भएको देशमा सन् २०१५ सम्म आइपुग्दा एक लाख किलोमिटर सडक निर्माण भइसकेको थियो । सडक निर्माणलाई थप तीव्रता दिने उद्देश्यले ‘भिजन २०२०’ को नारा ल्याएर काम भइरहेको छ, जस अन्तर्गत सन् २०२० सम्म दुई लाख किलोमिटर सडक सञ्जाल बनाउने योजना छ ।

हाल संघीय सरकारको पूर्वाधार विकास बजेटको एक चौथाइ यातायात क्षेत्रमा जाने गरेको छ भने यस क्षेत्रको बजेट वार्षिक २० प्रतिशतले बढ्दै आएको छ । सडक निर्माणको काम खुला टेन्डर आह्वान मार्फत अन्तर्राष्ट्रिय बिल्डर्सलाई दिने गरिन्छ । राजधानी अदिस अबाबा सहितका शहरहरूमा अन्तर्राष्ट्रिय मापदण्डको सडक निर्माण गर्ने, डिजबटी जोड्ने विद्युतीय रेल सञ्चालन गर्ने र दुई हजार किलोमिटरको देशव्यापी कोरिडोर तयार गर्ने योजनामा नयाँ नेतृत्व जुटिरहेको छ ।

इथियोपियाले ऊर्जा र सडक विकासलाई दिएको प्राथमिकताले उसले समृद्धिका आधारलाई राम्रोसँग बुझेको देखिन्छ । बढ्दो जनसंख्या भएको उत्तर अफ्रिकी भूभागमा जनतालाई बजार र उत्पादनसँग नजोडी दिगो विकास सम्भव छैन भन्ने यथार्थ इथियोपियाले आत्मसात् गरेको छ ।

उत्पादन केन्द्रको लक्ष्य
देशमा उत्पादनको वातावण नभए अर्थतन्त्र आयातमुखी बन्छ । सन् १९८० को दशकमा भएको इरिट्रियासँगको युद्ध र सन् ९० को दशकमा भएको मजदूर आन्दोलनका कारण इथियोपियाको उत्पादन क्षेत्र नराम्रोसँग थिलथिलो भएको थियो । पछिल्लो समय यो पुनर्जीवित हुँदैछ ।

पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिएका इथियोपियाका पूर्व प्रधानमन्त्री हेइलेमरियन देसेलेग्न ।

इथियोपियाली सरकारले वैदेशिक लगानी भित्र्याउन औद्योगिक पार्कको अवधारणा सहित सन् २०२५ सम्ममा अफ्रिकाको सबैभन्दा ठूलो उत्पादन केन्द्र बन्ने लक्ष्य लिएको छ । राजधानीबाट करीब ३०० किलोमिटर दक्षिणमा रहेको चर्चित हवस्सा औद्योगिक पार्क अहिले देशको सबैभन्दा ठूलो उत्पादन क्षेत्र हो ।

अधिकतम क्षमतामा उत्पादन हुँदा यस पार्कमा ६० हजार कामदारले रोजगारी पाउने सरकारको ठहर छ । ८ देशका केल्भिन क्लेन, टमी हिल्फिगर लगायत ११ कम्पनीले उक्त पार्कमा आफ्नो उद्योग सञ्चालन गरेका छन् । यस औद्योगिक पार्कमा सन् २००७ यता एक दशकको अवधिमा वैदेशिक लगानी पाँच गुणाले बढेको छ ।

इथियोपियाली सरकार यस्तै १० औद्योगिक पार्क निर्माणमा जुटेको छ । थप वैदेशिक लगानी भित्र्याउने उद्देश्य पूरा गर्न आयकर छूट, बन्दरगाहसम्मको सहज पहुँच, द्रुत भिसा प्रक्रिया, उचित विदेशी मुद्रा खाता, बौद्धिक सम्पत्तिको अधिकार जस्ता आकर्षक र आधारभूत नीतिहरू कार्यान्वयन भएका छन् ।

सन् २०२५ सम्म अर्थतन्त्रमा वार्षिक ११.५ प्रतिशत र उत्पादन क्षेत्रमा २५.५ प्रतिशतको वृद्धिदर कायम गरी व्यापारिक केन्द्र बन्ने लक्ष्य बोकेको इथियोपियालाई गत १५ वर्षको विकासले दिएको आत्मविश्वास हरेक योजनामा प्रष्ट झल्कन्छ ।

