साँफे–मार्तडी सडक अवरुद्ध, उपभोग्य वस्तुको अभाव
-प्रकाश सिंह, बाजुरा
एक सातादेखिको अबिरल वर्षाका कारण आएको पहिरो र बाढीका कारण जोड्ने साँफे–मार्तडी सडक अवरुद्ध भएको छ ।
बाजुरा सदरमुकाम मार्तडीलाई देशको अन्य भागसँग जोड्ने साँफे–मार्तडी सडकको १२ किलोमिटर खण्ड अवरुद्ध भएको हो ।
ताप्रिसेरादेखि मार्तडीसम्मको सडकमा धेरै ठाँउमा पहिरो गएको र केही ठाउँमा खोलाले सडक बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए ।
गए रातिको वर्षापछि उक्त सडकमा पैदल यात्रा समेत गर्न नसकिने बाजुराका प्रहरी प्रमुख बोहराले बताए ।
त्यस्तै अम्कोट नजिक पहिरोले बुढीगंगा नदी थुनिएर सडक कटान गर्न शुरु गरेको छ । बिना कुनै अध्ययन र योजना सडक निर्माण भएकाले यो सडकमा बारम्बार अवरोध आइरहने इन्जिनियर प्रयाग राज जोशी बताउँछन् । उनका अनुसार यो सडकको विकल्प जरुरी भइसकेको छ ।
सडक अवरुद्ध भएसँगै मार्तडी, कोल्टी लगायतका बजारमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । मार्तडीबाट धनगढी, नेपालगन्ज, महेन्द्रनगर काठमाडौ लगायतका ठाउँमा जाने सवारी साधान र यात्रीहरू रोकिएका छन् ।