यमनः बसमाथि हवाई आक्रमण, २९ बालबालिकाको मृत्यु
उत्तरी यमनमा भएको एक हवाई आक्रमणमा कम्तीमा पनि २९ जना स्कुले बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
यो हवाई आक्रमण यमनमा हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी अरब नेतृत्वको गठबन्धनका तर्फबाट गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अधिकांश स्कुले बालबालिका रहेको उक्त बस शाद क्षेत्रको दहयान बजारमा रोकिएका बेला हवाई आक्रमण भएको बताइएको छ ।
विद्रोही समूहले चलाईरहेको स्वास्थ्यमन्त्रालयले आक्रमणमा ४३ जनाको मृत्यु भएको र तीमध्ये अधिकांश १० वर्षभन्दा कम उमेरका भएको दाबी गरेको बीबीसीले उल्लेख गरेकोे छ ।
यमन सरकारले भने उक्त आक्रमण अन्तर्राष्ट्रिय कानून अनुरुप नै भएको दाबी गरेको छ ।
सरकारले स्कूल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाइरहेको भन्दै विभिन्न मानवअधिकारवादी संगठनहरुले आक्रमणको निन्दा गरेका छन् ।
यमनमा हुथी विद्रोही र सरकारी सेनाबीच युद्ध चर्केकोे तीन वर्ष भइसकेको छ ।
सन् २०१४ देखि हालसम्म करिब १० हजार मानिसको मृत्यु भएको छ जसमध्ये दुई तिहाई सर्वसाधारण छन् । गृहयुद्धका कारण यमनमा भोकमरीको जस्तो अवस्था सिर्जना भएको र दशौं लाख मानिसहरुले नारकीय जीवन विताइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।