भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन
भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचारका क्रममा उनको निधन भएको द वायरले पुष्टि गरेको छ । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता वाजपेयी तीन पटक प्रधानमन्त्री बनेका थिए ।
अस्पताल व्यवस्थानले जारी गरेको विज्ञप्ति अनुसार, नौ सातादेखि अस्पतालमा उपचार चलिरहेको उनको स्वास्थ्यमा पछिल्लो ३६ घण्टादेखि जटिलता देखिएको थियो । उनलाई 'लाइफ सपोर्ट सिस्टम' मा राखी सबै परिवारजनलाई अस्पताल बोलाइएको थियो ।
मिर्गौला र मूत्रनलीमा संक्रमण तथा छातीमा समस्या आएपछि वाजपेयीलाई ११ जूनमा एम्समा भर्ना गरिएको थियो । मधुमेहका बिरामी उनको एउटा मात्र मिर्गौलाले काम गर्थ्यो । अस्पतालले निमोनियाका कारण उनको दुवै फोक्सोले राम्ररी काम गर्न सकिरहेका थिएनन्न ।
वाजपेयीको स्वास्थ्य स्थिति बुझ्न १५ अगस्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै अन्य नेताहरु अस्पताल गएका थिए । उनको निधनपछि नेताहरु अस्पताल पुग्ने क्रम जारी छ । मोदीले सामाजिक सञ्जाल ट्विटरमा शोक व्यक्त गर्दै वाजपेयी नरहे पनि उनको प्रेरणा र मार्गदर्शन हरेक भारतीयलाई सदैव प्राप्त भइरहने उल्लेख गरेका छन् ।
वाजपेयी सन् २००९ देखि स्मरणशक्तिमा ह्रास आउनेलगायतका समस्या देखिने 'डिमेन्सिया' रोगबाट ग्रस्त थिए । त्यही समयदेखि उनले ह्विलचेयर प्रयोग गर्नुपरेको थियो । पछिल्लो समय उनको उपचार निवासमै भइरहे पनि जटिलता देखिएपछि ११ जूनमा अस्पताल भर्ना गरिएको थियो ।
अविवाहित वाजपेयी राजनीतिज्ञका साथै सशक्त कवि र कुशल वक्ता पनि थिए ।