समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प छैन: अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पाँच वर्षभित्र समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प नभएको बताएका छन्।
नेपाल मण्डल पर्यटन नगरीले आज, १ भदाैमा नेपाल कला परिषद्, बबर महलमा आयोजना गरेको नेपाल मण्डल पर्यटन महोत्सव तथा ‘टिस्टा, काँगडा नेपाल एकीकरण, वीर योद्धाको सम्मान र सम्झना’ विषयक राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले सबै राजनीतिक शक्ति, नागरिक समाजको सहयात्रा, सहकार्य र एकताबिना ऐतिहासिक युग निर्माण गर्ने काम सम्भव नभएको बताए।
अध्यक्ष दाहालले भने, “तराई मधेश, पहाड र हिमाललाई एकापसमा जोड्ने तथा नयाँ सन्दर्भमा त्यसलाई सुदृढ गरी राजनीतिक उद्देश्यका निम्ति लामबद्ध गर्न र देश निर्माणको महान् अभियानमा फेरि एकचोटी सबैलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो।”
वर्तमान सरकार जनताकै सरकार र जनताप्रति समर्पित भएको विश्वास दिलाउने ऐतिहासिक जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा आएको बताउँदै अध्यक्ष दाहालले भने, “जनताको आकांक्षा सम्बोधन गर्न सरकारका कामकारवाही सच्याउने आँट गर्नुपर्छ।”
धेरै अप्ठ्यारा र जटिलताका बीचबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुँदै जारी भएको संविधानमा समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरिएको उल्लेख गर्दै उनले ७० वर्षको इतिहासमा नेपालमा कुनै पनि सरकार पाँच वर्ष नटिकेको कटु अनुभवलाई चिर्दै स्थिर सरकार गठन गरी आर्थिक विकास र समृद्धितर्फ मुलुकलाई लैजाने उद्देश्यले वर्तमान सरकार गठन गरिएको बताए।
उपत्यका प्राकृतिकरुपले मात्र होइन, मानवीय सभ्यता र विज्ञान प्रविधिको प्रयोगको दृटिकोणले पनि विश्व मानचित्रमा फरक रहेको बताउँदै उनले उपत्यका वरिपरिको सुन्दर पहाडलाई मानवीय शक्तिले सजाउने काम बाँकी छ बताए।
चित्रकारिताकामार्फत गौरवपूर्ण नेपाली इतिहासका बारेमा गरिने यस्ता प्रदर्शनीले इतिहासप्रति गौरव र सम्मान गर्ने संस्कृतिको विकास भएको बताउँदै उनले भने, “नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक, सांस्कृतिक रुपान्तरणसम्मका विशिष्ट पक्षमा योगदान गरेका व्यक्तिमार्फत इतिहासलाई स्मरण गर्ने प्रयास सरहानीय छ।”
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले जनतामा क्रान्तिकारी भावना सिर्जना गर्न चित्रकारिताले सहयोग गर्नुपर्ने बताए। उनले जनताको भावना प्रतिनिधित्व गर्ने, राजनीतिक उद्देश्य प्राप्तिका क्रममा जनताले गरेका बलिदानीको भावना झल्कने किसिमका चित्रकलाको प्रदर्शनी गर्न सुझावसमेत दिए।
महिलानेत्री शान्ता श्रेष्ठले राजनीतिक आन्दोलनले उत्पीडित वर्ग, समुदायका जनतामा जागरण ल्याउँदै ग्रामीण दूरदजारमा बस्ने गरीब, अशिक्षित व्यक्तिले पनि आफ्नो अधिकारका लागि लड्नु पर्छ भन्ने मान्यता स्थापित गरेको बताए ।
सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई कला संस्कृतिका क्षेत्रमा अमूल्य योगदान पुर्याएकाे भन्दै अभिनन्दन गरिएको थियो। त्यस्तै वरिष्ठ पत्रकार भैरव रिसाल, जनगायक जेबी टुहुरे र जीवन शर्मा, महिला नेत्री शान्ता श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो।
आयोजक संस्थाका अध्यक्ष कृष्ण केसीले नेपालीको वीरतापूर्ण इतिहासलाई पुनःजागृत गर्ने उद्देश्यले राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना गरिएको बताए । उनले गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका क्षेत्रको सीमामा नेपालको कला, संस्कृति र इतिहास झल्कने ‘नेपाल मण्डल पर्यटन नगरी’को स्थापना गर्ने तयारी गरिएको जानकारी दिए। एक साता चल्ने प्रदर्शनीमा ३९ कलाकारका ५१ चित्र प्रदर्शनीमा राखिएका छन्।
– रासस