अन्तर्वार्ता/विचारशुक्रवार, श्रावण २५, २०७५

लोकमानका मान्छे १० करोड बोकेर आएका थिएः दुर्गा सुवेदी

हिमालखबर

"कहिल्यै नदेखेका लोकमानका मान्छेले मलाई ज्वाइँसाप भन्दै ढोगिदिन थाले, एक दिन त उनका एक आफन्त १० करोड रुपैयाँ बोकेर आएका थिए ।"

दुर्गा सुवेदी । तस्वीर: मुकेश पोखरेल

दुर्गा प्रसाद सुवेदी २०३० सालमा नेपाली कांग्रेसको योजनामा भएको विमान अपहरण काण्डका नेतृत्वकर्ता हुन् ।

प्रजातन्त्र प्राप्तीका लागि नेपाली कांग्रेसले शुरु गरेको क्रान्तिमा सहभागी सुवेदी पछि पार्टीभित्र आन्तरिक प्रजातन्त्र नभएको भन्दै कांग्रेसबाट अलग्गिए । उनी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीका श्रीमान हुन् ।

उनका अनुसार सुशीला कार्की प्रधान न्यायाधीशमा बहाल रहेका बेला सुवेदीलाई भेट्न विभिन्न पार्टीका नेता तथा मुद्दाका झगडिया आउने गर्थे । विभिन्न प्रलोभन र सिफारिस लिएर मुद्दा जिताइदिन अनुरोध गर्ने उनीहरुलाई धेरै कुरा नगरेरै फर्काइदिने गरेको सुवेदी बताउँछन् ।

कार्कीले भ्रष्टाचार लगायतका मुद्दामा गरेका फैसला निकै चर्चित भए । नेपालकै पहिलो महिला प्रधान न्यायाधीश कार्कीकै कार्यकालमा लोकमानसिंह कार्कीको मुद्दाले विशेष चर्चा पायो ।

कार्की प्रधान न्यायाधीश भएपछि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र के कस्ता खेल हुँदारहेछन् भन्ने थाहा पाएको सुवेदी बताउँछन् । उनी भन्छन्, “कर्तव्य ज्यान र भ्रष्टाचारका मुद्दाहरुमा जिताइदिनु पर्‍यो भनेर नेताहरुबाट आउने अनुरोध सबैभन्दा धेरै हुन्थे ।” 

हिमाल खबरपत्रिकाका लागि हामीले सुवेदीसँग गरेको कुराकानीकोे सानो अंश उनकै शब्दमा:

कर्जा नतिर्नेहरु पनि आफ्नो कर्जा मिनाहा गराइदिने प्रस्ताव लिएर आउँथे ।  देवानी र फौजदारी मुद्दामा तीन–चार करोड बोकेर घरमै आउँदा रहेछन् । सर्वोच्चमा आउने मुद्दामा त करोड भन्दा तल डिल नै नहुने रहेछ ।

पैसा नदिइ त न्याय नै नपाइने जस्तो । न्याय र पद त किन्न पाइँदो रहेछ । यो कुरा मैले बुझें । यस्तो देख्दा लाग्यो स्वतन्त्र भएर र पैसा खर्च नगरी न्याय पाउने सम्भावना एकदमै कम रहेछ, नेपालमा ।

भ्रष्टाचार सम्वन्धी मुद्दामा जयप्रकास गुप्ता मसँगै आएर मुद्दा जिताइदिन भने । सुडानकाण्डका आरोपिहरु पनि कति खर्च गर्नुपर्छ भन्न आएका थिए । 

मसँग आउने यस्ता भनसुन र सिफारिसबारे प्रधानन्यायाधीश सुशीलासँग चाहीँ कहिल्यै कुरा गरिन । 

म विरामी भएर हस्पिटलमा थिएँ । जयबहादुर चन्द कति खर्च गर्नुपर्छ, म गर्छु भन्दै आएका थिए । यो विषयमा शेरबहादुर र प्रचण्ड पनि आफैं आए ।

लोकमान सिंह कार्कीले लागेपुगेसम्म गरे । आफ्ना परिवार, नातागोता, भान्जा–भान्जी सबैलाई पठाएर 'कार्की कुलको मान्छे जिताइ दिनुपर्‍यो' भन्न थाले । मसँगै नाता लगाउन थाले । उनका मान्छेले ढोग्न र ज्वाइँसाप भन्न थाले । त्यति मात्र होइन पैसा लिएर पनि आए ।

एकदिन म निवासमा बसेको थिएँ । उनका नातेदार गेटबाट भित्र आउँदै गरेको देखेपछि म आफैं बाहिर निस्किएँ । उनले ‘म दीदीलाई भेट्न आएको, लोकमानलाई केही गर्न भएन’ भने । १० करोड लिएर आएका रहेछन्, ‘दिदीको गोडा धुने’ भन्दै थिए । म त छक्क परें । अनि पैसा कहाँ छ भनेको त, बाहिर गाडीमा राखेका छौं भने ।

पैसाले गलत वा सही भन्ने होइन, प्रमाणका आधारमा हुने हो, न्यायाधीशको स्वतन्त्रता किनबेच गर्ने कुरा होइन भनेर सम्झाएँ ।

उनीहरुलाई फर्कन भन्दा पनि ढिपी गरेर जानै मानेनन् । अनि नजिकै रहेका सेनालाई बोलाएर उनीहरुलाई त्यहाँबाट बाहिर पठाएँ । लोकमान आफू नआएर मान्छे पठाइरहन्थे ।
(विस्तृत अन्तर्वार्ता २७, साउन आइतबारको हिमाल खबरपत्रिकामा)

प्रतिकृया दिनुहोस