फ्रान्सका रेष्टुरेन्ट, होटलले एक लाख आप्रवासी कामदार लिने प्रस्ताव
फ्रान्सेली होटल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रबासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् ।
आप्रबासी शरणार्थीकालाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव गरेको होटल तथा रेष्वटुरेन्ट सञ्चालकहरूको दावी छ ।
फ्रान्सको होटल उद्योगसम्बन्धी निकाय यूएमआइएचका अध्यक्ष रोलान्ड हेगले एएफपीलाई भने, “होटल तथा रेष्टुरेन्टको क्षेत्रमा कामदारको व्यापक अभाव महशुस हामीले गरेका छौँ त्यसैले आप्रबासी शरणार्थीलाई काम दिएर यसको समाधान खोज्ने प्रस्ताव गरेका हौँ ।”
“कम्पनीहरूले कामदारको मागलाई स्वदेशी जनशक्तिबाट धान्न कठीन भएको छ । हामीले शरणार्थीलाई हाम्रो व्यवसायमा जोडेर समस्याको समाधान गर्न सरकारसँग समन्वय गरेका छौँ । अनुमति पाएमा सोही अनुरूप अघि बढ्ने सोच छ,” उनले थपे ।
अन्य विकशित मुलुकमा जस्तै निम्न आम्दानीका कामदारका लागि समस्या देखिँदै आएको छ । होटलको उच्च आम्दानीका आतिथ्य क्षेत्रका कामदारका लागि खासै समस्या नभएपनि महादेशीय खाना तथा सरसफाई गर्ने कामदारको भने अभाव रहँदै आएको छ ।
हामीले लिने भनिएका कामदारमध्ये ५० प्रतिशत रोजगारी स्थायी प्रकृतिका रहने र बाँकी अस्थायी हुनेगरी करार गर्न तयार छौँ, हेगले भने ।
फ्रान्सले सन् २०१७ मा एक लाख आप्रवासी शरणार्थी भित्राएको थियो । यो पहिलेका वर्षहरूमाभन्दा १७ प्रतिशतले बढी हो ।
फ्रान्सको कानून अनुसार शरणार्थीले आवासीय अनुमति पाएपछि मात्र देशभित्र काम गर्न सक्छन् तर शरणार्थी दावीसाथ अनुमतिका लागि उनीहरूले निवेदन दिएको नौ महिना पर्खनुपर्ने हुन्छ ।
फ्रान्सको संसदबाट आप्रवासीसम्बन्धी बिल गत हप्ता पास गरेको थियो । तर बिलले कानूनी स्वरूप पाउन भने राष्ट्रपतिबाट उक्त विधेयकमा हस्ताक्षर गर्नुपर्छ । - रासस