नेप्सेमा ‘बाउन्स ब्याक’
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ‘बाउन्स ब्याक’ अर्थात् धेरै घटिसकेपछिको स्वभाविक वृद्धि देखिएको छ ।
भकुण्डोलाई उचाइबाट भुइँमा फाल्दा उफ्रिएजस्तै शेयर बजारमा पनि लामो समयसम्म घटिरहेको अवस्थामा केहि दिन बढ्ने प्रवृत्ती देखिन्छ, यसैलाई ‘बाउन्स ब्याक’ भनिएको हो ।
गत ९ वैशाखमा १४३८ अंकमा पुगेर ओरालो लाग्न थालेपछि नेप्से २७ साउनमा ११६३ अंकको न्यून विन्दुमा ओर्लिएको थियो ।
यो पछिल्लो एक वर्षयताकै न्यून विन्दु हो । उक्त विन्दुबाट पछिल्ला तीन दिनमा नेप्से ४५ अंक बढेर १२१० अंकको नजिक पुगेको छ ।
ठ्याक्कै यस्तै घटना नेप्सेमा एक महिनाअघि पनि देखिएको थियो । घट्दो प्रवृत्तीमै रहँदा १८ देखि २१ असारबीचको तीन दिनमा पनि नेप्से अहिलेजस्तै ४५ अंक बढेर बजारले पुनः ओरालो बाटो तय गरेको थियो ।
अहिलेको अवस्थामा बजार केही अंक बढ्नुलाई दीर्घकालमै नेप्सेले सुधारको बाटो समातेको भनेर विश्लेषण गर्न नसकिने स्टक ब्रोकर एशोसियसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापती बताउँछन् । “कम्पनीहरुले नगद लाभांशसँगै शेयर लाभांश (बोनस) पनि बढाउँछन् भन्ने आशामा लगानीकर्ताले केही माग बढाएको देखिन्छ,” उनले भने, “त्यसबाहेक स्वभाविक वृद्धिमात्र हो ।”
शेयर लगानीकर्ता पुरुषोत्तमराज चिमौरिया पनि अहिलेको अवस्थामा बजार उचाल्ने कुनै सुखद समाचार नरहेको बताउँछन् । “बोनश सेयरमा लगानीकर्तालाई लोभ चाहिं छ,” उनी भन्छन्, “एक÷दुई कम्पनीले बोनस शेयर घोषणा गर्न थाले भने चाहिं शेयर बजारलाई उकालो लाग्न बल पुग्छ ।”
आजको ब्यापारमा नेप्से २८ दशमलव ७३ अंक (२.४३ प्रतिशत) बढेर १२०९ दशमलव ७१ अंकमा पुगेको छ । व्यापारमा आएका सबैजसो समूहको कारोबार र सूचकांक बढेपछि समग्र नेप्सेमा सुधार आएको हो ।
नेप्सेमा बुधवार १६५ कम्पनीका १० लाख ७९ हजार कित्ता सेयर रु. ३६ करोड ४१ लाख ३४ हजारमा किनबेच भएको छ ।