टिप्पणीशनिवार, भाद्र २, २०७५

प्राकृतिक औषधि

हिमालखबर

अरुणा उप्रेती

हाम्रै गाउँघरमा पाइने वनस्पति, बजारमा सहजै उपलब्ध हुने भान्साका सामग्री स्वास्थ्यका लागि निकै उपयोगी छन्, हामीले त्यसलाई महत्व नदिएका हुन सक्छौं।

नेशनल जोग्राफी को ‘प्रकृतिको उत्कृष्ट उपचार’ पत्रिका रु.१५०० मा किनें । महँगोे भए पनि स्वास्थ्य सम्बन्धी विशेष जानकारी समेटिएकाले यो अंक संग्रहणीय रहेछ ।

यसबारे मैले बताएपछि मेरा केही साथीहरूले पनि किन्न खोजेका थिए, तर बिक्री भएर बजारबाट सकिएकाले पाएनन् । यो अंकको पत्रिका यति लोकप्रिय भयो कि नेशनल जोग्राफी ले सन् २०१९ मा पुनः मुद्रण गर्ने भएको छ । 

यो पत्रिका किन्नुको सन्दर्भ पनि विशेष छ । केही महीनाअघि कवि तुलसी दिवसले भन्नुभयो, “नेपालमा लोकवार्ता सम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ, त्यसमा एउटा प्रस्तुति गर ।” लोकवार्ता सम्मेलनमा मैले के प्रस्तुत गर्ने ? उहाँले प्रष्ट्याउनुभयो, “नेपालका विभिन्न ठाउँका भोजन, तिनको पौष्टिक र सांस्कृतिक महत्वबारे प्रस्तुत गर । त्यो पनि लोकवार्ताकै एक अंग हो ।”

गीत–संगीत, नृत्य र लोकसाहित्य मात्रै नभएर परम्परागत मौलिक भोजन, घर, पोशाक, परम्परागत औषधि, जडीबुटी पनि लोकवार्तामा समाहित हुँदोरहेछ । त्यही प्रस्तुतिका लागि सामग्री खोज्ने क्रममा नेशनल जोग्राफी को यो अंक भेटेकी थिएँ ।

यसमा संसारका विभिन्न भागका वनस्पति र तिनको महत्वबारे समेटिएको छ । त्यस्तै, हाम्रै गाउँघरमा पाइने वनस्पति, बजारमा सहजै उपलब्ध हुने भान्साका सामग्रीको वैज्ञानिक उपयोगिताबारे पनि उल्लेख छ ।

अदुवा
अदुवा हामी अधिकांशको भान्सामा कहिल्यै टुट्दैन । हामी जाडोमा अदुवा चियाको स्वाद लिन्छौं, तर अदुवा कहाँबाट आयो, यो शब्दको उत्पत्ति कसरी भयो भन्नेबारे हामीले नसोचेका पनि हुन सक्छौं । नेशनल जोग्राफी का अनुसार एशियामा चार हजार वर्ष अगाडिदेखि प्रयोग गरिएको अदुवा अहिले प्रायः संसारभरि पाइन्छ ।

वाक्वाकी लागेका बेला अदुवा खाँदा फाइदा गर्छ । मैले त गर्भवती महिलालाई जहिले पनि एक टुक्रा अदुवा मुखमा राखिराख्न सल्लाह दिन्छु । लामो यात्रामा जाँदा मैले केही टुक्रा अदुवा साथै लैजान्छु । केही अध्ययनले देखाएको छ, क्यान्सरका बिरामीलाई विकिरणद्वारा उपचार गरेपछि जब खान मन नलाग्ने, वाक्वाकी लाग्ने हुन्छ, अदुवाले त्यसमा औषधिको काम गर्न सक्छ । हामीकहाँ पेट दुखेका बेला अदुवा र बिरेनून घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ ।

अदुवाको महत्व कति छ भन्ने मैले इरानमा हुँदा थाहा पाएकी थिएँ । भारतबाट आयात हुने एक किलो अदुवालाई त्यहाँ २५ अमेरिकी डलर तिर्नुपथ्र्यो, यो सन् २००४ को कुरा हो । अहिले झ्नै महँगिएको होला । अदुवालाई आयुर्वेदमा पनि महत्व दिइएको छ ।

सौप
कतिपयले खाना खाएपछि मुख ताजा गर्न सौप चपाउने गर्छन् । पेटको वायु शोषण गर्ने, भोक जगाउने गुणका कारण सौप चपाउने गरेका हौं कि ? रोमन डाक्टर (एडी २३–७९) ले सौपका २० भन्दा बढी चिकित्सकीय गुणबारे वर्णन गरेका छन् । सुत्केरीलाई हामीकहाँ सौपको परिकार दिने चलन पनि छ । सौपमा भिटामिन सीसँगै क्याल्सियम, सोडियम, फोस्फोरस, आइरन, पोटासियम जस्ता खनिज तत्व हुन्छन् ।

