टिप्पणीशनिवार, श्रावण २६, २०७५

कपिलवस्तु, सुर्खेत र द्रोणवस्तु

वसन्त महर्जन

मायादेवीको सपनाको व्याख्या गर्ने कौण्डिन्यलाई बौद्ध स्रोतले कपिलवस्तु नजिकैको ब्राह्मण गाउँ द्रोणवस्तुका निवासी भनेकोले उनी वर्तमान दाङका निवासी हुन् भनी मान्न सकिन्छ।

सडक डिभिजन कार्यालय, सुर्खेतको प्रांगणस्थित बौद्ध विषयवस्तुसँग सम्बन्धित खम्बा । तस्वीरः वसन्त महर्जन

प्राचीन भारतको प्रमाणित इतिहास अध्ययन गर्दा बौद्ध र जैन साहित्यलाई पनि प्रमुख स्रोत सामग्री बनाइँदै आएको छ । यी सामग्रीको अध्ययनबाट कतिपय कुरा खुल्ने सम्भावना अझै पनि छन् । इसापूर्व छैटौं शताब्दीको प्राचीन शाक्य गणराज्य कपिलवस्तुका विविध पक्षको अध्ययन गर्ने क्रममा यसको एक ग्रामीण क्षेत्र ‘द्रोणवस्तु’ वर्तमान दाङ उपत्यकाको कुनै भाग हो भन्ने ठम्याइ यस पंक्तिकारको छ ।

प्राचीन द्रोणवस्तु अर्थात् वर्तमान दाङलाई बौद्ध विषयवस्तुसँग जोड्दा कपिलवस्तुकै इतिहास पनि अझ् स्पष्ट हुन आउँछ । अन्य नगर तथा ग्रामहरूको पहिचान भने गर्दै जानुपर्छ । 

बुद्ध जीवनी पढ्ने प्रायलाई जानकारी हुन्छ, आषाढ पूर्णिमाको रात मायादेवीले एउटा श्वेतवर्णको हात्ती सुँडले कमलको फूल लिई गर्भमा प्रवेश गरेको सपना देखेकी थिइन् । यस्तो सपनाको फल बताउने क्रममा ६ जना ब्राह्मणमध्ये सबैभन्दा कान्छो समुद्रीशास्त्री ब्राह्मण कौण्डिन्यले शिशुले उमेर पुगेपछि घरगृहस्थी त्यागेर परिव्राजक (सन्यासी) भई हिंड्ने र ‘सम्यक् सम्बुद्ध’ नै हुने ठोकुवा गरेका थिए । अन्य पाँच ब्राह्मणले भने शिशु गृहस्थमै बसे चक्रवर्ती राजा र सन्यासी भई हिंडे सम्यक् सम्बुद्ध हुने भविष्यवाणी गरेका थिए ।

श्रमण गौतमले ३५ वर्षको उमेरमा इसापूर्व ५२८ वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरी आषाढ पूर्णिमाका दिन सारनाथमा प्रथमपल्ट दिएको उपदेश सुनेर सर्वप्रथम बुझने र तत्कालै भिक्षुत्व ग्रहण गर्ने पहिलो बौद्ध भिक्षु यिनै कौण्डिन्य हुन् । कौण्डिन्यलाई बौद्ध स्रोतले कपिलवस्तु नजिकैको ब्राह्मण गाउँ द्रोणवस्तुका निवासी भनेकोले उनी वर्तमान दाङका निवासी हुन् भनी पहिचान गर्न सकिन्छ ।

पछि उनी आफ्नो गाउँ द्रोणवस्तुमा गई बुद्धका उपदेश प्रचारप्रसार गर्ने तथा अन्यलाई पनि बौद्ध भिक्षु बनाउने काममा सक्रिय भए । यस क्रममा मतानी नामकी आफ्नी बहिनीका छोरा अर्थात् भान्जा पूर्णलाई पनि भिक्षु बनाए, जसलाई पछि पूर्ण मैत्रायणी नामबाट चिनियो ।

बौद्ध जगत्मा पञ्चवर्गीय भिक्षुको चर्चा निकै सम्मानका साथ गरिन्छ । मायादेवीको सपनाको अर्थ लगाउने ६ ब्राह्मणमध्ये कौण्डिन्य र चार जनाका छोरा वप्प, भद्दिय, महानाम र अश्वजितलाई नै पञ्चवर्गीय भिक्षु भनिएको हो । यी पाँचै जना द्रोणवस्तुकै निवासी हुन् कि होइनन् भन्न नसकिए पनि कौण्डिन्यका कारण यो क्षेत्र पनि एउटा बौद्ध क्षेत्र बन्न पुगेको तर्फ वर्तमान बौद्ध जगत्को ध्यानाकर्षण गर्न सकिन्छ ।

