साहित्यकार भीएस नयपालको निधन
क्यारेबियन मुलुक ट्रिनिडाडमा सन् १९३२ मा जन्मिएका नयपालको निधन २६ साउनमा बेलायतको लण्डनस्थित निवासमा भएको हो।
साहित्यकार नयपालका आख्यान र गैरआख्यान गरी ३० भन्दा बढी पुस्तक प्रकाशित छन्। जसमध्ये 'अ हाउस फर मिस्टर विश्वास' (१९६१), 'इन अ फ्रि स्टेट' (१९७१) र 'अ बेन्ड इद द रिभर' (१९७९) उल्लेखनीय मानिन्छन्।
नयपालले 'इन अ फ्रि स्टेट' उपन्यासबाट प्रतिष्ठित 'बुकर प्राइज' पाएका थिए। यस्तै, उनलाई सन् २००१ मा साहित्यको नोबेल पुरस्कार दिइएको थियो।
उनको निधनमा सामाजिक सञ्जालमा पाठक र शुभेच्छुकका साथै समकालीन लेखकहरुले पीडा अभिव्यक्त गर्दै श्रद्धा सुमन अर्पण गरेका छन्।
विख्यात लेखक सलमान रुस्दीले ट्विटरमा लेखेका छन्, "हामी जीवन, राजनीति र साहित्यको बारेमा फरक मत राख्थ्यौं । भर्खरै सहोदर दाइलाई गुमाए झैं म उदास छु।"
नयपाल भारतीय मूलका थिए । उनको परिवारले सन् १८८० को दशकमा भारत छोडेको थियो । यद्यपि उनले भारतबारे पनि बोल्ने र लेख्ने काम गरिरहे । उनको थर 'नयपाल' हुनुमा उनको पुर्खा नेपालबाटै भारत गएको हुनसक्ने अपुष्ट भनाइ पनि रहेका छन्।
नयपाल आफ्नो अभिव्यक्तिका कारण बेलाबेलामा निकै विवादित बनेका थिए । इस्लाम धर्मको कटु आलोचना गर्ने उनका अनुसार, इस्लामले मानिसहरुलाई गुलाम बनायो र अरुको संस्कृतिहरु नष्ट गर्न खोजे।
उनको भनाइ थियो, "मुस्लिमहरुले यसरी पहिचान मेटाउन खोज्नु उपनिवेशवादभन्दा पनि खराब थियो।"