अन्तर्वार्ता/विचारआइतवार, श्रावण २७, २०७५

‘जयबहादुर चन्दले कति खर्च गर्नुपर्छ म गर्छु भने, देउवा र प्रचण्ड पनि आए’

हिमालखबर

२०३० सालमा नेपाली कांग्रेसको योजनामा भएको विमान अपहरणका नेतृत्वकर्ता हुन्, दुर्गाप्रसाद सुवेदी । प्रजातन्त्रका लागि कांग्रेसले शुरु गरेको सशस्त्र क्रान्तिमा सहभागी सुवेदीले पछि पार्टीभित्र आन्तरिक प्रजातन्त्र नभएको भन्दै पार्टी छाडे । सुवेदीको पुस्तक विमान विद्रोहः एउटा राजनीतिक अपहरणको बयान २५ साउनदेखि बजारमा आएको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीका श्रीमान् सुवेदीसँग पुस्तक, विमान अपहरण साथै समसामयिक विषयमा गरिएको अन्तर्वार्ताः 

तस्वीरः मुकेश पोखरेल

पुस्तक लेख्ने सोच कसरी बन्यो ?
प्रजातन्त्रका निम्ति गरिएको उक्त विमान अपहरणबारे विस्तृत विवरण बाहिर आएन । बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा दुई लाइनमै उक्त घटनालाई टुंग्याइदिनुभएको छ । एउटा इतिहासबारे भोलिको पुस्ता अनभिज्ञ हुनेछ भन्ने लागेर पुस्तक लेख्ने निर्णय गरें ।

तर, लेख्ने जाँगर चलेको थिएन । श्रीमती सुशीलाले पनि ‘इतिहास हराउँछ, पुस्तक लेख्नुस्’ भनिरहिन् । शारीरिक रूपमा आफू कमजोर हुँदै गएको महसूस भएकाले पनि पुस्तक छिटो लेखिसक्नुपर्छ भन्ने लाग्यो र लेखें ।

पुस्तकमा के–कस्ता विषयवस्तु समेटिएका छन् ?
२०१७ सालपछिको राजनीतिक घटनाक्रम, कांग्रेसले गरेको सशस्त्र विद्रोह, त्योसँगै जोडिएको विमान अपहरण र भारतमा भूमिगत हुनुपर्दाका घटना उल्लेख छन् । विमान अपहरणका बेला आधा घन्टासम्म विमानभित्र गर्नुपरेको संघर्ष पनि पाठकसमक्ष पस्केको छु ।

मर्ने र मारिने कुरासँग डर लागेन ?
जब मानिसमा विद्रोहको भावना जाग्छ; तब डर, माया–प्रेम, परिवार आदि सोचिंदो रहेनछ । एक मात्र उद्देश्य थियो, प्रजातन्त्र पुनस्र्थापना । आकाशमा गरिने लडाइँ, ठूलो दुस्साहस थियो ।

कांग्रेसको सशस्त्र विद्रोहलाई आर्थिक स्रोत जुटाउन विमान अपहरणमा सहभागी भएर गलत गरें भन्ने निष्कर्षमा पुग्नुभएको हो ?
पार्टीभित्र रहेर विगतमा जस्ता घटना भए, त्यसको मूल्यांकन इतिहासले गर्छ । त्यतिबेला मेरो नेतृत्वमा जहाज अपहरण भयो, मैले सही ठानेरै त्यसो गरेको थिएँ । म अलि विद्रोही स्वभावको थिएँ, प्रजातन्त्रका लागि विद्रोह गरें ।

पछि गिरिजाप्रसादले आफ्नो आत्मवृत्तान्तमा ‘पैसाको अभाव भएको र यसबारे भारतीय अधिकारीसँग कुरा गरेको’ भनी उल्लेख गरे । भारतीयसँग गिरिजाप्रसादको सल्लाह भएर भारतकै इशारामा योजना बनेको थियो भने एकदमै गलत हो । त्यसमा मैले स्वाभाविक दुःख व्यक्त गरेको छु ।

पार्टी आर्थिक संकटमा परेका बेला विमान अपहरण गरी पैसाको व्यवस्था गर्ने योद्धाले पार्टी छाड्नुको कारण ?
कांग्रेसको नेतृत्वमा ओखलढुंगामा भएको सेनामाथिको आक्रमणमा मेरा थुप्रै साथीको मृत्यु भयो । तर, त्यस आक्रमणमा नेताका कुनै सन्तान सहभागी थिएनन् । यसबारे मैले बीपी कोइरालासँग कुरा गरें । त्यतिबेला उहाँहरूका छोराछोरी भारतमा पढ्दै थिए ।

मेरो कुराले बीपी भावविह्वल र उत्तेजित हुनुभयो, मसँग रिसाउनुभयो । तत्काल मेरो कुराको जवाफ पनि उहाँले दिनुभएन । स्वतन्त्र र विवेकसम्मत ढंगले आफ्ना कुरा राख्दा सुनुवाइ नहुने देखेपछि म कांग्रेसबाट अलग भएँ ।

