ब्लगबिहिवार, श्रावण ३१, २०७५

‘हाम्रा तारिफका कुरा नछापनू’

भैरव रिसाल

आफ्नो प्रशस्तिगान रुचाउने शासकको प्रवृत्ति राणा प्रधानमन्त्री देवशमशेरले तोडेको देखिन्छ। यसको ६० वर्षपछि मात्र सरकार प्रमुखमा अर्को अपवाद देखियो।

‘गोर्खापत्र’ प्रकाशनको थालनीमा ‘सनद’ जारी गर्दै राणा प्रधानमन्त्री देवशमशेरले निर्देशन दिएका थिए– ‘हाम्रा तारिफका कुरा नछापनू ।’ उक्त निर्देशनमा देवशमशेरको पत्रकारिता बारेको अन्तर्य बुझ्न सकिन्छ । उनले पत्रकारिताबारे ११७ वर्षअघि गरेको परिभाषा भने पनि हुन्छ यसलाई । 

‘सनद’ भनेको ‘राजाज्ञाको प्रमाण; कुनै कामको निकासापुकासा वा बन्दोबस्तका बारेमा दिइने सरकारी आज्ञापत्र; रुक्का’ भनी नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा उल्लेख छ । देवशमशेर जम्मा ११४ दिन प्रधानमन्त्री बने । यी थोरै दिनमा पनि उनले धेरै वटा विद्यालय स्थापना गराए । ठाउँ–ठाउँमा उजुरी बाकस राख्न लगाए । यस्तै, थापाथली दरबारमा भारदारी (संसद) स्थापनाका लागि ठूलो कोठा बनाउन लगाए ।

देवशमशेरले नेपालमा धेरै कुरामा परिवर्तन गर्न खोजेको देखिन्छ । तर, आफूपछिका अनुदार भाइभारदारले षड्यन्त्र गरी उनलाई धनकुटा लखेटे ।

ठ्या मठ्याको मेरो परिभाषा
श्री ३ देवको ‘सनद’ मा गोर्खापत्र मा नछाप्नू भनी निषेध गरेका विषयहरूमध्ये शुरूमै श्री ५ र श्री ३ सरकारको दरबारभित्रका स्वास्नी मानिसको विषय, फौज, हातहतियार र राजकाज, सरकारको आम्दानी र खर्च, भोट नेपालको सिमानाका विकट बाटाको बयान, सुनखानी आदि थिए ।

गोर्खापत्र को पहिलो अंक । प्रकाशित मितिः १९५८ साल ज्येष्टवदी ३ सोमबार (२४ वैशाख १९५८) । तस्वीरः मदन पुरस्कार पुस्तकालय

वि.सं. १९५७–५८ यता नेपालको प्रधानमन्त्री, मन्त्रिपरिषद् अध्यक्ष वा एक नम्बरको मन्त्रीका रूपमा ३० जना भइसके । यी ३० मध्ये २९ जना ठ्या र १ जना मठ्या थिए भन्न मन लाग्छ ।

बृहत् शब्दकोश अनुसार, ‘ठ्या’ भनेको ‘खासगरी क्षेत्रीहरूमा विवाहिता पत्नीबाट जन्मेका सन्तानलाई जनाउँदा प्रयुक्त हुने शब्द हो । ‘मठ्या’/‘मठ्याहा’ को अर्थ भने ‘तल्लो जातकी आमाबाट जन्मेको सन्तान, वर्णसंकर, ठिम्मल, त्यसरी जन्मेको व्यक्ति; ठिमाहा सन्तान’ भनिएको छ ।

मैले यहाँ वंशबाट आएका राणाका ९ जना श्री ३, पार्टीभित्रबाट आएका १४, पञ्चायतका ६ जना समेत गरी २९ जनालाई ‘ठ्या’ मा राखेको छु भने पार्टी व्यवस्था तर पार्टी बाहिरका एक नम्बरका मन्त्री, अध्यक्ष वा परामर्शदातालाई ‘मठ्या’ भनेको छु । राणा शासनमा यी ‘ठ्या’ र ‘मठ्या’ ले राजनीतिक अर्थ बोक्दै प्रधानमन्त्रीको रोलक्रममै प्रभाव राख्थे ।

कडा सेन्सर र नयाँ उर्दी
‘गोर्खापत्र मा जे पायो त्यही प्रकाशन होला भन्ने शंकाले माथि लेखिया बमोजिम छाप्नालाई मसौदा गरी लफटैंट कर्णेल डिल्लीशमशेर थापा क्षत्रीलाई जचाई उनले दुरुस्त भयो भनी सहि छाप गरी दिया बमोजिम छापनू’ भन्ने पनि ‘सनद’ भएको रहेछ । यस्तै व्यवस्था र सहयोगको आधारमा पण्डित नरदेव पाण्डेको मातहत वि.सं. १९५८ वैशाख २४ देखि गोर्खापत्र साप्ताहिक निस्कन थालेको हो ।

त्यसबेला जम्मा ८ पृष्ठ छापिएको गोर्खापत्र को मूल्य एक प्रतिको २ आना राखिएको थियो । पत्रिकामा सरकारी सूचना छाप्ने प्रचलन शुरुआतदेखि नै रहेको पाइन्छ । तेस्रो अंकको पाता सातमा ‘नयाँ उर्दी’ शीर्षकको सूचना छापिएको छ, जसमा ‘लोग्ने मानिसहरू कपाल आँखीभौं दाह्री जुङ्गा खौरिएका र स्वास्नी मानिसहरू कपाल आँखीभौं खौरिएका झयालखानाका कैदी हुन् त्यस्ता मानिस कसैले देखे भने तुरुन्त पकडी अमालमा बुझइदिनू भन्ने उर्दी भयो’ भन्ने उल्लेख छ ।

अपवाद बनेका विश्वेश्वर
प्रधानमन्त्रीका रूपमा देवशमशेरपछिको ६० वर्षपछि विश्वेश्वरप्रसाद कोइराला अपवाद भएर निस्किए । २०१६ सालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका उनी आफ्नो सरकारले गरेका निर्णय र काम ठीक लागेन भने त्यसको विरोधमा लेख्न प्रोत्साहन गर्ने भएर देखापरे रे !

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाका अनुसार, विश्वेश्वरले आफ्नो सरकारको गलत कामबारे तिखो टिप्पणी गर्न समीक्षा साप्ताहिकका सम्पादक/प्रकाशक मदनमणि दीक्षितलाई आर्थिक सहयोग गर्थे ।

२०१७ साल वैशाख ३० बाट निस्केको समीक्षा ले त्यसपछिको समयमा टीका–टिप्पणीका लागि विभिन्न स्तम्भ नै चलाउन थाल्यो । ‘सहयोगीको विचार’, ‘व्यक्तित्वको खोजी’, ‘इतिहासको पाना’ जस्ता स्तम्भमा प्रमुख व्यक्तिहरूको समीक्षा र मूल्यांकन गरिएको हुन्थ्यो ।

देवशमशेरपछिका ११७ वर्षमा ३० जना सरकार प्रमुख भए । तर, आफ्नो तारिफ नगराउने बरु समीक्षा गर्न प्रोत्साहन गर्ने फरक सोच विश्वेश्वरबाहेक कसैमा देखिएन । बरु परोक्ष रूपमा हाम्रा तारिफका कुरा मात्र छाप्नू भन्ने अर्थ लाग्ने व्यवहार देखाउँदै यस्तै प्रवृत्ति बसाए भन्नु अत्युक्ति नहोला ।

प्रतिकृया दिनुहोस