रसुवागढी–काठमाडौं रेल मार्गको लागत रु. २५७ अर्ब
प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग अन्तर्गत नेपाली सीमानाभित्र रसुवागढी–काठमाडौं रेलमार्गको निर्माणमा रु. २ खर्ब ५७ अर्ब खर्च लाग्ने अध्ययनले देखाएको छ ।
७२ दशमलव २५ किमी लामो रेलमार्ग निर्माणका लागि प्रति किमी रु. ३ अर्ब ५५ करोड लागत लाग्ने अध्ययनले देखाएको हो ।
चीनले तयार पारेको रेलमार्ग निर्माणसम्बन्धि प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनले यस्तो देखाएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।
यसअघि रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणका लागि रु. तीन खर्ब लागत लाग्ने अनुमान गरिएको थियो ।
अध्ययन प्रतिवेदनका अनुसार, यो रेलमार्गकाे अधिकांश भाग जमीनमुनी र पुल हुनेछ । रेलमार्गको ९८ दशमलव ५ प्रतिशतमा टनेल र पुल रहने अध्ययनले देखाएको उपाध्यायले बताए ।
त्यस्तै, यो परियोजना सम्पन्न हुन ९ वर्ष लाग्ने आँकलन गरिएको छ । यसको अर्थ, हरेक वर्ष रेलमार्गका लागि रु. २८ अर्ब ५५ करोड खर्च हुनेछ । “यति रकम नेपाल आफैंले जुटाउन सक्छ,” उपाध्यायले भने ।
प्रतिवेदन औपचारिक रुपमा चिनियाँ पक्षले भोलि (सोमबार) नेपाललाई बुझाउने कार्यक्रम छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी नेतृत्वको टोली चीनको सियान पुगेको छ ।
प्रतिवेदनले रेलमार्ग निर्माण सम्भव रहेको तर चुनौतिपूर्ण र जटिल देखाएको छ । जटिल भौगोलिक अवस्थाका कारण रेलमार्ग जटिल भएको प्रतिवेदनले उल्लेख गरेको हो । चीनको सिगात्सेसम्म आइपुगेको रेल सन् २०२० सम्ममा केरुङसम्म बिस्तार हुने अनुमान गरिएको छ ।