ओखलढुंगाको प्रसंग उठाएपछि तपाईंलाई कारबाही भयो कि ?
मैले यो कुरा राखेपछि बीपीले मलाई दुई थप्पड हान्नु’भो । मलाई पार्टीमा मिलेर बस्न पनि भन्नुभएको थियो ।

त्यो सशस्त्र क्रान्ति असफल हुनुको कारण के थियो जस्तो लाग्छ ?
त्यतिबेलाको परिस्थिति क्रान्ति अनुकूल थिएन । परिस्थितिलाई सही ढंगले विश्लेषण गर्न नसक्दा असफल भएको हो । सशस्त्र क्रान्ति शुरु गरेपछि बीपीको चर्चा त भयो, उहाँको लोकप्रियता भने घट्यो । कांग्रेसले २००७ सालमा सशस्त्र विद्रोह गर्दा राणा विरुद्ध जनमत थियो । त्यसकारण क्रान्ति सफल भयो । तर, राजा महेन्द्रले २०१७ सालमा शासन हत्याएपछि सुवर्णशमशेरको नेतृत्वमा भएको सशस्त्र क्रान्ति असफल भएको थियो । यस्तोमा बीपीले फेरि सशस्त्र क्रान्ति शुरु गर्नु गलत थियो ।

तपाईंको नेतृत्वमा लुटिएको भारु ३० लाख केमा खर्च भयो ?
मैले त बीपी कोइरालालाई रकम जिम्मा लगाएको हुँ । पैसा कहाँ, कसरी खर्च भयो, त्यसको मलाई कुनै जानकारी भएन । मैले सोधखोज पनि गरिनँ ।

विमान अपहरणको योजना कसको थियो ?
२०२८ सालमा पहिलोपटक विराटनगरबाट पक्राउ गरी मलाई काठमाडौंको भद्रगोल जेलमा राखिएको थियो । जेलमा पढेको एउटा पुस्तकमा ‘जापानमा एउटा केटोले विमान अपहरण गरी १० करोड फिरौती लिएको’ उल्लेख थियो । तर, जहाज अपहरण गर्न सकिन्छ भनेर सोचेको थिइनँ । म काठमाडौंको जेलमा हुँदा गिरिजाप्रसादको योजनामा मोरङ र सुनसरीका विभिन्न ठाउँमा ब्यांक लुट्ने असफल प्रयास भएका रहेछन् ।

एक दिन राष्ट्र ब्यांकका कर्मचारी मदन अर्यालले ब्यांकको पैसा विराटनगरबाट काठमाडौं जाँदैछ भनी सुनाए । उनले भने ‘काठमाडौं लैजाने पैसा लुट्न सकिंदैन !’ यो कुरा मैले गिरिजाबाबुसँग गरें, उहाँले बीपीलाई भन्नुभयो । यसरी विमान अपहरणको योजना बन्यो ।

बीपीसँग तपाईंको सम्बन्ध कस्तो रह्यो ?
कांग्रेस छाडे पनि बीपीसँग मेरो भेट भइरहन्थ्यो । उहाँले मलाई ‘तिमीहरू मिलेर बस, गिरिजाप्रसाद चिन्तनमनन गर्ने मान्छे होइनन्, लड्न–भिड्न सक्छन्, गिरिजासँग मिल’ भनेर सल्लाह दिनुहुन्थ्यो ।

बीपीको सल्लाह किन मान्नुभएन ?
गिरिजाप्रसाद तर्क, छलफल नगर्ने एकदमै निरंकुश स्वभावको हुनुहुन्थ्यो । उहाँमा प्रजातान्त्रिक चिन्तन थिएन । त्यसकारण पार्टीभित्र पनि प्रजातन्त्र थिएन, अहिले पनि छैन । गिरिजाको एकाधिकार र निरंकुश शैली देखेर पार्टीभित्र बस्न मन लागेन, अलग भएँ ।

पहिलो संविधानसभामा सदस्यका लागि तत्कालीन माओवादीका तर्फबाट तपाईंको नाम प्रस्ताव हुँदा गिरिजाप्रसादले अस्वीकार गर्नुको कारण ?
कसैको विरोध सहनै नसक्ने मान्छे हो, उहाँ । आफ्नो विरोध गर्नेले पार्टी र देशमा स्थान पाउनुहुँदैन भन्ने तानशाही चिन्तन उहाँमा थियो । उहाँकै पालामा पार्टीबाट धेरै इमानदार नेता तथा कार्यकर्ता पाखा लागे । देशलाई द्वन्द्व र अस्थिरताको अवस्थामा पुर्‍याउन पनि उहाँको भूमिका थियो । गिरिजाप्रसाद आफूले भनेको जे पनि हुनुपर्ने र आफ्नो स्वार्थका लागि जस्तो सम्झौता पनि गर्ने मानिस हो भन्ने इतिहासले प्रमाणित गरिसक्यो ।

