स्थानीय तहलाई भवन बनाउन पाँचदेखि १५ करोडसम्म दिइने
स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्र सबै स्थानीय तहलाई भवन बनाउन पाँचदेखि १५ करोडसम्म रकम दिने भएको हो ।
मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ ।
मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु आठ करोड र गाउँपालिकालाई रु पाँच करोड दिने भएको छ ।
सबै स्थानीय तहको भवन तीन वर्षभित्र निर्माण गरिसक्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले वडा कार्यालय निर्माणका लागिसमेत बजेट दिने तयारी गरेको छ ।
जसअनुसार महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने भएको छ । रासस