घर नभएकालाई सरकारले बनाइदिने
मुलुकभर कतै पनि घर नभएका र बनाउन सक्ने अवस्था नभएका परिवारलाई सरकारले घर बनाइदिने भएको छ ।
सहरी विकास मन्त्रालयले नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्थासहितको आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा पेश गरेको छ ।
उक्त विधेयकमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको समन्वयमा आवास सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
जसअनुसार स्थानीय सरकारले घर नभएका र बनाउन सक्ने अवस्था नभएका परिवारको लागत संकलन गर्नेछ । त्यसको आधारमा प्रदेश तथा केन्द्रीय सरकारले सुविधा उपलब्ध गराउने विधेयकमा उल्लेख गरिएको छ ।
सरकारबाट यसरी आवास सुविधा पाउन परिवारको कुनै पनि सदस्यको नाममा जग्गा वा घर मात्रै नभएर आयआर्जन वा आर्यआर्जनको आधार समेत नभएको हुनुपर्नेछ ।
सरकारले उपलब्ध गराएको आवास बिक्री गर्न, भाडामा दिन र बन्धकी राख्न पाइने छैन ।