ब्लगशनिवार, भाद्र २, २०७५

महेन्द्रले जुराएको ‘नयाँ समाज’

भैरव रिसाल

भइरहेका पत्रिकाले नपुगेर अर्को पत्रिका प्रकाशन गर्न नाम र दाम समेत दिनुको पछाडि महेन्द्रको मनसाय के थियो, थाहा भएन।

राजा महेन्द्रलाई २०१४ सालअघि नेपालबाट प्रकाशन भइरहेका दैनिक पत्रिकाले धीत मरेनछ । र, पत्रकार लक्ष्मणराज पाण्डेसँग भनेछन्, “राम्रो पत्रिका निकाल्नुपर्‍यो, सकिन्छ ?” पाण्डे त्यतिबेला सम्भवतः ‘नेपाल समाचार’ दैनिकमा अनुबन्धित थिए । त्यसअघि उनी ‘समाज’ दैनिकमा थिए ।

पत्रकारको नाताले राजाका सचिवहरूसम्म राम्रो पहुँच राख्थे । सचिवहरू मार्फत राजा महेन्द्रसँग सम्बन्ध बनेको थियो वा राजा मार्फत सचिवहरूसँग ! थाहा भएन । पाण्डे खिचापोखरीका रैथाने गुर्जु खलकका हुन्, उनका बाबु काशीराज पाण्डे आकाशवाणी (दूरसञ्चार) इञ्जिनियर थिए ।

महेन्द्रले नाम जुराए
आफ्ना साथी पशुपतिदेव पाण्डे लगायतसँग सल्लाह गरेर पाण्डेले महेन्द्रलाई भनेछन् “अर्को पत्रिका प्रकाशन गर्न सकिन्छ ।” यसो भनेको केही दिनमै राजाले फेरि लक्ष्मणराजलाई बोलाएछन् र पत्रिकाको नाम ‘नयाँ समाज’ दैनिक राख्ने सल्लाह दिएछन् ।

स्व. राजा महेन्द्र ।

राजाले सिसा–कलमले एउटा कागजको टुक्रामा ‘नयाँ समाज’ लेखेरै दिएका थिए रे ! ‘राजाले पत्रिका चलाउन केही खर्च पनि दिए’ लक्ष्मणजीले भनेको झल्झली सम्झन्छु  म ।

तर त्यसअघि नै काठमाडौंबाट दैनिक ‘समाज’ (२०११ भदौ २४ देखि) प्रकाशन भइरहेको थियो, जसको शुरूको सम्पादक पशुपतिदेव पाण्डे थिए । पछि मणिराज उपाध्याय भए । ‘सही सन्देश’, ‘समय’, ‘नेपाल समाचार’, ‘दैनिक समाचार’, ‘हालखबर’, ‘गोरखापत्र’, ‘भूगोल पार्क’, ‘गोरेटो’, ‘कल्पना’ जस्ता नेपाली भाषामा दैनिक पत्रिकाहरू पनि प्रकाशित भइरहेकै थिए ।

त्यसैबेला राजाले अर्को नयाँ पत्रिका प्रकाशनको प्रस्ताव गरेका हुन् । त्यतिबेला अंग्रेजी, नेपाल (नेवारी), हिन्दी भाषामा पनि दैनिक पत्रिका निस्कन्थे, अपराह्नतिर । ती पत्रिका प्रायः चार पेज, १० बाई १५ आकारका हुन्थे । मूल्य पाँच पैसा थियो ।

त्यो बेलाका पत्रकार
पर्दाभित्र अनेकौं बन्दोबस्तपश्चात् २ असार, २०१४ बाट पशुपतिदेव पाण्डेको सम्पादन र प्रकाशनमा ‘नयाँ समाज’ दैनिक प्रकाशन हुन थाल्यो । त्यतिबेला म ‘हालखबर’ दैनिक पत्रिकामा रिपोर्टर थिएँ । ‘हालखबर’ २० कात्तिक, २०१३ देखि प्रकाशित भइरहेको थियो । ‘नयाँ समाज’ प्रकाशनपछि पत्रकारिता क्षेत्र अलि ठूलो भो ।