दाङ उपत्यकाबाट पाषाणयुगीन मानव सभ्यताका केही हातहतियार प्राप्त गर्नुबाहेक त्यस क्षेत्रमा पुरातात्विक दृष्टिले खासै अध्ययन भएको पाइँदैन । भविष्यमा हुने अनुसन्धानमा बौद्ध विषयवस्तुप्रति पनि सचेत हुन आवश्यक छ ।

बौद्ध सम्पदास्थलहरूलाई पर्यटकीय स्थलको रूपमा विकास गर्दै अर्थोपार्जन गर्ने सोचअनुरुप पछिल्लो समय अनेकन् काम भइरहेको पाइन्छ । यसैअनुरूप कपिलवस्तु पुग्ने पर्यटकलाई नेपालगन्ज–कोहलपुरको बाटो हुँदै सुर्खेत पुर्‍याउने योजना पनि पाइन्छ । सुर्खेतको लाटीकोइली डाँडास्थित प्रसिद्ध काँक्रेविहारको भग्नावशेषको पुनर्निर्माण हुँदैछ ।

गैरबौद्ध समाजले स्तूपलगायत कुनै पनि बौद्ध संरचनालाई विहार भनिहाल्ने प्रवृत्ति अनुसार सन् १९५७ मा यसको पहिलोपल्ट पहिचान गर्ने योगी नरहरिनाथले काँक्रेविहार भनी नामकरण गरेका हुन् । बौद्धहरू स्तूप मात्रै नभएर वरिपरि विहार पनि बनाएर बस्ने भएकोले हालको भग्नावशेष वरिपरि विहारको अवशेष खोज्नतिर ध्यान दिनुपर्छ ।

सुर्खेत उपत्यकामा काँक्रेविहारबाहेक अन्य बौद्ध सम्पदालार्ई पनि ध्यान दिनुपर्छ । सडक डिभिजन कार्यालयको प्राङ्गणमा रहेको ढुंगाको सानो खम्बा बौद्ध विषयवस्तुसँग सम्बन्धित छ । यसभन्दा केही पर उत्तरतर्फ सडक छेवैमा माटोका केही ढिस्का पुरातत्व विभागद्वारा संरक्षित अवस्थामा छन् । केही वर्षअघि भएको उत्खनन् तथा अध्ययनले सो संरचना खस साम्राज्यकालीन भनेर संकेत गरेको छ ।

यस स्थलबाट बौद्ध विषयवस्तुका अन्य थुप्रै कुरा प्राप्त भएका छन् । खस साम्राज्यको राजधानी दुल्लूमाथि आक्रमण गर्न हिंडेको दिल्लीको मुसलमान सैनिक सुर्खेतको बाटो भई गएको र त्यही बेला काँक्रेविहार लगायत धेरै सम्पदामा क्षति भएको अनुमान हुन्छ ।

यसअघि सुर्खेत बौद्ध शैक्षिक केन्द्रको रूपमा रहेको कुरा तिब्बतको एउटा विहारमा सुरक्षित ग्रन्थ ‘अभिसमयालङ्कार’ बाट अनुमान हुन्छ । सो ग्रन्थ सुर्खेतबाट वि.सं. १३७० मा सारेर लगेको र त्यसबेला सुर्खेतको नाम ‘सुरक्षेत्र’ रहेको कुरा ग्रन्थको पुष्पिका वाक्यबाट थाहा हुन्छ ।

लुम्बिनी तथा कपिलवस्तु पुग्ने पर्यटकलाई सुर्खेतसम्म पुर्‍याउने सोच बनाएकै बेला प्राचीन द्रोणवस्तु अर्थात् वर्तमान दाङ भएर बाटो खुलाउने सोच पनि किन नबनाउने ? प्रथम बौद्ध भिक्षु कौण्डिन्यको संस्मरणमा उल्लिखित बौद्ध स्तूप वा अन्य केही संरचनाको निर्माण गरी संसारभरका बौद्धहरूको ध्यान यतातर्फ तान्न सकिन्छ ।

बौद्ध इतिहासको एउटा कडी रहेको सुर्खेतका साथै दैलेख, दुल्लू घुमाएर जुम्लाको सिंजा उपत्यकाका साथै प्राकृतिक सौन्दर्ययुक्त रारा क्षेत्रसम्म पुर्‍याउन सकिन्छ । यो पूरै क्षेत्र खस साम्राज्य र सभ्यताको महत्वपूर्ण क्षेत्र हो । खस साम्राज्यको चरित्र वास्तवमा बौद्ध साम्राज्य हो, जुन विश्वकै लागि नौलो विषयवस्तु हुनसक्छ ।

प्रतिकृया दिनुहोस