दालचिनी
केही आयुर्वेदिक चिकित्सक मधुमेहका बिरामीलाई दालचिनीले फाइदा गर्ने बताउँछन् । साथै, यसले रगतमा रहेको खराब बोसोको मात्रा पनि घटाउने नेशनल जोग्राफी मा उल्लेख छ । दालचिनीको तेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । दालचिनीमा क्यालोरी, भिटामिन ए, भिटामिन के लगायत हुन्छ ।

चिया
एक किम्वदन्ती अनुसार चीनमा पाँच हजार वर्षअघि चियाको आविष्कार भएको थियो । १२औं शताब्दीमा चिया जापानमा फैलियो । १६औं शताब्दीमा डचहरू मार्फत यो युरोपमा पुग्यो । हामीले चिया प्रायः दूधमा पकाएर पिउँछौं । तर, युरोपमा प्रायः दूध नहाली चिया पिइन्छ । चियाको गुणलाई बुझेर चियापत्तीको क्याप्सुल पनि बनाइन्छ । कतिले झडापखाला लागेका बेला चियापत्ती चपाए फाइदा गर्छ भन्छन् ।

केही दिनसम्म तातोपानीमा भिजाएर पनि चियाको स्वाद लिन सकिन्छ, दूध हालेको चिया पिउने बानी परेकालाई यो नौलो लाग्ला । तर, दूध नहालेको चियाको चिकित्सकीय महत्व थाहा पाएपछि हाम्रो बानीमा परिवर्तन आउन सक्छ ।

लसुन
जाडोमा रुघाखोकीबाट बच्न लसुनको पोटीले मद्दत गर्छ । लसुन सेवनका धेरै फाइदा छन् । यसले रक्तचापलाई नियन्त्रण गर्नुका साथै पाचनक्रिया समेत मजबूत बनाउँछ । लसुनमा भिटामिन बी–६, भिटामिन सी कप्पर, सेलेनियम, फोस्फोरस लगायत पाइन्छ । 

मह
मह हाम्रो धर्म र संस्कृतिसँग धेरै नै जोडिएको छ । पञ्चामृतमा मह अनिवार्य हुन्छ । प्राचीन इजिप्टमा धेरै औषधिमा मह, वाइन र दूधको प्रयोग गरिन्थ्यो । मुस्लिम धर्मका प्रवर्तक मोहम्मदले पनि झाडापखाला लाग्दा मह दिनु भनेका रहेछन् । हामीकहाँ घाँटी दुखेका बेला मह र अदुवालाई घरेलु औषधिका रूपमा प्रयोग गरिन्छ । तर, जंगली महको प्रयोग होशियारीपूर्वक गर्नुपर्छ । महमा प्राकृतिक चिनी, क्यालोरी प्रशस्त पाइन्छ । 

पुदिना
सहजै उत्पादन हुने पुदिना जाडो र गर्मी दुवै याममा काम लाग्छ । पुदिनाको अचारले खानाको स्वादलाई झ्नै बढाइदिन्छ । पुदिनाको क्याप्सुल पनि बनाएर बेचिन्छ । नेशनल जोग्राफी का अनुसार पुदिनामा रोगसँग लड्ने शक्ति हुन्छ । यसमा भिटामिन ए प्रशस्त हुन्छ भने यसमा पाइने पेरिलिन, अल्कोहल नामक तत्वमा क्यान्सरसँग लड्ने क्षमता हुन्छ । 

सिस्नो
हामीले निम्नकोटिको खाद्यको रूपमा राख्दै आएको सिस्नोको महत्व बेग्लै छ । अचेल नेपालका केही पाँचतारे होटलमा सिस्नोको सुप पाइन थालेको छ । एक कचौरा सिस्नोको सुपको रु.६००–७०० सम्म पर्छ । विदेशीले सिस्नोको सुप मीठो मानेर खान्छन् । 

केही वैज्ञानिकका अनुसार सिस्नोको प्रयोग गर्दा शरीरमा संक्रमण गराउने केही रसायनको उपस्थिति कम हुन्छ । कतिपय आधुनिक प्राकृतिक चिकित्सकहरू बाथ र एलर्जीमा सिस्नोको प्रयोग गर्छन् । युरोपमा पनि सिस्नोको जरालाई पुरुषहरूको ‘प्रोस्टेट’ ग्रन्थीको केही समस्यामा प्रयोग गरिंदोरहेछ ।

भटमास
अमेरिकामा भटमास सन् १७६५ मा मात्रै पुगेको रहेछ । भटमासका परिकारमध्ये तोफु त हामीले सुनेकै छौं । हरियो भटमास उसिनेर खाँदा त्यसमा रहेको प्रोटिनले महीनावारी भएका महिलाका लागि फाइदा पुर्‍याउँछ । महीनावारी रोकिन लागेका महिलालाई पनि यसमा निहित विशेष तत्वले फाइदा गर्छ । क्यान्सर, स्तन क्यान्सर भएका महिलालाई भटमास नखान भनिएको छ ।

प्रतिकृया दिनुहोस