तपाईं भारतमा पक्राउ पर्नु र पार्टीबाट अलग हुनुबीच कुनै सम्बन्ध छ कि ?
विमान अपहरणकारीलाई पक्राउ ग¥यौं भनेर अन्तर्राष्ट्रिय रूपमा देखाउनुपर्ने दबाब भारतमाथि थियो । किनभने, त्यतिबेला भारतमै विमान अवतरण गराउने, अनि भारतमै अपहरणकारी आश्रय लिएर बस्ने कुराले ऊ अप्ठेरोमा थियो, त्यसकारण हामीलाई पक्राउ गरिएको हो । विमान अपहरण सम्बन्धी मुद्दा २०४८ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा फिर्ता भयो ।

भारतमा हिरासतमा रहँदा तपाईंलाई विमान अपहरणमा बीपीको संलग्नता स्वीकार गर्न दबाब दिइएकै हो ?
सिक्किमलाई भारतमा गाभ्ने निर्णयमा असहमति जनाएकाले इन्दिरा गान्धीसँग बीपीको सम्बन्ध राम्रो थिएन । इन्दिराको चाहना सबै काम आफूहरूको सल्लाहमा हुनुपर्छ भन्ने थियो, त्यसो नहुँदा बीपीप्रति उनीहरूको धारणा नकारात्मक थियो । उनीहरू बीपीलाई नियन्त्रणमा राख्न चाहन्थे, त्यसैले मलाई हतियार बनाएर उहाँलाई मुछ्न धेरै प्रयास गरियो ।

पार्टीबाट अलग भइसकेको मान्छे, त्यति धेरै यातना दिइँदा पनि वास्तविकता किन खोल्नुभएन ?
मैले नाम लिएको भए पनि बीपीले स्वीकार गर्नुहुन्नथ्यो । त्यो मुद्दा मात्र बन्न सक्थ्यो । यद्यपि बीपीको नाम लिएको भए मलाई दण्ड–सजाय कम हुन्थ्यो होला, तर प्रजातन्त्रको मिसनमा ठूलो ‘ब्रेक’ लाग्न सक्थ्यो ।

प्रधानन्यायाधीशको श्रीमान्‌काे रूपमा रहँदा कस्तो अनुभव गर्नुभयो ?
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र हुने खेल जान्ने मौका मिल्यो । कर्तव्य, ज्यान र भ्रष्टाचारका मुद्दाहरूमा जिताइदिनुप¥यो भनेर नेताहरूबाट अनगिन्ती अनुरोध आए ।

कर्जा लिएर नतिरेका व्यक्तिको पक्षमा निर्णय गरिदिनुपर्‍यो भनेर पनि मानिस आउँथे । भ्रष्टाचार सम्बन्धी मुद्दा मिलाउन जयप्रकाश गुप्ता मलाई भेट्न आएका थिए । सर्वोच्चमा आउने मुद्दामा करोडभन्दा तल ‘डिल’ नै नहुने । देवानी र फौजदारी मुद्दामा तीन–चार करोड रुपैयाँ घूस बोकेर घरघरमै पुग्छन् । स्वतन्त्र भएर र पैसा खर्च नगरी न्याय पाउने सम्भावना एकदमै कम छ । 

सुशीला प्रधान न्यायाधीश भएका बेला मसँग आउने यस्ता भनसुनमा ‘हुन्छ’ त भनें, सुशीलासँग कुनै कुरा गरिनँ । सुडान काण्डका आरोपीहरूले ‘कति खर्च गर्नुपर्छ’ भन्न आएका थिए । जयबहादुर चन्द ‘कति खर्च गर्नुपर्छ, म गर्छु’ भन्दै आएका थिए । यो विषयमा शेरबहादुर र प्रचण्ड पनि आउनुभयो ।

लोकमानसिंह कार्की पनि आए कि ?
उनले आफूले लागे र पुगेसम्मको प्रयास गरे । आफन्त मार्फत ‘कार्की कुलका मान्छे हुन् जिताइदिनुपर्‍यो’ भन्न लगाएका थिए । मसँग पनि नाता लगाएर उनका मान्छेले मलाई ढोग्न थाले, कहिल्यै ‘ज्वाइँसाप’ नभन्नेले पनि भन्न थाले ।

एक दिन उनका नातागोता आएर ‘दिदीलाई भेट्न आएको, लोकमानलाई केही गर्न भएन’ भने । १० करोड रुपैयाँ दिएर दिदीको गोडा धुन आएको, पैसा गाडीमै छ समेत भने । मैले ‘पैसा दिएर, गोडा धोएर सहीलाई गलत र गलतलाई सही भनी प्रमाणित गर्न मिल्दैन । न्यायाधीशको स्वतन्त्रता किनबेच गर्ने कुरा होइन, अहिले जानू’ भनेर सम्झाएँ । ढिपी गरेर जानै मानेनन्, सेनाको क्याप्टेनलाई नै भन्नुपर्‍यो ।

प्रस्तुतिः मुकेश पोखरेल

प्रतिकृया दिनुहोस