वायुसेवाको विकास
ओबामाले सन् २०१५ मा भने झैं इथियोपिया भन्नासाथै धेरैले अझै पनि भोकमरी र खडेरी सम्झन्छन् । तर, जसले इथियोपियाको विकासलाई थोरै भए पनि नियाल्ने अवसर पाएका छन्, उनीहरूले यस देशको ध्वजावाहक विमान सम्झन्छन् ।

इथियोपियाली कार्गो विमानको गुणस्तरीय सेवाबाट धेरै पश्चिमा मुलुक लाभान्वित भएका छन् । सन् १९४६ मा सेवा शुरू गरेको इथियोपियन एअरलाइन्सले सन् २००० यता लोभलाग्दो प्रगति गरेको छ । सन् २००५ मा २६ वटा विमान सञ्चालनमा थिए भने गत महीना भित्रेको बोइङसँगै उक्त संख्या १०० पुगेको छ ।

त्यस्तै, सन् २००५ मा वार्षिक ५० हजार टन सामान बोक्ने कार्गो विमानले सन् २०१७ मा तीन लाख टन सामान ओसारपसार गरेको छ । सन् २०१७ मा ध्वजावाहक विमानले १०५ अन्तर्राष्ट्रिय, २० आन्तरिक र ४४ कार्गो गन्तव्यहरूमा उडान गरेको थियो । यसले गुणात्मक र संख्यात्मक दुवै वृद्धिको संकेत गर्छ ।

वायुसेवाको विकासले पर्यटनलाई पनि टेवा पुर्‍याएको छ । सन् २००४ मा वर्षेनि करीब दुई लाख पर्यटक भित्रने ठाउँमा सन् २०१७ सम्म आइपुग्दा १० लाखभन्दा बढी पर्यटक भित्रने गरेका छन् । इथियोपिया पुग्ने हरेक पर्यटक हाल सरदर सात दिन समय बिताउँछन् भने औसतमा दैनिक १६० डलर खर्च गर्छन् ।

इथियोपियाली जनताको अतिथि स्वागत र सत्कारको दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाले पनि मुक्तकण्ठले प्रशंसा गरेका थिए । इथियोपियाको उदाहरणले पूर्वाधार विकास र पर्यटक आगमनको अन्तरसम्बन्ध पुष्टि गर्छ ।  

त्यसो त प्रतिव्यक्ति आयको हिसाब गर्ने हो भने इथियोपिया अझै पनि अति गरीब राष्ट्रमै पर्छ । यद्यपि विकासको एउटा सूचकलाई लिएर अन्य धेरै हिस्सामा भएका प्रगतिको अवमूल्यन गर्नु न्यायसंगत हुँदैन ।

इथियोपियाली समृद्धिको साझेदार बन्न लालायित विश्वका शक्तिशाली अर्थतन्त्रहरू देख्दा लाग्छ– यस मुलुकले आफ्नो पहिचान बनाउन सफल भएको छ । सन् १९९३ मा इथियोपियाबाट इरिट्रिया छुट्टिएपछि दुई दशकभन्दा बढी तनावग्रस्त बनेको उक्त क्षेत्रले गत महीना भएको द्विपक्षीय शान्ति सम्झौता मार्फत स्थिरताको नयाँ सहकार्य गरेको छ ।

आर्थिक क्षेत्रमा द्रुत विकास र समतामूलक समृद्धिका नयाँ उदाहरणहरू आइरहँदा नेपाललाई परम्परागत विकास नीतिबाट फड्को मारी महत्वाकांक्षी कार्ययोजनाको दिशामा कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रश्न मेरो पुस्तामा आइसकेको छ ।

राजधानीको सडकमा महीनौंसम्म रहिरहने खाल्डाखुल्डी पुरिने आशामा बस्ने आम जनताको अगाडि इथियोपियाको विकास नेपालले अनुसरण गर्न सक्छ भन्नु चुट्किलाको विषय बन्न सक्छ । यद्यपि १५ वर्षमा कुल गार्हस्थ्य उत्पादन रु.८ खर्बबाट रु.८० खर्ब पु¥याउन सफल इथियोपियालाई देख्दा लाग्छ— महत्वाकांक्षी योजना निर्माण, कार्यक्रममा द्रुत र स्थिर व्यापारिक वातावरणको आधारशिला तय गर्ने हो भने एक पुस्तामै नेपाली अर्थतन्त्रको कायापलट गर्न सकिन्छ ।

(लेखमा प्रयोग गरिएका आँकडा विश्व ब्यांकबाट साभार गरिएका हुन् ।)

प्रतिकृया दिनुहोस