६ स्थानीय तहको केन्द्र र जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन
सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ उपदफा (३) बमोजिम सम्बन्धित गाउँसभाको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव बमोजिम सरकारले केन्द्र परिवर्तन गरेको हो ।
जसअनुसार गोरखाको धार्चे गाउँपालिकाको केन्द्र गुम्दाबाट माछीखोला सारिएको छ । त्यस्तै पर्वतको मोदी गाउँपालिकाको केन्द्र देउपुरबाट पातीचौर, पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुड्लीबाट हरिहरपुर र विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा कायम गरिएको छ ।
त्यसैगरी धादिङको थाक्रे गाउँपालिकाको केन्द्र थाक्रेबाट महादेवबेँसी र दार्चुलाको लेकम गाउँपालिकाको केन्द्र खरकडाबाट रातमाटा सारिएको छ ।
यस्तै जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरी जनकपुरधाम उपमहानगरपालिका कायम गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । रासस