पोल्याण्ड पठाउने भन्दै ठग्ने समूह पक्राउ
पोल्याण्ड पठाउने भन्दै नेपाली युवाहरुलाई ठग्ने काममा संलग्न दुई युक्रेनी नागरिक पक्राउ परेका छन्।
पर्यटक भिसामा नेपाल आएका विल्ली भिटाली र उनका महिला सहयोगी नाटालियाले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै ठगी गरेको भेटिएपछि उनीहरुलाई वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो।
उनीहरुले ठगी गरेको विषयमा श्रम मन्त्रालयमा उजुरी परेको थियो।
उनीहरुले पुतलीसडकमा पिपल फर वर्क नामको कम्पनी सञ्चालन गरेर नेपाली युवालाई ठगेको भेटिएको छ।
फेसवुक, ट्विटर लगायतका सामाजिक सञ्जालमार्फत् उनीहरुले आफ्नो कामको बारेमा प्रचार गरेर विदेश जानेहरुलाई लोभ्याउने गरेका थिए।
सामाजिक सञ्जालमार्फत् सम्पर्कमा आउने व्यक्तिलाई उनीहरुले कामदार भिसामा पोल्याण्ड पठाउने भन्दै शुरुमै रु. २ लाख माग्ने गरेका थिए।
पीडितहरुका अनुसार, उनीहरुले प्रति व्यक्ति सात लाखसम्म रकम उठाउँथे।
उनीहरुको कम्पनीले कम्पनी रजिष्टारको कार्यालयबाट सफ्टवेयर र सूचना प्रविधिका क्षेत्रमा काम गर्ने भनेर अनुमति लिएको थियो। प्रहरीले उनीहरुका गतिविधिबारे थप अनुसन्धान गरिरहेको छ ।