कला/साहित्यशुक्रवार, श्रावण २५, २०७५

क्यान्सरबाट पीडित अभिनेता इरफान खानलाई छैटौं किमो दिइँदै

हिमालखबर

बलिउड अभिनेता इरफान खान पछिल्लो समय बेलायतको लन्डनमा क्यान्सरको उपचार गराइरहेका छन्। दुर्लभ प्रकारको न्युरो इन्डोक्राइन क्यान्सरसँग जुधिरहेका उनको स्वास्थ्यबारे जोडिएको खबर आएको छ, खबर अनुसार अहिलेसम्म इरफानलाई पाँच पटक किमो चढाइसकिएको र केही दिनमै अर्को किमो दिने तयारी छ।

छैटौं किमो चढाएपछि इरफानको पेटको स्क्यान गरिने खबरमा उल्लेख गरिएको छ। पाँच वटा किमो चढाएपछि उनी निकै कमजोर भएका थिए। यस क्रममा उनी १० देखि १५ दिनसम्म अस्पताल बस्नुपरेको थियो।

केही समयअघि इरफानको एउटा अन्तर्वार्ता आएको थियो, जसमा उनले आफ्नो स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे बताएका थिए। बिरामी भएपछि पहिलो पटक सार्वजनिक भएको अन्तर्वार्तामा इरफानले भने अनुसार, रोग सम्बन्धी प्रश्नहरुदेखि उनी यति हैरान हुन्छन्, उनलाई आफू केही महिना वा वर्षमा मर्दै छु भनेर भनिदिऊँ जस्तो लाग्छ।

अन्तर्वार्तामा उनले आफ्नो उपचारबारे भनेका थिए, ''किमोको चौथो चरण पूरा भइसकेको छ र जम्मा ६ पटक चढाउनु छ। त्यसपछि पेटको स्क्यान हुनेछ। तेस्रो चरणपछि स्क्यानको रिपोर्ट पोजिटिभ थियो। अब छैटौं स्क्यानपछि थाहा हुन्छ, मेरो जीवन कता जानेछ भनेर।

कसैको जिन्दगीको टुंगो छैन। मेरो दिमाग सधैं भनिरहन्छ, घाँटीमा एक प्रकारको चिप झुन्ड्याऊँ र सबैलाई भनिदिऊँ- मलाई यो रोग लागेको छ र म केही महिनामै वा एक वा दुई वर्षमा मर्दैछु…। कि त यस्ता कुराकानीलाई पूर्णरुपमा उपेक्षा गरुँ र जिन्दगीले जे दिएको छ, त्यही ढंगले बाचूँ । मलाई जिन्दगीले धेरै दिएको छ । म स्वीकार्छु, म आँखामा पट्टी बाँधेर हिँडिरहेको थिएँ। मैले देख्नै सकेको थिइनँ, मलाई जिन्दगीले के दिएको छ।"
– एजेन्सी

प्रतिकृया दिनुहोस