कला/साहित्यबिहिवार, श्रावण २४, २०७५

बलिउडमा अनुशासनको धेरै अभाव छ : कमल हसन

हिमालखबर

फिल्म क्षेत्रका साथै राजनीतिमा सक्रिय कमल हसनको परिचय निर्देशक, निर्माता, पटकथा लेखक, गीतकार, पार्श्व गायक लगायत विविध क्षेत्रमा फैलिएको छ।   खासगरी तमिल फिल्ममा केन्द्रित उनको योगदान हिन्दी फिल्ममा पनि छ। उनको फिल्म निर्माण कम्पनी राजकमल इन्टरनेशनलले 'चाची ४२०', 'हे राम', 'दशावतारम', 'विश्वरुपम (हिन्दीमा 'विश्वरुप') लगायत एक दर्जनभन्दा बढी फिल्म निर्माण गरेको छ।

सन् २०१३ मा आएको तमिल थ्रिलर फिल्म 'विश्वरुपम' को सिक्वल 'विश्वरुपम- २' तमिल र हिन्दीमा एकसाथ यही १२ अगस्टमा रिलिज हुँदै छ। जसको लेखन र निर्देशन हसन आफैंले गरेका छन्।

 यसै सन्दर्भमा हसनले फिल्मकर्मबारे कुरा गर्दै आफ्नो फिल्ममा अरुहरुले जस्तै  राजनीतिमाथि व्यङ्ग्य र टिप्पणी नगरिने बताएका छन्। "राजनीतिमाथि टिप्पणी गर्दै आफ्ना कुरा भन्ने प्रयास म गर्दिनँ", तमिलनाडुमा पाँच महीना अघि मात्रै 'मकल निधि मैयम' नामक पार्टी स्थापना गरेका अभिनेताले भने, "बरु प्रष्ट शब्दमा खुलेर निडर र सशक्त रुपमा आफ्नो दृष्टिकोण दर्शकसामु प्रस्तुत गर्छु।"

 हसनले हिन्दी फिल्म क्षेत्रको खराब पक्ष पनि औंल्याएका छन्। उनको नजरमा बलिउडमा धेरै अनुशासनहीनता छ। उनले बलिउडमा एउटा फिल्म बनाउन कम्तिमा पनि २ देखि ३ वर्ष लगाइदिने गरिएको भन्दै यस्तो प्रवृत्ति कलाकारको सीमित आयुका लागि प्रत्युत्पादक हुने बताए। "म मान्छु, हिन्दी सिनेमा निकै ठूलो छ, तर कलाकारहरुको आयु निकै छोटो हुन्छ। एउटा फिल्ममा २/३ वर्ष बिताउन मसँग यति पर्याप्त समय छैन", उनले भने।

 तर, समय बदलिँदै जाँदा बलिउडमा पनि विस्तारै अनुशासन पक्कै आउने अपेक्षा उनले गरेका छन्। "अहिले भने अनुशासनको निकै कमी देखिन्छ, यसमा सुधार ल्याउनु आवश्यक छ", उनी भन्छन्।

 उनले अब बलिउड फिल्ममा आफूले काम गर्ने सम्भावना देखेका छैनन्। राजनीतिक दल खोलेर अध्यक्षकै जिम्मेवारीमा बसेकाले विभिन्न काममा बाँधिएको उनको भनाइ छ। "राजनीतिक कर्म फिल्म भन्दा पवित्र हो म भन्दिनँ। तर अहिले ६३ वर्षको उमेरमा म हिँडिरहेको छु, अब मैले समाजलाई आफूले पाएका धेरै कुरा उपहारको रुपमा फर्काउनु छ", उनी भन्छन्।

 राजनीतिमा पसेसँगै आफूमाथि ठूलो जिम्मेवारी आएको भन्दै उनी थप्छन्, "हामी त्यसबेलासम्म मनोरञ्जनको दुनियाँबारे कुरा गर्नेछैनौं, जबसम्म तमिलनाडुको विकास र व्यापारको कुरा गर्छौं।" – एजेन्सी

प्रतिकृया दिनुहोस