पर्वतमा ११ लघु जलविद्युत् आयोजना अलपत्र
पर्वतका विभिन्न स्थानमा लाखौँ रकम लगानी गरेर निर्माण गरिएका लघु जलविद्युत् आयोजना अलपत्र परेका छन् ।
दुई दशकअघि यूएनडिपी, विश्व ब्यांक र नेपाल सरकारको लगानीमा निर्माण भएका ११ आयोजना अहिले पूर्णरूपमा बन्द भएका हुन् ।
तीन वर्ष अघिसम्म तीन वटा मात्र आयोजना सञ्चालनमा भएपनि अहिले केन्द्रीय प्रसारण लाइन विस्तार भएसँगै ती पनि बन्द भएका छन् ।
दुई वर्षयता सामुदायिक विद्युतीकरणमार्फत् स्थानीय तहका सबै वडामा केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ ।
दक्षिण पर्वतको सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, पाङराङको साढे ७ किलोवाट क्षमताको गढीसिद्ध र ११ किलोवाटको बाच्छाखोला, हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, क्याङको १६ किलोवाट क्षमताको घट्टेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बन्द छन् ।
त्यस्तै बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघु जलविद्युत् आयोजना पनि बन्द छन् ।
यस्तै मोदी गाउँपालिका–१ भुकताङ्गलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि गएको पहिरोले पुरिएपछि अलपत्र छ ।
महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र नौ किलोवाट क्षमताको छर्छरेखोला लघु जलविद्युत् आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् ।
स्थानीय तहले पनि अलपत्र लघु जलविद्युत् मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् ।
जिल्लाका ११ लघु जलविद्युत् आयोजनाबाट १५६.५ किलोवाट विद्युत् उत्पादन भएको र त्यसबाट एक हजार ४०३ घरधुरीका नौ हजार बासिन्दा लाभान्वित भएका थिए । रासस