नेपालको संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु
नेपालको संविधान बनेको तीन वर्ष पुगेको अवसरमा संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
आज, २६ साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा सम्मेलनको उद्घाटन गरेकी हुन् ।
सम्मेलनमा संविधानलाई सुशासन, समावेशीता र कल्याणकारी राज्य सञ्चालनमा प्रतिविम्बित गराउने प्रक्रिया र संशोधनका चुनौतिबारे छलफल हुनेछ ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ ल र साउथ एशिया ट्रस्टको संयुक्त आयोजनामा भइरहेको सम्मेलन तीन दिनसम्म चल्नेछ ।
सम्मेलनमा संविधानका सबल र कमजोर पक्षबारे समीक्षा हुनुका साथै संघीयतालाई संस्थागत गर्नेबारे पनि विमर्श हुने जनाइएको छ ।
सम्मेलनमा नेपाल, दक्षिण एशिया र अन्य देशहरुका संविधानविद्, न्यायविद्, राजनीतिज्ञ, विश्लेषक, अर्थशास्त्री, अभियन्ता, विधिशास्त्र र संविधानवादका ज्ञाता सहभागी भएका छन् ।