लोकमानलाई महाभियोगबारे कांग्रेस अनिर्णित
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धसंसदमा पेश भएको महाअभियोग प्रस्तावका विषयमा नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्न सकेन ।
महाभियोग प्रस्तावका विषयमा केन्द्रीय समिति बैठकले कुनै ठोस धारणा तय नगरेको र भोटिङको समयमा मात्र खुल्ने नेता रामचन्द्र पौडेलले जानकारी दिए।
कांग्रेस केन्द्रीय सदस्यहरु गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, बद्री पाण्डे र सुरेन्द्रराज पाण्डेलगायतले भने महाअभियोगको पक्षमा पार्टीले तुरुन्तै स्पष्ट धारणा बनाउनुपर्ने बताउँदै आएका छन् ।
कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले महाभियोग प्रस्ताव न्यायिक निरूपणको विषय भएको भन्दै महाभियोग सिफारिस समितिको प्रतिवेदन नआएसम्म पक्ष विपक्षमा उभिनु कानुनी राज्यको विरूद्ध हुने दाबी गरे । “अहिले नै यस विषयमा धारणा बनाउनु उपयुक्त हुँदैन,” बडुले भने, “समितिको प्रतिवेदन आएपछि त्यसअनुसार धारणा बन्छ ।”
अर्का नेता बहादुरसिंह तामाङले संसदीय दलको बैठकमा छलफल भएपछि मात्रै महाभियोगबारे निर्णयमा पुगिने बताए ।
एमाले र माओवादी केन्द्रका १५७ सांसदले बुधबार संसदमा कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।
प्रमुख दुई दल एमाले र माओवादी केन्द्रले महाभियोग प्रस्तावलाई सफल बनाउन आफ्ना सांसदहरुलाई निर्देशन दिइसकेका छन्।