उद्योग स्थापनामार्फत् रोजगारी सृजना गर्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग स्थापनामार्फत् रोजगारी सृजना गर्नुपर्ने बताएका छन् ।
आज, २९ साउनमा सिंहदरबारमा सार्क चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
उद्योगको स्थापना गरेर गरीबी र पछौटेपन हटाउने बताउँदै ओलीले अब स्थापना गरिने उद्योगहरू प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।
उद्योगमा काम गर्ने मजदूरहरू पनि प्रविधिमा पोख्त हुनुपर्ने भन्दै ओलीले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा र भ्रम छर्न नहुने धारणा राखेका थिए ।
देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले आग्रह गरे । “देशको जनसंख्यामा काम गर्न सक्नेहरूको बाहुल्यता छ, यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नुपर्दछ”, उनले भने ।