टिकेन नेप्सेको वृद्धि, साताको पहिलो दिन दोहोरो अंकको गिरावट
आज, साताको पहिलो दिनको कारोबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ।
गत साता ३० अंकले बढेको नेप्से परिसूचक साताको पहिलो दिन नै १४.०३ अंकले ओरालो लागेर ११९६.२९ अंकमा पुग्यो। घटेको बजार आइतबार दिनभरिमा १६० कम्पनीको ३२ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ।
न्यून रकमको कारोबार हुँदा ३ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको ग्रामीण विकास लघुवित्तीय संस्था धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो।
दोहोरो अंकले नेप्से परिसूचक ओरालो लाग्दा पनि खानीखोला हाईड्रोपावर भने ५.७१ प्रतिशतले बढ्यो। ५.३७ प्रतिशतले मूल्य घट्दा नागबेली लघुबित्त विकास बैंक सबभन्दा बढी घट्ने कम्पनी बन्यो।
बजार खुलेदेखि शेयर बजार ओरालो लाग्दा 'क' वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लाग्यो। घटेको बजारमा कारोबार भएका १० वटै उपसूचक ओरालो लागेका छन्।
आइतबार नन् लाइफ इन्स्योरेन्स १.७२ प्रतिशत, माईक्रो फाइनान्स १.५३ प्रतिशत, विकास बैंक १.४२ प्रतिशत, होटल १.२५ प्रतिशत, बैंकिङ १.१४ प्रतिशत, लाइफ इन्स्योरेन्स १.१२ प्रतिशत, फाइनान्स ०.८९ प्रतिशत, उत्पादनमूलक ०.८२ प्रतिशत, हाईड्रोपावर ०.८ प्रतिशत र अन्य उपसूचक ०.७९ अंकले ओरालो लागेको छ।