गोपालराज राजभण्डारी रिपोर्टर थिए । रिपोर्टिङमा साह्रै थोरै संख्यामा थियौं हामी । अब एक जना रिपोर्टर थपिएकाले अकस्मात् आँट बढ्यो । संख्याको महत्व र उत्कर्ष राजनीतिमा मात्र होइन, जीवनका हरेक मोडमा हुनेरहेछ । त्यतिखेर पत्रिका पनि थोरै साना आकारका । विज्ञापन प्रायः नहुने । त्यतिबेलाको पत्रकारले धेरै काम गर्नुपथ्र्यो ।

अहिले पत्रिका धेरै, पत्रकार धेरै, प्रविधि पनि धेरै, काम भने धेरै वा थोरै कति गर्नुपर्छ थाहा भएन । त्यतिखेर पत्रकारितामा कागज, कलम, हात र दिमाग लगाउनुपथ्र्यो । सिसाका अक्षर, हातैले कम्पोज/डिकम्पोज गर्नुपर्ने ।

यातायातको साधन भनेको खुट्टा नै प्रमुख । खूब भए साइकल । साइकल हुने पत्रकार उच्च कोटिको मानिन्थ्यो । यो अवस्था धेरै समयसम्म कायमै रह्यो । यस्तो भौतिक अवस्थामा राजा महेन्द्रलाई भइरहेका पत्रिकाहरूबाट सन्तुष्टि भएनछ र नयाँ पत्रिका चलाउन मन गरेछन् । पत्रिका एउटा थपियो राम्रै भो ।

गणेशमानको ‘मुड्की’
पत्रपत्रिकाको गति थिएन, गोरखापत्र युगमा । गोरखापत्र ३३ वर्षसम्म अर्थात् १९९१ सालसम्म साप्ताहिक रूपमा प्रकाशित हुन्थ्यो । त्यसपछि अर्धसाप्ताहिक भयो । त्यसको १२ वर्षपछि अर्थात् ८ पुस २००३ देखि सातामा तीन दिन प्रकाशित हुन थाल्यो । प्रजातन्त्र शब्दमा मात्र भए पनि काम लाग्ने रहेछ । उपमाका रूपमा गोरखापत्रलाई लिन सकिन्छ । प्रजातन्त्र स्थापनाको १० वर्षपछि गोरखापत्र दैनिक भो, ७ फागुन २०१७ देखि ।

त्यस कालखण्डमा गैर–सरकारी क्षेत्रका पत्रिकाउपर सरकारको हमेसा वक्रदृष्टि हुने । सरकारलाई किञ्चित् मात्र हाने पनि मेजिष्ट्रेट अफिस क्रूद्ध भइहाल्ने, धरौटी मागिहाल्ने । रु.१५०० धरौटी राख्न पनि धौ–धौ । अनि, पत्रकारलाई पक्राउ गर्नु, थुनिदिनु त मामुली । सत्तालाई नपच्ने समाचार लेखेबापत मणिराज लगायत कैयौं पत्रकार जेल परे, थुनिए ।

१९ मंसीर २०१६ मा नेपाल–भारतबीच भएको गण्डक सम्झाैताको सिलसिलामा तत्कालीन नहरमन्त्री गणेशमान सिंहले सम्पादक मणिराज उपाध्यायतर्फ फर्केर ‘यदि सरकारलाई गलत बाटो देखाइरहनुभएको छ भने तपाईंले पनि भोलि मेरा यिनै मुड्कीको सामना गर्नुपर्नेछ’ भनी मुड्की देखाएको कुरा सम्पादकीय कोलममा लेख्नुभएको छ, उपाध्यायले ।

यस्तो मुड्की, थाना, जेलको सामना गरेर पत्रकारिता गर्नुपर्ने समय थियो, त्यो । तैपनि राजा महेन्द्रले भइरहेका पत्रिकाले नपुगेर अर्को पत्रिका प्रकाशन गर्न नाम र दाम समेत दिएका रे ! के मनसाय थियो उनको, थाहा भएन । मैले सुनेको, महेन्द्रले ‘हालखबर’ दैनिकलाई पनि खर्च भर्ने गर्थे रे !

*सच्याइएकाे । 

प्रतिकृया दिनुहोस