कला/साहित्यशुक्रवार, श्रावण २५, २०७५

दर्शकले राम्रो कथावस्तु हेर्न खोजेका छन्: श्रद्धा कपूर

हिमालखबर

बलिउड अभिनेत्री श्रद्धा कपूरले दर्शकले फिल्ममा स्टारभन्दा पनि राम्रो कथावस्तु हेर्न चाहेको बताएकी छन्।

श्रद्धाको बुझाइमा पछिल्लो समय मानिसहरु ट्रेलर हेरेर फिल्म छान्न खप्पिस भइसकेका छन्। साथै, मनोरञ्जनका लागि फिल्म बाहेकका माध्यमहरु पनि भएकाले फिल्ममेकरहरु गम्भीर बन्नुपर्ने सुझाव उनको छ।

"मानिसहरु स्टारलाई हेर्न हलमा जान्छन् जस्तो मलाई लाग्दैन, उनीहरु राम्रो कथावस्तु भएको फिल्म खोज्छन्", उनी भन्छिन्।

श्रद्धा अभिनीत पछिल्लो फिल्म 'हसिना पार्कर'ले बक्स-अफिसमा राम्रो कलेक्सन गरेको थियो। उनी अब हरर-कमेडी फिल्म 'स्त्री' मा देखिनेछिन्, जसको निर्देशन नयाँ निर्देशक अमर कौशिकले गरेका छन्।

करिअरको यस बिन्दुमा हरर-कमेडी जस्तो प्रयोगात्मक जनराको फिल्ममा डेब्यू निर्देशकसँग काम गर्नु कत्तिको जोखिम हो ? यो प्रश्नमा श्रद्धा भन्छिन्, "मलाई लाग्छ, हरेक फिल्म कुनै न कुनै हिसाबले जोखिमपूर्ण नै हुन्छन्। किनकि दर्शकको रुचि तीव्ररुपमा बदलिँदो छ, यस्तो अवस्थामा उनीहरु के हेर्न चाहन्छन् भन्ने अनुमान गर्नै गाह्रो छ।"

फिल्मको सफलता र बक्स-अफिसको नम्बर फिल्मकर्मीको नियन्त्रणमा नहुने भन्दै उनी थप्छिन्, "यसैले म कुनै फिल्ममा अभिनय गर्दा आफ्नो तर्फबाट उत्कृष्ट काम दिन ध्यान दिन्छु। कलाकारको रुपमा म फिल्म निर्माणको समग्र प्रक्रियामा रमाउँछु।"

श्रद्धाले सन् २०१० मा बनेको फिल्म 'तीन पत्ती' बाट बलिउडमा करिअर सुरु गरेकी थिइन्, जुन बक्स-अफिसमा फिका साबित भएको थियो। तेस्रो फिल्म 'आशिकी २' खेल्नुअघिसम्म उनी खराब समयबाट गुज्रेकी थिइन्।

यसरी सुरुमै नकारात्मक चरणमा अभ्यस्त भएका कारण उनले फिल्मको जस्तोसुकै नतिजालाई स्वाभाविक मानेकी त होइनन् ?

यसबारे उनको जवाफ छ, "मलाई थाहा छ, जुन कुरा तल जान्छ, त्यो निश्चितरुपले माथि पनि आउँछ। यस्तै, माथि उक्लिएको चीज पनि एक दिन ओरालो लाग्छ। यो त प्रकृतिको नियम नै हो र यसलाई परिवर्तन गर्न पनि सकिन्न। आफ्नो काम र शैलीमा स्थिरता कायम राख्नु र हरेक प्रोजेक्टमा आफूलाई सुधार्दै लैजानु मात्र मेरो नियन्त्रणमा हुने कुरा हो। एक कलाकारको रुपमा म त्यसप्रति केन्द्रित हुन चाहन्छु।"

उनी अगाडि थप्छिन्, "यो सत्य हो, मैले पहिलो फिल्मबाटै रातारात सफलता प्राप्त गरेको होइन। सफलता र असफलतालाई मैले धेरै नजिकबाट नियालेकी छु। दर्शकले मलाई स्विकारेर माया गर्नुभएकोमा आफूलाई भाग्यमानी सम्झन्छु। म राम्रो काम गरेर करिअर बढाउन चाहन्छु।"

श्रद्धा अभिनीत 'स्त्री' ३१ अगस्टमा रिलिज हुँदैछ। – एजेन्सी

प्रतिकृया दिनुहोस