चुहावट नियन्त्रणले प्राधिकरणको नाफा बढ्ने
नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु.१ अर्ब १ करोड खुद नाफा आर्जन गर्ने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित नाफा अझै बढ्ने बताएको हो।
विद्युत् चुहावट नियन्त्रणमा प्राप्त सफलतासँगै भारतबाट आयात भएको र निजी क्षेत्रसँग किनेको बिजुलीको औसत खरीद दर घटेका कारण नाफा बढेको प्राधिकरणले जनाएको छ । मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण र विद्युत् भार कटौतीको अन्त्यसँगै वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयनले पनि नाफा बढाउन सहयोग गरेको प्राधिकरणको दाबी छ।
चुहावट नियन्त्रणबाट मात्रै गएको वर्ष प्राधिकरणले करीब रु.४ अर्ब थप आम्दानी गरेको थियो । यसअघि आव २०७३/७४ मा प्राधिकरणको खुद नोक्सानी रु.९७ करोड ८९ लाख हुने पूर्वानुमान गरिएको थियो । त्यसबेला पनि अन्तिम लेखा परीक्षणपछि खुद नाफा रु.१ अर्ब ५१ करोड पुग्योे । खुद नाफा बढे पनि प्राधिकरणको सञ्चित नोक्सानी अझै रु.२८ अर्ब १२ करोड बाँकी छ।
“प्राधिकरणको गत आवको वार्षिक बजेटमा खुद नोक्सानी करीब रु.२ अर्ब ५० करोड हुने प्रक्षेपण गरेका थियौं, तर प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट संस्थालाई नाफामा लैजान सफल भएका छौं”, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने।
घिसिङले आफू जिम्मेवारी सम्हाल्न आउँदा संस्था रु.८ अर्ब ८९ करोड वार्षिक घाटामा भएको बताए। “सबैको सहयोगले प्राधिकरण नाफामा गएको छ, तर हामीले सोचे जति सफलता हासिल गर्न अझै सकिरहेका छैनौं”, घिसिङले भने।
उत्पादनको मुखमै ठूला आयोजना
चालू आवमा प्राधिकरणले आफैंले निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो, ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए र सहायक कम्पनी मार्फत निर्माण भइरहेका ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थाल्ने छन् । यसपछि प्राधिकरणको आम्दानी अहिलेभन्दा निकै बढ्नेछ।
“ती आयोजना आएपछि हामीले सहायक कम्पनी मार्फत निर्माण गर्ने जलविद्युत् आयोजनामा लगानीका लागि सरकारमाथि भर पर्नुपर्दैन”, घिसिङले थपे । प्राधिकरणले जलविद्युत् आयोजना सहायक कम्पनी मार्फत निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । प्राधिकरणले आव २०७३/७४ मा विद्युत् बिक्री र ब्याज लगायतबाट रु.५१ अर्ब ७० करोड आम्दानी गरेकोमा आव २०७४/७५ मा यसलाई बढाएर रु.६० अर्ब ४८ करोड पु¥याएको छ।
विद्युत् भार कटौतीको अन्त्य हुँदा शहरी क्षेत्रका ठूला ग्राहक तथा व्यापारिक र औद्योगिक ग्राहकतर्फको आम्दानी बढेको छ । “हामीले सञ्चालन गरेको ‘उज्यालो नेपाल अभियान’ बाट उपभोक्ताले उज्यालो मात्रै पाएका छैनन्, नियमित विद्युत् आपूर्ति हुन थालेपछि मुलुकको अर्थतन्त्र नै चलायमान भएको छ”, घिसिङले भने।
विद्युत् प्राधिकरण सबल र सक्षम संस्था बन्दै गएको भन्दै उनले अब ग्राहकलाई प्रदान गरिने सेवाको स्तर सुधार्न ध्यान केन्द्रित गर्ने बताए। भारतबाट विद्युत् आयातमा लिइएको विवेकपूर्ण नीतिका कारण ढल्केवरबाट खरीद गरिएको विद्युत्को महसुल केही वृद्धि भए तापनि आयातित विद्युत्को औसत खरीददर नबढेको प्राधिकरणले जनाएको छ।
आव २०७४/७५ को विद्युत् औसत आयात दर सात रुपैयाँ ४७ पैसा छ । प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ। गत आवमा दुई अर्ब ५८ करोड युनिट विद्युत् आयात भएको थियो । आव २०७३÷७४ मा दुई अर्ब १७ करोड युनिट आयात गरिएको प्राधिकरणले बतायो।
भारतबाट आयात हुनेमध्ये करीब ७० प्रतिशत हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ। यसको खरीद दर स्वदेशी निजी ऊर्जा उत्पादकलाई दिंदै आएको प्रतियुनिट ८ रुपैयाँ ४० पैसाभन्दा कम रहेको घिसिङले बताए।
आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएसम्म विद्युत् माग र आपूर्तिको व्यवस्थापन गर्न तत्काल अन्य विकल्प नभएको घिसिङको तर्क छ । गत आवमा खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रको स्वामित्वका विद्युत् गृहबाट गत वर्ष करीब २० प्रतिशत उत्पादन घटेको थियो।
गत वर्ष ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना सञ्चालनमा आएका कारण पश्चिम नेपालमा विद्युत् थप भएको छ । गत आवमा ७० मेगावाटको मध्य–मस्र्याङ्दी विद्युत् गृह मर्मतसम्भारका लागि पाँच दिन र कुलेखानी दोस्रोको एउटा युनिट (१६ मेगावाट) मा समस्या आउँदा उत्पादन बन्द भएको थियो।
कुलेखानी पहिलोको एउटा युनिट (३० मेगावाट) मात्रै चलाइएको थियो । यसले गर्दा कुलेखानी पहिलो र दोस्रोको ४६ मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भयो । त्रिशूलीको विद्युत् गृहमा आगो लाग्दा सो केन्द्र र देवीघाटबाट विद्युत् उत्पादन करीब २० दिन बन्द भयो।
चुहावटमा भारी कटौती
प्राधिकरण गएको आवमा विद्युत् चुहावट नियन्त्रणको लक्ष्य पूरा गर्न सफल भएको छ । प्राधिकरणले गत आवमा प्रणालीमा रहेको २२.९० प्रतिशत विद्युत् चुहावटलाई २०.५० प्रतिशतमा झार्ने लक्ष्य राखेको थियो । गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा झरेको प्राधिकरणको तथ्यांक छ । त्यसमध्ये प्रसारण र वितरण प्रणालीको चुहावट क्रमशः करीब ५.५ प्रतिशत र करीब १४.५ प्रतिशत छ। चालू आवमा विद्युत् चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ ।
चुहावट नियन्त्रण गर्न प्राधिकरणले चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण लगायतका काम अभियानकै रूपमा चलाइएको पनि घिसिङले जानकारी दिए।
– रासस