बाजुराः बुढिगंगा थुनिने खतरा
बाजुराको बुढिगंगा नगरपालिका र त्रिवेणी नगरपालिका बीचमा रहेको द्वारीमा बुढिगंगा नदी थुनिने खतरामा छ ।
लगातार वर्षाका कारण त्रिवेणी नगरपालिका– ९ पैमा गाँउ तल बाट पहिरो झर्न शुरु भएपछि थुनिने खतरा बढेको त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिं रावलले वताएका छन् ।
एक हप्तादेखि लगातार पहिरो बग्न थाले पछि द्ववारीमा बुढिगंगा नदी थुनिन सक्ने बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि बताए । अहिलेसम्म नदीको दुईतिहाई भाग थुनिएको, पहिरो बढदै गएको र ठूला ढुङ्गा समेत झरिरहेको हुँदा कुनै पनि बेला नदी थुनिने उनले जानकारी दिए ।
संभावित विपत्तिपछि उद्धारका लागि सेना र प्रहरीलाई तयारी अवस्थामा राखिएको र स्थानीय वासिन्दालाई सचेत गराइएको उनले वताए ।
नदी थुनिने खतरासँगै खेतियोग्य जमिन, झोलुंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि जोखिममा परेका छन् । नदी थुनिने खतरासँगै अछाममा पनि उच्च सर्तकता अपनाइएको छ ।
अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायका अनुसार अछाम बाट सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोली घटनास्थलमा पुगेर फर्किएको छ । उक्त टोलीले दिएको जानकारी अनुसार नदी कुनै पनि बेला थुनिने सक्ने भएकाले सम्भवित भवितब्यको सूचना दिन स्थानीय दुई व्यक्तिसँग नियमित सम्पर्क भइरहेको छ ।
अहिले उक्त स्थान नजिक आवतजावत बन्द गरिएको छ भने झोलुंगे पुल पनि बन्द गरिएको छ । द्वारीबाट पैमा गाउँ जाने बाटो समेत बन्द भएको त्रिवेणी नगरपालिकाका मेयर रावलले वताए ।
-प्रकाश सिंह, बाजुरा